राहदानी विभागले विभिन्न सहकारीको बचत रकम अपचलन गरी फरार रहेका जिबी राईको पासपोर्ट रोक्का गरेको छ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले गरेको पत्राचारका आधारमा विभागले राईको पासपोर्ट रोक्का गरेको हो।
जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले राईको पासपोर्ट केही समयअघि देखिनै रोक्का भएको बताइन्।राईको बैंक खाता, मालपोत लगायत विभिन्न स्थानमा पनि कारोबार रोक्का गर्न पत्राचार गरिसकेको उनले बताइन्।
यसअघि गत वैशाख ३० गते पनि उनको पासपोर्ट रोक्का वा रद्द गर्न भनेर कास्की प्रहरीले राहदानी विभागमा पत्राचार गरेको थियो। तर त्यतिबेला उनको पासपोर्ट रद्द गर्न नमिल्ने निर्णय भएको थियो।
राहदानी ऐन, २०७६ अनुसार सहकारी ठगी कसुरका लागि राहदनी रद्द गर्ने प्रावधान नभएको हुँदा नमिल्ने निष्कर्ष थियो। जिल्ला अदालत कास्कीले पनि सहकारी ठगीमा मात्रै रोक्का गर्न नमिल्ने भन्दै स्वीकृति दिएको थिएन।पछिल्लो समय सम्पत्ति शुद्धिकरण र संगठित अपराध समेतमा जोडिएपछि राईको पासपोर्ट रोक्का गर्न बाटो खुलेको हो।
उक्त ऐनको दफा १२ मा राहदानी जारी नगर्ने वा रोक्का राख्न सकिने अवस्थाबारे खुलाइएको छ।
राहदानी, अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, मानव बेचबिखन, अपहरण, लागु औषध, अवैध हातहतियार कारोबार, संगठित अपराध वा आतंकवाद सम्बन्धी कसुरको अभियोमा अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकारीले राहदानी जारी नगर्न वा रोक्का राख्न सक्ने उल्लेख छ।