१५ पुस आइतबार सय वर्षको उमेरमा निधन भएका अमेरिकाका ३९औं राष्ट्रपति जिम्मी कार्टरले १० वर्षसम्म सशस्त्र युद्धमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेका थिए । माओवादीलाई अमेरिकाले आतंककारी संगठनको सूचीमा राखिरहँदा कार्टरले माओवादीका नेताहरूसँग संवाद गरेका थिए ।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुपर्छ भन्नेमा कार्टरको जोड थियो । माओवादी सशस्त्र द्वन्द्व चलिरहँदा उनको संस्था कार्टर सेन्टरले शान्ति प्रक्रियामा सघाउने उद्देश्यले आफ्नो गतिविधि थालेको थियो । माओवादीलाई शान्ति प्रक्रियाको मूलधारमा ल्याउन सकिन्छ भन्ने कार्टरमा विश्वास थियो ।
माओवादी शान्ति प्रक्रियामा आएपछि संविधानसभा निर्वाचनका लागि पनि कार्टरले भूमिका खेले । सन् २००८ मा भएको पहिलो संविधानसभा निर्वाचनमा उनले पर्यवेक्षण गरेका थिए । त्यसपछि दोस्रो संविधानसभा निर्वाचनमा पनि उनले पर्यवेक्षणको भूमिका निर्वाह गरे । संविधानसभा निर्वाचन हुने कि नहुने भन्ने अन्योलपूर्ण समयमा अमेरिकाबाट कार्टर एक वर्षमा तीनपटक नेपाल भ्रमणमा आएका थिए ।
त्यसपछि माओवादी नेता र तत्कालीन ठूला राजनीतिक दलसँग निरन्तर संवादमा जुटे । राजाको सक्रिय शासन समाप्तिसँगै संविधानसभाको निर्वाचन भयो । जसलाई उनले प्रत्यक्ष रूपमा नजिकबाट हेर्ने मौका पाए । माओवादीलाई अमेरिकाले आतंकवादी सूचीमा राखेर पत्राचारसमेत गर्न प्रतिबन्ध लगाएका बेला उनले माओवादीका नेतासँग संवाद गरेका थिए ।
२२ नोभेम्बर २००७ का लागि तोकिएको संविधानसभाको निर्वाचन स्थगित भएपछि पूर्वराष्ट्रपति कार्टर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका नेता माधवकुमार नेपालको संयुक्त निम्तोमा काठमाडौं आएका थिए ।
संविधानसभाको निर्वाचनअघि राजतन्त्रको अन्त्य गर्ने कि पछि भन्ने अन्योलपूर्ण अवस्थाका कारण नेपाली राजनीति धमिलो बनिरहेको थियो । माओवादी संविधानसभाको निर्वाचनअघि राजतन्त्र अन्त्यको घोषणा गरेर अघि बढ्ने पक्षमा थियो भने अन्य राजनीतिक दल भने संविधानसभाको निर्वाचनपछि वैधानिक हिसाबमा राजतन्त्रको अन्त्य गर्ने पक्षमा थिए । साथै, संविधानसभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको विषयमा के गर्ने भन्ने अन्योलता र विवाद थियो ।
यता, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भने माओवादीले चाहे पनि नचाहे पनि निर्वाचनको मिति तोकेर अघि बढ्ने पक्षमा रहेको जिमी कार्टरले आफ्नो अनुभव लेखेका थिए । अर्कोतर्फ प्रधानसेनापति रुक्मांगत कटुवाल राजासँग नजिकिएका देखिए पनि प्रधानमन्त्री कोइरालाको आदेश सेनाले पालना गर्ने उनले लेखेको अनुभवमा समेटिएको छ ।
कार्टरले सन् २००७ मा संविधानसभाको साधारण बहुमतले अनुमोदन गर्नेगरी अन्तरिम संसद्ले गणतन्त्र घोषणा गर्न सक्ने र संविधानसभाको कुल सिट संख्याको ७० प्रतिशत समानुपातिक र ३० प्रतिशत प्रत्यक्ष चुनिने निर्वाचन प्रणाली अवलम्बन गर्न सुझाव दिएका थिए । त्यसबेला पहिलो संविधानसभाको बैठकको साधारण बहुमतले राजतन्त्र अन्त्यको घोषणा गर्नेगरी ६० प्रतिशत समानुपातिक र ४० प्रतिशत प्रत्यक्ष अनि २६ जना मन्त्रिपरिषद्ले मनोनीत गर्नेगरी ६ सय १ जना सदस्य रहेको संविधानसभाको निर्वाचन गर्न दलहरूबीच सहमति भएको थियो ।
सो खाकामा सहमति भएपछि दुईपटक स्थगित भएको संविधानसभाको निर्वाचन सम्भव भएको थियो । पहिलो संविधानसभा निर्वाचनमा माओवादीले स्पष्ट बहुमत ल्याएको थियो । कार्टरले त्यतिबेला माओवादीका शीर्ष नेतालाई चुनावी जितलाई लिएर दम्भ व्यक्त नगर्न, अरू दलहरूप्रति पनि फराकिलो दृष्टिकोण राख्न र गठबन्धन सरकार बनाउने विगतको प्रतिबद्धता पालना गर्न सुझाव दिएका थिए । यता, अमेरिकाले भने आतंकवादी सूचीबाट हटाएको थिएन । कार्टरले नेपालको शान्ति प्रक्रियालाई समर्थन गरे पनि अमेरिकी सरकारले माओवादीलाई आतंककारीको सूचीमै राख्यो । सन् २०१२ मा मात्र अमेरिकाले माओवादीलाई सो सूचीबाट हटाएको थियो ।
दोस्रो संविधानसभा निर्वाचन गराउने भूमिकामा प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको थियो । त्यतिबेला नेपाल भ्रमणका क्रममा माओवादीबाट विभाजित भई बनेको नेकपा– माओवादीको मोहन वैद्यले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका थिए । त्यतिबेला जिम्मी कार्टरले वैद्यलाई भेटेर निर्वाचन बहिष्कार नगर्न आग्रह गरेका थिए । वैद्यले आफूहरूको विरोध शान्तिपूर्ण भएको बताएको उनले स्मरण गरेको भनाइ द कार्टर सेन्टरमा उल्लेख छ ।
वैद्यले शान्तिपूर्ण विरोध भनेर प्रतिबद्धता जनाएको भोलिपल्टै उनकै समूहका कार्यकर्ताले तीन जना कर्मचारीलाई ६ घण्टा बन्धक बनाएपछि कानुन प्रयोग गरेर उनीहरूको गतिविधि नियन्त्रण गर्न‘पर्ने सुझाव सरकारलाई दिएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा कुल मतदातामध्ये ७० प्रतिशतले आफ्नो मत खसालेका थिए ।
निर्वाचनको प्रारम्भिक परिणाममा माओवादी पराजयको दिशातर्फ गएपछि माओवादीले मतगणना बहिष्कार गरेको थियो । त्यतिबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा धाँधली भएको बताएपछि शान्तिपूर्ण समाधानको बाटो रोज्न सुझाव दिएको उनको संस्था कार्टर सेन्टरमा उल्लेख छ ।
जिमी कार्टर ?
अमेरिकाका ३९औं राष्ट्रपति जिमी कार्टरको पूरा नाम, जेम्स अर्ल कार्टर जुनियर हो । उनी एउटा बदाम खेती गर्ने परिवारमा हुर्केका थिए । संयुक्त राज्य नौसेना एकेडेमीबाट स्नातक गरेपछि उनले सन् १९२४ सम्म नौसेनामा सेवा गरे । आफ्ना बुबाको मृत्युपछि उनी पारिवारिक व्यवसाय सम्हाल्न जर्जिया फर्किए ।
सन् १९६२ मा जर्जियामा राज्य सिनेटरका रूपमा उनले राजनीतिमा पाइला हाले । जहाँ उनी नागरिक अधिकार र जातीय एकीकरणका लागि आफ्नो प्रतिबद्धतामा पिलरझैं उभिए । सन् १९७० मा उनी जर्जियाको गभर्नर निर्वाचित भए । अल्पसंख्यक तथा महिलाहरूको अधिकारको पक्षमा प्रगतिशील नीतिहरू प्रवर्धन गर्दै उनले थप लोकप्रियता बटुले ।
सन् १९७६ मा कार्टर डेमोक्रेटिक पार्टीको उम्मेदवारका रूपमा संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचनमा होमिए र विजय हासिल गरे । आफूलाई वासिङ्टन राजनीतिक प्रतिष्ठानबाहिर एक राजनीतिज्ञका रूपमा प्रस्तुत गर्दै उनले ठूलो सफलता हात पारे । एक समय जब देशले वाटरगेट घोटालापछि विश्वास पुनः प्राप्त गर्न खोजिरहेको थियो, त्यसबेला उनले सम्पूर्ण ध्यान मानवअधिकार र अन्तर्राष्ट्रिय कूटनीतिमा केन्द्रित गरे । र, उनको सबैभन्दा उल्लेखनीय उपलब्धिहरूमध्ये सन् १९७८ को क्याम्प डेभिड सम्झौतासमेत हो ।
जसले इजिप्ट र इजरायलबीचको शान्तिलाई सहज बनायो भने सन् १९७७ को टोरिजज सन्धिले पनामा नहरको नियन्त्रण पनामालाई नै हस्तान्तरण गरिदियो । राष्ट्रपति रहँदा उनले इरानको बन्धक संकट र उच्च मुद्रास्फीति र बेरोजगारीसहित घरेलु आर्थिक समस्याहरूजस्ता चुनौतीको सामना गर्न‘परेको थियो । यी कारकहरूले रोनाल्ड रेगनविरुद्ध सन् १९८० को निर्वाचनमा हार बेहोर्नुपरेको थियो ।
ह्वाइटहाउस छाडेपछि कार्टरले आफूलाई मानवीय र शान्ति–प्रवर्धन गतिविधिहरूमा समर्पित गरे । सन् १९८२ मा आफ्नी पत्नीसहित उनले कार्टर सेन्टर स्थापना गरे । कार्टर सेन्टर मानवअधिकारको रक्षा, अन्तर्राष्ट्रिय द्वन्द्वहरूमा मध्यस्थता र विभिन्न देशहरूमा चुनावी प्रक्रियाहरूको पर्यवेक्षणमा केन्द्रित गैरसरकारी संस्था हो ।
जुन कार्यले उनलाई २००२ मा नोबेल शान्ति पुरस्कार दिलायो । करियरका दौरान कार्टरले आफ्नो निष्ठा र नम्रतालाई पूर्ण रूपमा सार्वजनिक सेवामा समर्पण गरे । सबैभन्दा लामो समयसम्म बाँचेका अमेरिकी राष्ट्रपति कार्टरले अडियो बुक वा बोलेको शब्द रेकर्डिङका लागि तीन ग्रामी अवार्ड पनि जितेका थिए । उनकी पत्नी रोजलिनको पनि यही घरमा २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।