फ्रान्समा आफ्नै श्रीमतीलाई सामूहिक बलात्कार गराएको आरोपमा एक जना पुरुषलाई २० वर्षको जेल सजाय सुनाइएको छ । श्रीमानकाे मिलेमतोमा ती महिला करिब एक दशकसम्म सामूहिक बलात्कारबाट पीडित भएको बताइन् छ ।
अदालतले ७२ वर्षीय श्रीमान डोमिनिक पेलिकोटलाई २० वर्ष र बलात्कारमा संलग्न अन्य ५० जनालाई तीनदेखि १५ वर्षसम्मको जेल सजाय सुनाएको छ । तीन महिना लामो सुनुवाइपछि उक्त आदेश भएको हो ।
अदालतको आदेशपछि पीडितले खुशी व्यक्त गरेकी छन् । परिचय खुलाउँदै पीडित महिला ७२ वर्षीया जिसेल आफ्नो नातिसँगै पहिलो पटक अदालत पुगेकी हुन् ।
उनका पूर्व पति डोमिनिकले जिसेललाई लागूऔषध खुवाएर अचेत बनाएपछि अनलाइनबाट अपरिचित व्यक्तिलाई बलात्कारका लागि बोलाउने गर्दथे । डोमिनिकले अदालतसमक्ष बयानमा पनि सन् २०११ देखिको आफ्नो कर्तुत स्वीकारेका थिए ।
डोमिनिकको ल्यापटपमा हजारौं भिडियो रहेको जनाउँदै प्रहरीले उक्त घटनामा संलग्न ५० जना पत्ता लागेपनि अरु थप २१ जनाबारे कुनै अनुसन्धानमा भेउ पाउन नसकेको स्वीकारेको छ ।