डेंगु संक्रमणबाट यस वर्ष २२ हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन् । मुलुकका ७६ जिल्लामा फैलिएको संक्रमणबाट ११ जनाको ज्यान गइसकेको छ । डेंगु नियन्त्रणमा प्रभावकारी उपाय अपनाउन नसक्दा हरेक वर्ष डेंगु संक्रमणको सकस झेलिरहनु पर्ने विडम्बना छ ।
डेंगु संक्रमण गराउने लामखुट्टेका अन्डा, प्युपा र लार्भा खोजेर नष्ट गर्ने (सर्च एन्ड डेस्ट्रोय) विधि समयमै अपनाएको भए यो स्थिति आउने थिएन । लामखुट्टे मार्न औषधि छर्कने (फगिङ) उपाय अपनाउँदा नियन्त्रण झन् चुनौतीपूर्ण बन्दै गएको हो । विज्ञहरूका अनुसार फगिङले घरबाहिर रहेका लामखुट्टेलाई मात्र मार्न सक्छ । फुल र लार्भा नभई लामखुट्टे मात्र मर्ने भएकाले फगिङ प्रभावकारी नहुने विज्ञहरूको सुझाव छ ।
एक संक्रमित लामखुट्टेले आफ्नो अधिकतम ३० दिनको जीवनकालमा पाँच सयदेखि एक हजार संक्रमित फुल पार्छ । यी सबै फुल लामखुट्टेमा परिणत भए महिनामै रोग सार्ने हजारौं लामखुट्टे उत्पादन हुन्छन् ।
स्वास्थ्यसम्बन्धी अधिकार स्थानीय सरकारमा रहेको छ । त्यसैले पनि केन्द्रीय सरकारबाट सावधानी अपनाउनका लागि अपिल र प्राविधिक सहयोग गर्नेबाहेक कुनै प्रभावकारी अभियान चलाइएको छैन । स्थानीय, प्रदेशमात्र होइन संघीय सरकार पनि खोज र नष्ट गर्ने अभियानलाई निरन्तरता दिन नसक्दा डेंगु नियन्त्रण हुन नसकेको हो । डेंगुको बढ््दो विस्तार नियन्त्रण गर्न सरोकारवाला सबै निकाय र नागरिक समाजले समन्वय गर्नुपर्ने जरुरी छ । लामखुट्टेको प्रजनन प्रक्रिया पूरा हुन नदिनका लागि पानी राख्ने भाँडा छोप्ने, घरवरपर पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने उपाय अपनाउनु पर्छ ।
एडिस एजिप्टाई र एल्बोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गर्छ । त्यसैले डेंगु नियन्त्रण विधि भनेकै रोग फैलाउने लामखुट्टे खोजेर नष्ट गर्ने र पानी राख्ने भाँडा छोप्ने, घर वरपर पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्नेलगायतका उपाय नै हो । सफा पानीमा बस्ने लामखुट्टेले टोक्दा यो रोग लाग्ने भएकाले सफा पानी जम्न नदिनु नै सबैभन्दा राम्रो कार्य हो ।
डेंगुको डर कहिलेसम्म पालिराख्ने ? जबकि बाह्रैमहिना संक्रमणको जोखिम देखिएको छ । त्यसैले सरकारका साथै सरोकारवाला, आमजनसमुदाय सबै मिलेर लामखुट्टेले फुल पार्न सक्ने सबै स्थान खोजेर नष्ट गर्नुको विकल्प छैन ।
साभार अन्नपुणा पाेष्ट