नेपाल खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडका नाममा रहेको ६० करोड मूल्यबराबरको जग्गा कौडीको भाउमा किनबेच भएको छ। सार्वजनिक हितमा प्रयोग गर्ने भन्दै तत्कालीन खाद्य संस्थानले म्याग्दीको बेनी नगरपालिका–७ स्थित बेनी बजारको केन्द्र भागमा किनेको जग्गा व्यक्तिले एक करोड २० लाखमा खरिद गरेको पाइएको छ।
नेकपा माओवादीका केन्द्रीय सदस्य गोविन्द पौडेलको अगुवाइमा म्याग्दीको बेनी बजारस्थित नेपाल खाद्य संस्थानका नाममा रहेको कित्ता नं. २ ख १७९ र २ ख ३६४ को जग्गा किनबेच गरेको पाइएको हो। त्यति मात्र होइन, त्यसक्रममा माओवादीको पार्टी कार्यालयलाई समेत दिने गरी कागज गरेको पाइएको छ। सो जग्गा खरिद प्रकरणमा जोडिएका पौडेल नेकपा माओवादीका म्याग्दी इन्चार्ज र २०६४ सालमा संविधानसभा सदस्य पनि रहिसकेका छन्। त्यतिबेला एक करोड २० लाखमा जग्गा कारोबार भएको पाइएको छ।
उक्त रकम नेपाल बैंकको खाता नम्बर ओडी २–१४–१४८२ धर्मपथ शाखामा जम्मा गरिएको थियो। २०६५ जेठ २ गते गरिएको माइन्युटमा उल्लेख भएअनुसार जग्गाको मूल्य एक करोड २० लाख, विविध खर्च पाँच लाख, प्रारम्भिक खर्च २९ लाख ४२ हजार, पास खर्च म्याग्दीमा दुई लाख ४० हजार, अन्य खर्च एक लाख, पास खर्च काठमाडौंमा १४ लाख ४० हजार गरी एक करोड ७२ लाख २२ हजार खर्च विवरणसमेत देखिन्छ। त्यतिबेला संस्थानका महाप्रबन्धक बेनीबहादुर रावल थिए। उनकै कार्यकालमा जग्गा बिक्री भएको पाइएको छ।