मुलुकको व्यस्त तथा पहिलाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको काम तीव्र गतिमा भइरहेको छ । गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तारका क्रममा समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’लगायत काम भइरहेको छ ।
प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ को काम गरिरहेको हो । यी काम पूरा गर्न करिब रु १५ अर्ब खर्च हुने आयोजना कार्यालयले जनाएको छ ।
विमानस्थलको क्षमता अभिवृद्धिका लागि भइरहेका विभिन्न कामको अवलोकन गर्दै पर्यटनमन्त्री पाण्डेले निर्माण तीव्र गतिमा भइरहेको भन्दै समयमा काम सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले ठूलो सङ्ख्यामा जनशक्तिसहित प्रभावकारी रूपमा उपकरणको परिचालन गरेर युद्धस्तरमा भइरहेको निर्माणले विकासे आयोजनाको कामलाई गुणस्तरीय र निर्धारित समयमा सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिएको उल्लेख गरे ।
पर्यटनमन्त्री पाण्डेले अहिले भइरहेको निर्माण सन्तोषजनक रहेको जनाउँदै निर्धारित समयमा काम सकेपछि विमानस्थलको उडान सेवा प्रभावकारी र थप गुणस्तरीय हुने विश्वास व्यक्त गरे । ‘दश घण्टा विमानस्थल बन्द गरेर निर्माण तीव्र गतिमा सबै क्षेत्रमा भइरहेको छ । आगामी चैत १८ गतेसम्म १० घण्टा विमानस्थल बन्द गरेर काम गर्ने समय तोकेका थियौँ, अहिलेको युद्धस्तरमा भइरहेको कामले त्योभन्दा पहिला सम्पन्न हुने सङ्केत गरेको छ’, उनले भने ।
विमानस्थल क्षमता अभिवृद्धि आयोजनाका प्रमुख दीपेन्द्र श्रेष्ठले आवश्यक जनशक्ति तथा उपकरणको पूर्ण क्षमतामा परिचालन गरेर अहिले विमानस्थलको क्षमता अभिवृद्धिको काम भइरहेको बताए । उनका अनुसार तीन सयभन्दा दक्ष जनशक्ति, आधुनिक उपकरणको सहायताले दैनिक १० घण्टा विमानस्थल विस्तारको काम भइरहेको छ ।
नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् । मुलुकको जेठो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् ।