आज बिहान नारायणगढ मुग्लिन सडकको सत्र किलोमा माइक्रोबस र बस ठोक्किदा : ४ जनाको मृत्यु

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

चितवन — नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा आज  बिहान तीन बजे माइक्रोबस र बस ठोक्किँदा ४ जनाको मृत्यु भएको छ ।दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको अवस्था गम्भीर रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुने र गम्भीर घाइते हुने सबै माइक्रोबसका यात्रुहरू हुन् । बसमा रहेका चार जना सामान्य घाइते भएका छन् ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको बस ठोक्किएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।  घाइतेमध्ये गोरखा जिल्ला आरुघाट गाउँपालिका–१ मान्बुका अन्दाजी ४०/४२ वर्षका राजबहादुर गुरुङको मृत्यु भएको यस्तै चितवन मेडिकल कलेज भरतपुरमा रहेको शिक्षण अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेकी अन्दाजी ४० वर्ष जतिकी महिलाको पनि मृत्यु भएको छ ।

अन्दाजी ३२ वर्षका पुरुष र ३५ वर्षका अर्को पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । नाम ठेगाना नखुलिसकेका यी तीनैजना माइक्रोबसका यात्रुहरू रहेको बताइन्छ । माइक्रोबसका चालकको भरतपुरको सरकारी अस्पतालमा उपचार भइहरेको छ । बसका सहचालक काठमाडौं महानगरपालिका–३२ बस्ने ३० वर्षका भोजविक्रम शाह पनि सामान्य घाइते रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका घाइतेमध्ये दुईजना उपचारपछि डिस्चार्ज भइसकेका छन् । दुर्घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *