राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना उम्मेदवारलाई धम्क्याइएको भन्दै निर्वाचन आयोगमा उजुरी हालेको छ ।
हुम्लाको सर्केगाड गाउँपालिमा उपाध्यक्षको उम्मेदवार बन्ने तयारीमा रहेकी सुजता थापालाई धाकधम्की देखाई उम्मेदवारी दर्ता गर्न नदिएको दाबीसहित कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगमा लिखित उजुरी दर्ता गराएका हुन् । उजुरीमा घटनामा संलग्नमाथि कारवाहीको माग गरिएको छ ।
‘यो कुरा थाहा भएलगत्तै हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेलाई जानकारी गराइयो’, उजुरीमा भनिएको छ, ‘प्रजिअलाई यसअघि पनि अन्य व्यक्तिले घटनाको सूचना दिएकोले आवश्यक खोजतसाल र उद्धारको लागि प्रहरी परिचालन गरिसकेको बताउनुभएको थियो ।’
मानसिक यातना र असुरक्षाको कारण सुजता उम्मेदवारी दर्ता गर्न नसक्ने मनस्थितिमा पुगेको रास्वपाको भनाई छ । घटनामा नेपाली कांग्रेसका सदस्यहरुको संलग्नताको सूचना प्राप्त भएको जनाइएको छ ।
‘उक्त निन्दनीय कार्यमा स्थानीय नेपाली कांग्रेसका सदस्यहरु संलग्न रहेको सूचना प्राप्त भएको छ’, उजुरीमा उल्लेख गरिएको छ ।