जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध काठमाडौँमा पनि पक्राउ पुर्जी जारी भएको छ ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा जिल्ला अदालतले आज पुर्जी जारी गरेको हो । लामिछानेका तत्कालीन व्यवसायीक साझेदार तथा पूर्वडीआईजी छविलाल जोशीलाई पनि थुनामा लिएर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
जिबी राई अध्यक्ष रहेको स्वर्णलक्ष्मीको बचत अपचलनमा संलग्न रहेको आरोपमा यसअघि २२ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सहकारीको १ अर्ब ११ करोड निक्षेप बचत अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले निष्कर्ष दिएको छ ।