सरकारले प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने भएको छ। बुधबार सिंहदरबारमा पुस १६ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले प्रत्येक वर्ष माघ १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभर सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको जानकारी दिए।
बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्रलाई सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी मोडलमा विकास तथा सञ्चलन गर्न स्वीकृति दिएको छ। त्यस्तै आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रशासन गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए।
त्यस्तै मन्त्रिपरिषद्ले खानेपानी तथा सरसफाइ नियमावली, उर्जा विकास मार्गचित्र स्वीकृत गरेको छ भने निकारी पैठारीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ।