भारतको राजधानी नयाँ दिल्लीमा नेपाल–भारत आर्थिक सम्मेलन सुरु भएको छ । शुक्रबार काठमाडौं विश्वविद्यालय अन्तर्गतको नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर (एग्रो फाउन्डेसन)द्वारा संयुक्त रुपमा सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा नेपाल–भारत सम्बन्धलाई केवल आर्थिक मात्र नभई सामाजिक र सांस्कृतिक रूपमा पनि थप मजबुत बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
दक्षिण एसियाको क्षेत्रीय सहकार्यका लागि नेपाल–भारत सम्बन्धलाई एक उदाहरणीय अवधारणाका रूपमा विकास गर्नुपर्ने उनीहरूको भनाइ थियो । भारत–नेपाल आर्थिक सम्मेलनले दुई देशबीचको सहकार्यलाई गहिरो बनाउने अवसर प्रदान गरेकाले दुई देशबीचको आर्थिक, सामाजिक, र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउनु पर्नेमा उनीहरूको जोड थियो । दुई देशबीचको व्यापार असन्तुलन र संरचनागत अवरोध हटाउनलगायत अवरोध हटाउन दुवै पक्षले ठोस कदम चाल्नुपर्ने आवश्यकता रहेको विज्ञहरूले औंल्याएका छन् ।
परराष्ट्र मन्त्री आरजु राणाले नेपालमा लगानी विस्तार गर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गरेकी छिन् । सम्मेलनमा प्रमुख वक्ताका रुपमा बोल्दै नेपालमा रहेको प्रत्यक्ष विदेशी लगानी (एफडीआई)मध्ये सबैभन्दा धेरै भारतकै रहेको स्मरण गर्दै थप लगानी विस्तारका लागि उनले आग्रह गरेकी हुन् ।