नेपाल नागरिक उड्डयन प्राधिकरणले सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडान/अवतरण प्रतिबन्ध गर्ने निर्णयलाई खारेज गरेको छ। हेलिकप्टर कम्पनी सञ्चालकलाई उडान गर्न दिने/नदिने निर्णय गर्ने अधिकार क्यानमा मात्र निहित रहेको भन्दै प्राधिकरणले निकुञ्ज कार्यालयको निर्देशन कार्यान्वयन नहुने बताएको हाे।
समग्र पर्यटन र प्राकृतिक जीवनशैली नै प्रभावित भएको भन्दै निकुञ्जले यही बुधबार ११ वटा हेलिकप्टर कम्पनीलाई निकुञ्ज क्षेत्रमा आगामी जनवरी १ देखी व्यवसायिक उडान प्रतिबन्ध हुने भन्दै पत्र काटेको थियो। सोही निर्णय पछि हेलिकप्टर कम्पनी सञ्चालकहरू बिहीबार प्राधिकरण पुगेका थिए।
यसै क्रममा प्राधिकरणले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निकुञ्जले व्यवसायीक हेलिकप्टर उडान÷अवतरण रोक लगाउने निर्णयको कुनै आधार नभएको उल्लेख गरेको छ। त्यस्तै प्राधिकरणबाट कुनै निर्णय नहुन्जेल उक्त क्षेत्रमा विद्यमान अवस्थामा जस्तै निर्बाध र नियमित व्यवसायिक उडान सञ्चालन गर्न÷गराउन सम्पूर्ण हेलिकप्टर कम्पनी लगायत सरोकारवाल निकायलाई प्राधिकरणले अनुरोध गरेको छ।
प्राधिकरणले सङ्घीय सरकारको एकल अधिकार अन्तर्गत सूचिकृत नेपाली वायु क्षेत्रमा हुने हवाई उड्डयनको नियमन तथा व्यवस्थापन गर्ने कानुनी जिम्मेवारी गैर सैनिक हवाई उडान ऐन, २०१५ तथा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ र सो कानुन अन्तर्गतका नियमावलीमा भएको व्यवस्था बमोजिम प्राधिकरणमा निहित भएको बताएको छ।
यस्तै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा हिमाली राष्ट्रिय निकुञ्ज नियमावली, २०३६ लगायतका कानूनमा कुनै पनि आरक्षण माथिको हवाई क्षेत्र प्रतिबन्ध गर्ने अधिकार उक्त निकायमा नरहेको उल्लेख गर्दै निकुञ्ज कार्यालयलाई रोक लगाउने अधिकार नभएको बताएको छ।
निकुञ्ज कार्यालयको निर्णयपछि हेलिकप्टर कम्पनी संचालक बिहीबार प्राधिकरण गएका थिए। यस क्रममा निकुञ्ज लगायतले उडानमा रोक लगाउने अधिकार प्राधिकरणसँग मात्र भएको र अरू निकायले यस सम्बन्धी निर्णय गर्न नपाउने बताउँदै हेलिकप्टर कम्पनीलाई उडान निरन्तरता गर्न भनेको थियो। हेलिकप्टर उडान अवतरण क्यानको क्षेत्राधिकारभित्र पर्ने भएकोले निकुञ्ज कार्यालयको निर्णय मान्नुपर्ने कारण नभएको प्राधिकरण बताउँछ।
सगरमाथा निकुञ्ज क्षेत्रमा अत्याधिक हेलिकप्टर गतिविधि हुनथालेपछी समग्र पर्यटन र प्राकृतिक जीवनशैली प्रभावित हुन थालेपछि निकुञ्ज, खुम्बु पासाङ ल्हामु गाउँपालिका, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाले सो क्षेत्रमा व्यवसायीक हेलिकप्टर उडान/अवतरण प्रतिबन्ध गर्ने निर्णय गरेको थियो। आगामी जनावरी १ (पुस १७) देखि सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टरको उडान/अवतरण प्रतिबन्ध गर्ने निर्णय भएको थियो।
सोही निर्णय अनुसार निकुञ्ज कार्यालयले एयर डाइनेष्टि, प्रभु हेलिकप्टर, कैलाश हेलिकप्टर, माउन्टेन हेलिकप्टर, अल्टिट्युड एयर, फिसटेल, श्री एयरलाइन्स, सिम्रिक एयर, हेलि एभरेष्ट र मनाङ एयर गरी ११ हेलिकप्टर कम्पनीलाई सो निर्णय कार्यान्वयन सम्बन्धमा पत्र लेखी जानकारी गराएको थियो। सगरमाथा क्षेत्रमा प्रदूषण बढेको र वन्यजन्तुसम्बन्धी आपराधिक गतिविधि रोक्न र स्थानीयको रोजीरोटी जोगाउन पनि हेलिकप्टरको व्यवसायीक उडान रोक्नुपरेको निकुञ्ज कार्यालयको बताएको थियो।
खुम्बु जसलाई सगरमाथा क्षेत्र पनि भनिन्छ। यसलाई धेरै हिमालहरूको घर पनि भनिन्छ। यस क्षेत्रमा विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा अवस्थित छ। यस्तै ल्होत्से, मकालु, चोयू, न्यूप्त्से, खुम्बुत्से रेन्जोला लगायत हिमाल तथा पिकहरू अवस्थित छन्।
खुम्बु ३,३०० मिटर देखि ८,८४८.८६ मिटर उचाइ क्षेत्रमा अवस्थित छ। खुम्बु क्षेत्रमै विश्वको सर्वोच्च शिखर सगरमाथा छ। २०११ को जनगणना अनुसार खुम्बुमा ९१२ घरधुरी, १३ गाउँमा ३४७ दर्ता होटेल र चिया घर छन्। यसै क्षेत्रमा लुक्ला र मोन्जु बीचको सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र दुवै पर्छ। खुम्बु क्षेत्रमा नाम्चे बजार सहरका साथै थामे, खुम्जुङ, पाङ्बोचे, फेरीचे र कुण्डे गाउँहरू पर्छन्। यस्तै तेङ्गबोचेमा रहेको प्रसिद्ध बौद्ध विहार पनि खुम्बुमा अवस्थित छ।