प्लास्टिकजन्य फोहोर र कृषिजन्य अवशेषहरू नजलाउन अपिल

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

वातावरण विभागले वायु प्रदूषण हुन नदिन सावधानी अपनाउन अपिल गरेको छ । नेपालमा विशेषगरी मङ्सिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको भन्दै विभागले सार्वजनिक सूचनामार्फत् सावधानी अपनाउन अपिल गरेको हो ।

उद्योग कलकारखाना र सवारी साधनबाट निष्कासन हुने धूवाँ, वन डढेलो, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धूवाँ, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूलो आदिका कारण प्रदूषण बढ्ने भएकाले प्रदूषणका त्यस्ता कारकहरू उत्सर्जन नगर्न र नगराउनतर्फ जोड दिन विभागले आग्रह गरेको छ ।

‘विगत केही हप्तादेखि नेपालको तराई क्षेत्र लगायत काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको पाइएको छ। वायु प्रदूषणको मुख्य कारक उद्योग कलकारखाना र सवारी साधनवाट निष्कासन हुने धूवाँ, वन डढेलो, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धूवाँ, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूलो आदि रहेका छन्,’ विभागले भनेको छ, ‘वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरूलाई बढी प्रभाव पार्ने भएकोले यस्तो बेला विशेष सावधानी अपनाउनु हुन अनुरोध छ ।’

विभागले वायु प्रदूषण नियन्त्रण तथा न्यूनीकरण गर्न ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन आग्रह गरेको छ । त्यस्तै, सवारीसाधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न र सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूवाँ धूलोको यथोचित नियन्त्रण गर्न अपिल गरेको छ ।

हालै भारतको पञ्जाब लगायत क्षेत्रमा किसानले डढेलो लगाएका कारण भारतको नयाँ दिल्ली र पाकिस्तानको लाहोर क्षेत्रमा प्रदूषण दर उच्च भएको थियो । जसको असर नेपालसम्मै आइपुगेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका थिए ।

यतिबेला नेपालमा पनि किसानले बालीनाली थन्काउने र त्यसपछि खेतीपातीका लागि नल सरसफाइ र डढेलो लगाउने गर्दा वायु प्रदूषण ह्वात्तै बढ्ने गरेको छ । विभागले हाल काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरूसहित देशभर वायु गुणस्तर मापन स्टेसनहरू स्थापना गरी नियमितरुपमा वायु गुणस्तर अनुगमन गर्दै आएको छ ।

विभागका अनुसार वायु गुणस्तर पीएम २.५ को मात्रा ० देखि ५० हुँदा राम्रो मानिन्छ भने ५१ देखि १०० हुँदासम्म मध्यम, १०१ देखि १५० सम्म हुँदा संवेदनशील समूहका लागि अस्वस्थ तथा १५१ देखि २०० सम्म पुग्दा अस्वस्थ मानिन्छ । त्यस्तै, २०१ देखि ३०० सम्म हुँदा त्यो मानव स्वास्थ्यका लागि निकै अस्वस्थ मानिन्छ भने ३०१ भन्दा माथि भएमा मानव स्वास्थ्यका लागि खतरनाक तहमा पुगेको मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *