ऊर्जामन्त्री दिपक खड्काको कम्पनी खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले नेपाल स्काउटलाई एक करोड ७५ लाख रूपैयाँ भाडा बुझाएको छ।काठमाडौंको लैनचौरस्थित जग्गा र भवनको भाडाका लागि स्काउटले मन्त्री खड्काको कम्पनीलाई ताकेता गर्दै आएको थियो।
भाडा उठाउन नसकेपछि नेपाल स्काउटले मन्त्री खड्काको कम्पनीको नाममा सार्वजनिक सूचना प्रकाशित गरेको थियो। साथै भाडा उठाउन सहयोग माग्दै प्रधानमन्त्री, अख्तियार, प्रहरी र संसदीय समितिमा समेत निवेदन र उजुरी दिएको थियो।
संसदको राज्य व्यवस्था समितिमा नेपाल स्काउटले दिएको उजुरी अनुसार मन्त्री खड्काको कम्पनीले ५ करोड ४१ लाख ७० हजार रूपैयाँ भाडा तिर्न बाँकी छ।
खड्काको कम्पनीले हिजाे नेपाल स्काउटको खातामा ५० लाख रूपैयाँ जम्मा गरिदिएको छ। त्यसअघि कात्तिक २ गते २५ लाख रूपैयाँ, मंसिर २ गते ५० लाख रूपैयाँ, मंसिर १६ गते २५ लाख रूपैयाँ भाडा बुझाएको बताइएकाे छ ।
खड्काको कम्पनीले २०७३ चैत १८ गते लैनचौरस्थित नेपाल स्काउटको जग्गा र त्यसमा भएको घर भाडामा लिने सम्झौता गरेको थियो। ३ रोपनी जग्गा र दुइटा भवनमा रहेका ४८ वटा सटरको खड्काको कम्पनीले भाडा उठाएर तिर्दै आएको थियो। स्काउटले संसदीय समितिमा दिएको उजुरी अनुसार खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिसँग सुरूमा १० वर्षको लिज सम्झौता भएको थियो।
तर २०७५ सालमा करार समाप्त भएपछि मन्त्री खड्काको कम्पनीले करार अवधि १५ वर्ष रहेको भन्दै बखेडा झिकेको थियो।