कम्युनिष्ट नेता बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बदनाम गर्ने कोशिश गरेको उल्लेख गर्दै आफ्नो भ्वाइस रेकर्ड सार्वजनिक गर्न चुनौती दिएका छन्।उनले सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै नेता मदन भण्डारीको हत्यासम्बन्धी लिंक पुष्टि गर्न ओलीलाई फोन गर्दा नलागेपछि उनका स्वकीय सचिव राजेश वज्राचार्यलाई फोन गरेको जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीले केही दिनअघि वामदेवले आफ्नो स्वर नचिनेको र आफूलाई स्वकीय सचिव वज्राचार्य सम्झेर गाली गरेको सार्वजनिक कार्यक्रममा बताएका थिए।प्रधानमन्त्री ओलीको आक्षेपपछि उनले आफ्नाो बदनाम गर्ने ‘तुच्छ कोशिश’ प्रधानमन्त्रीबाट भएको भन्दै विज्ञप्तिमार्फत प्रतिवाद गरेका हुन्।
उनले ओलीलाई भनेका छन्- ‘म तपाईंलाई चुनौती दिन्छु-मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस् ! पिएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ।’
नेता गौतमले विज्ञप्तिमा लेखेका छन् –
‘तपाईंको स्वर र शैलिमा राष्ट्र नेता मदन भण्डारी हत्यासम्बन्धी कथित निस्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो । हेरेपछि छांगाबाट खसेजस्तो भएँ ! र,पहिलो कर्तब्य तपाईंबाटै जानकारी लिने हो भन्ने ठानेँ । मैले मेरोमा सेभ भएको तपाईंको फोनमा कल गरेँ तर फोन लागेन । त्यसपछि क. राजेशलाई वहाँकै फोनमा लिंक पठाइदिएँ र तुरुन्तै कल गरेँ । कल रिसिभ गर्नुभयो र सदा झैं नमस्कार कमरेड भन्नुभयो ।
त्यसपछि मैले वहाँलाई भनें-एउटा सिरियस लिंक मेरोमा आयो । केपी कमरेडको फोन उठेन र तपाईंलाई पठाइदिएको छु । तु.वहाँलाई पठाइदिनोस् । मलाई यो धेरै सिरियस लागेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्नपर्ने हुन सक्छ ।
यो भन्दा बढी मैले एक शब्द पनि बोलेको छैन । फोन नं. राजेशकै हो । राजेशलाई धुलोमा खेल्ने अवस्थादेखि मैले जान्दछु।यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोशिश गर्नुहोला भन्ने लागेको थिएन ।’