विशेष अदालतले आन्तरिक राजस्व स्टिकर छपाइमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र लगत अनुमान तयार पार्ने सफल श्रेष्ठलाई दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू खुसीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले राजस्व अनुसन्धान विभागसँग सम्झौता नगरी स्टिकर छपाइको प्रक्रिया अघि बढाएर व्यक्तिगत लाभ लिएको ठहर गरेको हो ।
उनीहरूले प्रिन्टसेललाई पेस्की भुक्तानी दिँदा तीन करोड २२ हजार ८०० हानी नोक्सानी पुर्याएको ठहर गर्दै इजलासले सजाय निर्धारणका लागि यही कात्तिक २५ गतेको पेसी तोकेको छ ।
यस्तै, राजस्व स्टिकर छपाइको परियोजना गलत नियतका अधिकारीमाथि मुद्दा लागेकै कारण नरोक्न पनि विशेष अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ ।
अर्याललाई भ्रष्टाचार मुद्दामा सफाइ
सुरक्षण मुद्रण केन्द्रमार्फत राजस्व स्ट्रिकर छपाइमा भ्रष्टाचार मुद्दा लागेका तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले अर्याललाई सफाइ दिएको हो ।
अर्यालले बैठक बसाल्ने क्रममा सामान्य त्रुटि गरे पनि सिंगो सरकारी सम्पत्ति दुरुपयोगमा तथ्य पुष्टि हुन नसकेको बुधबारको फैसलामा उल्लेख छ ।