तिहारमा ५० करोड रुपैयाँबराबरको फूलको व्यापार

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

यसपालिको तिहारमा लगभग ५० करोड रुपैयाँबराबरको फूलको माला बिक्री भएको छ ।फ्लोरिकल्चर एसोसिएसन नेपालसम्बन्धी पुष्प व्यवसायी दिलीप बाडेले यस वर्ष ४० लाख सयपत्री माला बिक्री भएको प्रारम्भिक अनुमान रहेको बताए । उनका अनुसार यस वर्ष सयपत्री फूल सालाखाला सय रुपैयाँका दरले ४० करोड रुपैयाँबराबरको व्यापार भएको हो ।

यसपटक सयपत्री फूल राम्रोसँग फक्रेका कारण लगभग सयपत्रीमा पनि आत्मनिर्भर देखिएको उनले बताए । उनका अनुसार मखमली फूलका ६ लाख माला बिक्री भएको छ ।यस वर्ष मखमली जापान, कोरिया, अस्ट्रेलिया, अमेरिकालगायतका नेपाली भाषी अधिक रहेका देशमा निर्यात भएको तथ्यांक छ । एसोसिएसनका अनुसार २ लाख माला निर्यात भएको छ ।

यसैगरी साउदी अरब, युनाइटेड अरब इमिरेटलगायतका खाडी मुलुकमा पनि १० हजार माला निर्यात भएको प्रारम्भिक अनुमान गरिएको छ ।प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले १६ किसिमका रोगमुक्त भएको प्रमाण नगरेसम्म आयातमा रोक लगाएका कारण सयपत्रीको फूल विधिवत रूपमा आयात भने नभएको जनाइएको छ ।

यद्यपि, भन्सार छलेर २ लाख मालाजति चोरी निकासी भएर सयपत्री फूल भारतबाट आयात भएको अनुमान रहेको छ । यसपटक तिहारका लागि फूल यथेष्ट मात्रामा काठमाडौंलगायतका सहरी इलाकामा आइपुगेका कारण फूलको मूल्य भने बढेको थिएन ।

गत १०, ११ र १२ असोजमा परेको अविरल वर्षाका कारण पुष्पखेतीमा समेत क्षति पु¥याएका कारण यथेष्ट मात्रामा फूल आयात नहुने अनुमान गरिएको थियो ।फूल फूल्ने समयमा भएको अविरल वर्षाले पुष्पखेतीमा क्षति पुगेको र गत वर्षको तुलनामा फूलको उत्पादन कम भएका कारण मूल्य बढ्ने आँकलन गरिए पनि बजार सन्तुलित देखिएको थियो ।

गत वर्षजस्तै अधिक फूल फुलेर बाटोमै फाल्नुपर्ने हो कि भनेर अनुमान गरिएकामा भारतबाट आयात नभएका कारण फूल खेर नगएको अनुमान गरिएको छ । यस वर्षको वर्षालगायतका यावत कारणले प्रतिमाला ८० देखि ८५ रुपैयाँ पर्ने अनुमान गरिए पनि प्रतिमाला सालाखाला सय रुपैयाँमा बिक्री भएको थियो । गत वर्ष एउटा मालालाई ६५ देखि ७० रुपैयाँसम्म परेको थियो । यस वर्षकोे उत्पादनले अबदेखि फूल विदेशबाट आयात गर्नुनपर्ने देखिएको एसोसिएसनले उल्लेख गरेको छ ।

भक्तपुर गुण्डुका राम कार्कीले यस वर्ष धेरै पानी परेकाले फूल राम्रो नभएको र एउटा मालाको २५ रुपैयाँसम्ममा बेच्दा घाटा परेको दुखेसो पोखे । प्रतिमाला मूल्य विगतको झैं यस वर्ष पनि २० देखि २५ रुपैयाँ नै रहेको बताए । आफूसँग किनेर लैजानेहरूले बढी नाफा खाने गरेको तर किसानलाई २५ रुपैयाँभन्दा बढी नदिने गरेको गुनासो उनको छ ।

अविरल वर्षाका कारण यसपटक करिब १५ करोड रुपैयाँको फूल नोक्सान भएको तथ्यांक रहेको छ । यद्यपि, सो नोक्सानीका बाबजुद पनि तिहारमा भने फूलको अभाव नभएको बताइएको छ ।गत वर्षको तिहारमा ३३ लाख माला खपत भएकामा यसपटक ४५ लाख माला खपत भएको थियो । बजार मागको ६० प्रतिशत फूल काठमाडौं उपत्यकामा प्रयोग हुने गरेको छ । चितवनमा यस वर्ष ४० बिघा क्षेत्रफलमा करिब ३ लाख माला सयपत्री उत्पादन भएको थियो ।

नेपालमा २००७ सालदेखि सुरु भएको पुष्प व्यवसाय कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा विस्तार भइसकेको छ ।नेपालमा अहिले व्यावसायिक रूपमा ४ सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । हाल ५२ जिल्लामा लगभग २ सय ६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय हुने गरेको छ भने १ हजार १ सय ७४ भन्दा बढी पुष्प व्यवसायी संलग्न रहेको यस व्यवसायमा ८ अर्ब ८३ करोडभन्दा बढीको लगानी रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

आर्थिक वर्ष २०७५–७६ मा फूलको वार्षिक कारोबार २ अर्ब ४२ करोड रुपैयाँ रहेकामा आव २०७९–८० मा ३ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको तथ्यांक छ । अघिल्लो वर्षको तुलनामा आव २०८०–८१ मा १९ दशमलव ८६ प्रतिशतले वृद्धि भई ३ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

एसोसिएसनका अनुसार आव २०७५–७६ मा ६० करोड ५९ लाख रुपैयाँको फूल आयात भएको थियो भने आव २०७९–८० मा ६८ करोड १८ लाख रुपैयाँको आयात भएको थियो ।यसैगरी, आव २०७५–७६ मा २३ करोड ७७ लाखको फूल निर्यात भएको थियो भने आव २०७९–८० मा ३३ करोड ६ लाख रुपैयाँको फूल निर्यात भएको थियो । भन्सार विभागको तथ्यांकनुसार गत आव २०८०–८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात कारोबार १ करोड २ लाख १२ हजार रुपैयाँ भएको थियो भने आयाततर्फ २७ करोड ७९ लाख ५ हजार रुपैयाँको कारोबार रहेको छ ।

नेपालमा व्यावसायिक रूपमा ४ सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले लाभ लिएको एसोसिएसनको तथ्यांक छ ।

साभार: राजधानी दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *