प्रधानमन्त्री केपी शर्मा ओली चार दिने चीन भ्रमणको क्रममा बेइजिङ पुगेका छन । उनि ८७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौंबाट हिमालय एअरलाइन्सको विशेष उडानमा त्यहा पुगेका हुन।
प्रधानमन्त्रीको चीन यात्रालाई भारतीय सञ्चार माध्यमहरुले नकारात्मक रूपमा प्रस्तुत गरेका छन् । केही सञ्चार माध्यमले नेपालको एजेण्डाप्रति चीन मौन बसेको र केहीले एमाले अध्यक्ष केपी शर्मा ओली भारतलाई छाडेर चीन परस्त भएको आरोप लगाएका छन् ।
नेपाल सरकारले बनाएको चार सदस्यीय आयोगको सुझावपछि बिआरआईमाथि सशोधन प्रस्ताव तयार पारेर शनिबार काठमाडौंस्थित चिनियाँ दूतावासमा पठाइएको भारतीय समाचारमा दाबी गरिएको छ । तर, प्रधानमन्त्रीको भ्रमणमा गरिने छलफलको अजेण्डाबारे परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शुक्रबार नै चीनको छन्तुमा औपचारिक भेटवार्ता भइसकेको थियो ।
यता द न्यु इण्डियन एक्सप्रेसले प्रधानमन्त्री ओली नयाँ दिल्लीको पहिले भ्रमण गर्ने नेपाली प्रधानमन्त्रीको परम्परालाई तोडेर बेइजिङ पुगेकाे उल्लेख गरेको छ । एक्सप्रेसले नेपाली सञ्चार माध्यमको हवाला दिँदै लेखेको समाचारमा नयाँ दिल्लीले औपचारिक भ्रमणको निम्तो नदिएपछि ओली बेइजिङ गएकाे दाबी छ ।
उसले चीन र भारतसँग सिमाना जोडिएको नेपालको कुल वैदेशिक व्यापारको ६५ प्रतिशतभन्दा बढी भारतसँग हुने गरेको र चीनसँग १५ प्रतिशत मात्रै हुने गरेको विषयलाई ध्यान दिनुपर्ने उल्लेख गरेको छ । तर, विद्युतीय गाडी आयातमा चीनले ७० प्रतिशत ओगटेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।