आज देशभरका अधिकांश स्थानमा मौसम बदली

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

आज देशभरका अधिकांश क्षेत्रमा मौसम बदली हुनुका साथै तराईसहित पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ । तराईमा केही दिनदेखि शीतलहरले जनजीवन प्रभावित भइरहेको भन्दै जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सबैलाई अनुरोध गरेको छ ।

चिसोका कारण स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले चिसोबाट बच्न विशेष सावधानी अपनाउन सबैलाई अनुरोध गरिएको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए ।

मौसमविद् लामिछानेले हुस्सु र कुहिरो लागेका वेलामा स्वास्थ्य, कृषि, यातायातलगायत क्षेत्रमा असर पर्ने भएकाले सबैले सावधानी अपनाउनुपर्ने उल्लेख गरे । यस्तो वेलामा न्यानो भएर बस्नुपर्ने, गाडी गुडाउँदा हेडलाइट बालेर हिँड्ने, तातो खानेकुरा खाने, चिसोमा धेरै नहिँड्ने, न्यानो कपडा लगाएर बस्नेलगायत उपाय अपनाउनुपर्ने उनले बताए ।

जल तथा मौसम विज्ञान विभागका अनुसार विगत केही दिनदेखि तराईका धेरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लागेको र केही स्थानमा दिउँसोसमेत घाम नलागेका कारण तापक्रम घट्न गई चिसो बढेको छ ।

चिसोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव परेको भन्दै यसका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सावधानीका उपायहरू तथा सतर्कता अपनाउन अनुरोध महाशाखाले गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले हुस्सुकुहिरो नियमित अनुगमनसँगै दैनिक बुलेटिन जारी गरिरहेको जनाएको छ ।

आज काठमाडौंसहित मुलुकका अधिकांश स्थानमा मौसम बदली हुँदा हवाई उडानसमेत प्रभावित भइरहेको छ । भोलि र पर्सि बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहनुका साथै तराईमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी र उच्च हिमाली क्षेत्रका साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् लामिछानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *