काठमाडौँ । नेकपा एमालेले पूर्व उपाध्यक्ष डा. भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाएको छ । बुधबार बसेको सचिवालय बैठकले १० औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग भिडेका रावललाई पार्टीमा कुनै ठाउँ नरहने गरी संगठित सदस्यबाटै हटाएको हो ।
एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ । एमालेको ४ कात्तिकमा बसेको सचिवालय बैठकले तीनै जनालाई स्पष्टीकरण सोधेको थियो । पार्टी निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै त्यति बेला एमालेले स्पष्टीकरण सोधेको हो।
केन्द्रीय कमिटी बैठक पुस २१ र २२ मा
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक पुसमा हुने भएको छ । बुधबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक पुस २१ र २२ गते हुने निर्णय गरेको हो ।
अब बस्ने केन्द्रीय कमिटी बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुनेछ । त्यस्तै पार्टीको सांगठनिक कामको पनि समीक्षा हुनेछ । एमालेले मंसिर १६ गते ४४ स्थानमा भएको स्थानीय तह उपनिर्वाचनमा निर्वाचन भएका जिल्ला र प्रदेश कमिटीबाट समेत समीक्षा प्रतिवेदन मागेको छ ।