प्रधानमन्त्री ओलीले गरे दमक भ्यु टावरको उद्घाटन

अर्थ मनराेञ्जन मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका वडा नम्बर ३ दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गरेका छन्।ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गर्दै यो परियोजना नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको दाबि गरे ।

प्रधानमन्त्री ओलीले यो निर्माणले रोजगारी र पर्यटन वृद्धि हुनेसमेत बताए। विश्वका धेरै मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको भन्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे।

यस टावरले समग्र कोशी प्रदेशलाई घरेलु र विदेशी पर्यटकहरूको लागि प्रमुख पर्यटक गन्तव्यको रूपमा विकास गर्ने सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बताए।

‘यो परिसर केवल एक टावर भवन मात्र होइन, यो हाम्रो दमकलाई, झापा जिल्लालाई र समग्र कोशी प्रदेशलाई घरेलु र विदेशी पर्यटकहरूको लागि प्रमुख पर्यटक गन्तव्यको रूपमा विकास गर्ने हाम्रो दृष्टिकोणको आधार पनि हो,’ सिग्देलले भने।

मुख्य बजार क्षेत्रबाट चार किमी दूरीमा रहेको उक्त १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनाइएको हो। चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेकोे छ ।

उद्घाटनमा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी थिए।

दमक व्यापारिक कम्लेक्समा व्यावसायिक, व्यापारिक, मनोरञ्जनात्मक, र कर्पोरेट कार्यक्रम एकै स्थानमा समायोजन गर्ने गरी डिजाइन गरिएको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ। टावर परिसरलाई पैदल मार्ग प्रवेश एवेन्यू, प्रवेश प्लाजा, टावर, मनोरञ्जनात्मक बगैंचा, बालबालिका खेल क्षेत्र र वनस्पति बगैचामा छुट्टयाइएको छ।

१५,६११ वर्ग मिटरमा फैलिएको दमक व्यापारिक कम्लेक्समा बेसमेन्ट, ग्राउन्ड फ्लोर, सहित १८ तल्लाहरू छन्, जसमाथि स्टीलको २८ मिटर टावरले कुल १०० मिटरको उचाइमा पुर्‍याउने मन्त्रालयको भनाइ छ।

भवन विश्वविख्यात वास्तुकार र शहरी योजनाकार लु कोबिजियको वास्तुकलामा स्मारकत्वको अवधारणाबाट अभिप्रेरित भएर सुरूवात गरिएको हो।

गृह नगरमा प्रधानमन्त्रीलाई कालो झन्डा

आफ्नै गृह नगर दमकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ।

आइतबार प्रधानमन्त्री ओली भ्युटावर लगायत विभिन्न स्थानमा उद्घाटन गर्न झापा पुगेका हुन्। गृह जिल्ला पुग्दा प्रदेश नम्बर १ पुन: नामांकन संयुक्त संघर्ष समितिले कालो झन्डा देखाएको हो।

त्यसक्रममा प्रहरीले केदार धिमाल, मातृका धिमाल, एलबी पालुङ्वा, सोम चेम्जोङ, तिर्थ खड्का, एलबी पालुङ्वा र विवेक सुनुवारलाई नियन्त्रणमा लिएको हो।

यस्तै यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शम्भु सुस्केरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी २०७९ सालमा रास्वपाबाट चुनाव लडेका थिए।अहिले झापामा बाक्लो रूपमा प्रहरी परिचालन गरिएको छ। दमकको गणतन्त्र चोक अस्तब्यस्त बनेकाेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *