सांस्कृतिक पर्व तिहार

मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपालमा वैदिक सनातन वर्णाश्रम धर्मका अनुयायीले वर्षभरि धेरै धार्मिक तथा सांस्कृतिक चाडपर्व मनाउने गर्छन् । वेदमा विभिन्न ऋतुमा अनुष्ठान गरिने वैदिक यज्ञहरूको विधान पाइन्छ । तिनको विस्तृत वर्णन ब्राह्मणग्रन्थमा र श्रौतसूत्रहरूमा गरिएको छ । पुराणहरूमा चाहिँ विभिन्न ऋतुमा मनाइने चाडपर्वको वर्णन छ । वैदिक यज्ञको अनुष्ठान गर्न जस्तो धेरै अध्ययन, ठुलो ज्ञान, निष्ठा र सामग्री चाडपर्व मनाउन आवश्यक पर्दैनन् । त्यसैले चाडपर्व सर्वसाधारण व्यक्तिका पनि रुचिका विषय हुन् ।

नेपालमा मनाइने चाडपर्वमध्ये केही वेदमूलक चाडपर्व पनि छन् भने धेरै जसो पौराणिक चाडपर्व देखिन्छन् । यहाँ प्रचलित चाडपर्वमध्ये जनैपूर्णिमा वैदिक ज्ञान र सदाचरणसित सम्बद्ध छ । त्यसै गरी नवरात्र र विजयादशमी शक्तिको आराधनासित सम्बद्ध छ । तिहार वा दीपावली धनधान्यको समृद्धिसित विशेष रूपले सम्बद्ध छ भने होली चाहिँ मनोरञ्जनसित सम्बद्ध छ । यसप्रकार नेपालका चाडपर्वका प्रकृतिमा विविधता पाइन्छ । कतिपय चाडपर्वमा धर्म संस्कृतिका साथै ऋतुचर्या अनुसारका खानपिनलाई पनि विशेष महत्व दिइएको देखिन्छ । गर्मी लाग्दा मनाइने अक्षय तृतीयामा शीतलता प्रदान गर्ने जौको सातु र खुदोपानी खाने तथा बाँड्ने गरिन्छ । त्यसै गरी जाडो समयमा आउने माघेसङ्क्रान्तिमा उष्णता प्रदान गर्ने घिउचाकु खाने गरिन्छ । कतिपय अन्य चाडपर्वमा पनि नेपालीले विशेष खानपिन गर्ने गर्छन् । दसैँमा सेलरोटी र तिहारमा सेल, अर्सा, अनर्सा, फिनी जस्ता विविध प्रकारका रोटी तथा थरी थरीका मिठाई बनाउने नेपालीको विशेषता हो । नेपालका विशेष क्षेत्रमा प्रसिद्ध र प्रचलित केही विशिष्ट चाडपर्व पनि छन् । जस्तै सुदूरपश्चिममा गौरा, तराईमा छठ, हिमाली क्षेत्रमा लोसार इत्यादि । यस्ता चाडपर्वमध्ये तिहार वा दीपावली पनि एउटा प्रमुख पौराणिक चाडपर्व हो । यसैलाई यमपञ्चक पनि भन्ने गरिएको छ ।

यमपञ्चक, तिहार वा दीपावली

शरद् ऋतुको अन्त्यमा पर्ने अर्थात् दसैँपछि आउने कृष्णपक्षको त्रयोदशीदेखि शुक्लपक्षको द्वितीयासम्मका पाँच तिथिलाई यमपञ्चक पनि भन्ने चलन नेपालमा छ । राणाशासनमा यमपञ्चकमा जुवा खेल्न छुट दिने चलन भएको तथ्य त्यस बेलाको मुलुकी ऐनबाटै स्पष्ट रूपमा बुझिन्छ । पछि पछिका पात्रोहरूमा पनि ‘यमपञ्चकारम्भ’ भनेर उल्लेख गर्ने गरिएको देखिन्छ तर कुनै पनि प्राचीन धर्मशास्त्रीय ग्रन्थमा वा पुराणहरूमा

‘यमपञ्चक’ को उल्लेख भएको चाहिँ देखिँदैन (द्रष्टव्य– वैदिक धर्म मूल रूपमा, शिवराज आचार्य कौण्डिन्न्यायन, स्वाध्यायशाला, प्र.सं. २०४५, तृतीय संस्करण २०८०, पृ.१०८७) ।

उक्त पाँच तिथिमा निशामुखमा (साँझमा) देव, ब्राह्मण, गाई, घोडा, श्रेष्ठ पुरुष, साना वा कान्छा नरनारी र मातालगायतका कुटुम्बका मान्य स्त्रीहरूको पनि नीराजन गर्नु पर्छ अर्थात् दीप बालेर त्यसले आरती गर्नु पर्छ भनेर निर्णयसिन्धुमा बताइएको छ :

आश्विने कृष्णपक्षे तु द्वादश्यादिषु पञ्चसु ।

तिथिषूक्तः पर्वरात्रे नृणां नीराजनो विधिः ।।

नीराजयेयुर् देवाँस्तु विप्रान् गाश्च तुरङ्गमान् ।

ज्येष्ठाञ् छ«ेष्ठाञ् जघन्याँश्च मातृमुख्याश्च योषितः ।।

–(निर्णयसागर प्रेसको संस्करण, पृष्ठ १४७, नेपाली अनुवादसहितको संस्करण, पृष्ठ ३९६)

सनत्कुमारीय कार्तिक माहात्म्यमा (११÷७–१३) पनि यो विधि बताइएको छ । किन्तु त्यहाँ आश्विनको सट्टा कार्तिक कृष्णपक्षमा उक्त कार्य गर्ने भनिएको छ– ‘कार्तिके कृष्णपक्षे तु द्वादश्यादिषु पञ्चसु’ इत्यादि । यसबाट एउटै महिना नै पूर्णिमान्त गणना (पूर्णिमामा समाप्त हुने चान्द्र मासको गणना) अनुसार र अमान्त गणना (अमावस्यामा समाप्त हुने चान्द्र मासको गणना) अनुसार फरक नामले उल्लेख गरिन्छ भन्ने बुझिन्छ । यसै भिन्नताले गर्दा महिनाको उल्लेख गर्दा उक्त श्लोकमा र अन्यत्र पनि एक महिनाको अन्तर पर्ने गरेको हो । माथि अमान्त गणना अनुसार आश्विन र पूर्णिमान्त गणना अनुसार कार्तिक महिनाको उल्लेख भएको हो । अतः उक्त दुवै श्लोकले भनेको आश्विन पूर्णिमापछि आउने कृष्णपक्ष नै हो भन्ने कुरा सबैले बुझ्नु पर्छ । उक्त श्लोकहरूमा द्वादशीदेखि पाँच दिनसम्म भनिए पनि प्रचलनमा चाहिँ त्रयोदशीदेखि उक्त कर्म गर्ने भन्ने मानिएको छ । तथापि यी पाँच दिनको यमपञ्चकसित सम्बन्ध भने देखिँदैन । लगातार पाँच दिनसम्म गरिने धेरै जसो कर्मको कुनै न कुनै रूपमा यमराजसित सम्बन्ध रहेको देखिएकाले यी पाँच दिनलाई पछि पछि यमपञ्चक भन्न थालिएको हुन सक्छ । यी पाँचै दिनलाई तिहार वा दीपावली पनि भन्ने चलन छ । तिहारको पहिलो दिन कागतिहार, दोस्रो दिन कुकुरतिहार, तेस्रो दिन गाईतिहार, चौथो दिन गोरुतिहार र पाँचौँ दिन भाइतिहार मान्ने गरिएको छ ।

तिहारको ऋतु र तिथि

तिहार शरद् ऋतुको अन्त्यमा पर्ने मानिएको छ तर आर्तव वर्ष छोटो र नक्षत्रबद्ध वर्ष लामो हुने हुँदा पञ्चाङ्ग गणना अनुसार ऋतु ६० वर्षमा एक दिन वरतिर सर्छ र लामो समयमा धेरै अन्तर पर्छ । यसलाई अयनचलन भन्छन् । यस अनुसार १५ सय वर्षअगाडि निर्धारित ऋतु प्रारम्भ हुने समयमा अहिले २४ दिनको अन्तर परेको छ । यसले सबै चाडपर्व निर्धारित ऋतुभन्दा पर पुगेका छन् । वेदाङ्गज्योतिषको कालगणनापद्धतिको प्रयोग गरेर यस्ता गडबडीलाई हटाउनु पर्छ भन्ने कुरा स्वाध्यायशालाले विगत तीन दशकदेखि व्याख्या गर्दै आएको छ ।

तिहारका पर्व मनाउने विषयमा बर्सैपिच्छे जस्तो विवाद देखा पर्ने गरेको छ । यस वर्ष लक्ष्मीपूजा कात्तिक १५ गते अथवा १६ गते गर्ने भन्ने विषयमा भारतमा व्यापक विवाद छ । नेपालको काठमाडौँ उपत्यकामा लगातार पर्व मनाउने अहोरात्रात्मक–वैदिक–तिथिगणनापद्धतिबाट प्रभावित परम्परा चलिआएको छ । चाडपर्वका निम्ति वैदिक अहोरात्रात्मक तिथि मान्ने पद्धति महत्वपूर्ण छ । काठमाडौँ उपत्यकाको दसैँतिहार पर्व अखण्ड रूपमा लगातार तिथि मानेर मनाउने प्रचलन महत्वपूर्ण प्राचीन वैदिक परम्परासँग जोडिएको छ । स्वाध्यायशालाबाट प्रकाशित वैदिक तिथिपत्रम् (वैदिक पात्रो) मा वैदिक तिथिहरू दिइएकाले त्यसबाट अखण्ड रूपमा चाडपर्व मनाउन सहयोग पुग्छ । त्यस अनुसार लक्ष्मीपूजा यस वर्ष कात्तिक १६ गते शुक्रबार पर्छ (वैदिक पात्रो, २०८१, पृ. ३७) । यसो गर्दा कुनै पर्व खप्टिएर एकै दिन पर्ने समस्या पनि हुँदैन र कुनै दिन खाली पनि हुँदैन । संस्कृति मन्त्रालय र पञ्चाङ्ग निर्णायक समितिले नेपालका यस्ता सांस्कृतिक गौरवका विशेषतालाई महत्व दिनु पर्छ ।

पूजाआजा र कर्मकाण्डको भाषा संस्कृत

वैदिक तथा पौराणिक कर्म गर्दा अर्थात् विभिन्न कर्मकाण्ड र पूजाआजा गर्दा देववाणीको (संस्कृत भाषा) नै प्रयोग गरेर गर्नुपर्ने नियम वा विधान छ । अन्यथा पूजाको पूर्ण फल पाइँदैन भन्ने शास्त्रीय उल्लेख पाइन्छ । हिन्दुहरूका कर्मकाण्डमा वैदिक वा पौराणिक मन्त्रहरूको प्रयोग अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ । तसर्थ पुरोहितका साथसाथै सबै हिन्दुले अलि अलि मात्र भए पनि संस्कृत भाषा सिक्न अत्यावश्यक छ । संस्कृत विशाल ज्ञानविज्ञानको भण्डार मात्र होइन, अपितु हिन्दुहरूको धार्मिक तथा सांस्कृतिक भाषासमेत हो । स्वाध्यायशाला कुटुम्बले नेपालमा वैदिक धर्म संस्कृतिको र संस्कृत भाषाको संरक्षण र संवर्धनमा महत्वपूर्ण योगदान दिन सम्बद्ध विषयका विभिन्न उपयोगी पुस्तकहरू प्रकाशित गर्दै आएको छ । तिनमा संस्कृत भाषा सिकाउने सरल पुस्तक पनि छन् । तिनको अध्ययनबाट सबैले लाभ लिन सक्छन् ।

कागतिहार र यमदीपदान

दसैँपछि आउने कृष्णपक्षको त्रयोदशीलाई कागतिहार मानी कागलाई बलि (भात, तिहुन र रोटी) दिने चलन नेपालमा छ तर यसै दिन यो कार्य गर्नु पर्छ भनेर विधान गर्ने कुनै शास्त्रको वचन फेला परेको छैन । काकबलि प्रत्येक दिन नै गर्नुपर्ने पौराणिक कर्म हो । यसै दिन साँझ यमलाई दीपदान गर्ने शास्त्रीय विधान भएकाले बिहान यमदूत मानिने कागलाई भोजन दिने चलन चलाइएको हुन सक्छ । कागहरूलाई बलि दिँदा उच्चारण गर्नुपर्ने पौराणिक मन्त्र वैदिकमन्त्रसङ्ग्र्रहमा (शिवराज आचार्य कौण्डिन्न्यायन, स्वाध्यायशाला, २०५२, पृ.११७) सङ्कलन गरिएको छ :

ऐन्द्रवारुणवायव्या याम्या वै नैऋतास्तथा ।

वायसाः प्रतिगृह्णन्तु भूमावन्नं मयाऽर्पितम् ।।

अर्थ– इन्द्र, वरुण, वायु, यम वा निऋति देवता भएका कागहरूले मैले भुइँमा समर्पण गरेको अन्न ग्रहण गरून् । यसै दिन साँझ ढोकाबाहिर यमलाई दीपदान गर्ने विधान छ । यसरी दीपदान गर्नाले अकालमा मृत्यु नहुने कुरा पुराणमा उल्लिखित छ :

कार्तिकस्याऽसिते पक्षे त्रयोदश्यां निशामुखे ।

यमदीपं बहिर् दद्यादपमृत्युर् विनश्यति ।। (स्कन्दपुराणको वचन, निर्णयसिन्धु, पृ. १४७ वा पृ.३९६)

उक्त वचनको अर्थ– कात्तिक महिनाको कृष्णपक्षको त्रयोदशी तिथिमा निशामुखमा अर्थात् रात पर्न खोज्दा (साँझमा) घरबाहिर यमलाई दीपदान गरोस्, यसबाट अपमृत्युको नाश हुन्छ (अकाल मृत्यु हुँदैन) । यमलाई दीपदान गर्दा भन्ने मन्त्रचाहिँ यो हो ः

मृत्युना पाशदण्डाभ्यां कालेन श्यामया सह ।

त्रयोदश्यां दीपदानात् सूर्यजः प्रीयतां मम ।। (द्रष्टव्य– वैदिकमन्त्रसङ्ग्र्रह, पृ.११७)

अर्थात् त्रयोदशीमा गरिएको यस दीपदानबाट मृत्यु, पाश, दण्ड, काल र कालिका साथ सूर्यपुत्र यमराज पनि ममाथि प्रसन्न होऊन् ।

धन्वन्तरि जयन्ती

यसै दिन (त्रयोदशीमा) वैद्यहरू आयुर्वेदका आचार्य धन्वन्तरिको जयन्ती मनाउँछन् । विश्वमा प्रचलित उपचारपद्धतिमध्ये सबैभन्दा पुरानो उपचारपद्धति आयुर्वेद हो । अचेल यो उपचारपद्धति विश्वभरि नै लोकप्रिय हुँदै गएको छ । आयुर्वेदले व्याख्या गरेको कुनै पनि सद्धान्तलाई आधुनिककालमा संसारभरि भएको अहिलेसम्मको लामो परीक्षणले पनि गलत साबित गरेको देखिँदैन । यसबाट आयुर्वेदको ज्ञान शाश्वत र अनुसरणीय भएको पुष्टि हुन्छ । आदिकालमा आयुर्वेदशास्त्रको प्रवचन ब्रह्माबाट भएको थियो । ब्रह्माबाट दक्षप्रजापतिले, दक्षप्रजापतिबाट अश्विनीकुमारहरूले, अश्विनीकुमारहरूबाट इन्द्रले र इन्द्रबाट धन्वन्तरिले आयुर्वेदको ज्ञान प्राप्त गरेको कुरा सुश्रुतसंहितामा उल्लिखित छ । यसै ग्रन्थमा धन्वन्तरिको अवतारका रूपमा भूलोकमा अवतीर्ण भएका काशीराज दिवोदासले उपदेश गरेको आयुर्वेदको सुश्रुत इत्यादिले लोकमा प्रचार गरेको कुरा वर्णन गरिएको छ ।

नरकचतुर्दशी र कुकुरतिहार

यस चतुर्दशीमा बिहानै झिसमिसेमा आफ्ना शरीरमा तेल घसेर काँडासहित उखेलिएको, पात, जरा र माटोसमेत भएको अपामार्गको (दतिवन) बोट शिरको (टाउकोे) वरिपरि बारम्बार घुमाएर त्यो अपामार्ग फालेर स्नान गर्ने र नरकप्रीतिका लागि चार बातीले बनाएको दीप बालेर नदीमा बगाउने शास्त्रीय विधान छ । यस कर्मलाई नरकचतुर्दशीको कृत्य (कार्य) भन्दछन् । स्नान गर्ने बेलामा उक्त प्रकारको अपामार्ग घुमाउँदा भन्ने पौराणिक मन्त्र यस प्रकारको छ :

सीतालोष्टसमायुक्त सकण्टकदलान्वित ।

हर पापमपामार्ग भ्राम्यमाण पुनःपुनः ।। (वैदिकमन्त्रसङ्ग्रह, पृ.११७)

अर्थात् भूमिको माटोले सहित भएको, काँडा र पातले पनि सहित भएको, बारम्बार घुमाइँदै गरेको हे दतिवन, पापलाई हरण गर । सम्पूर्ण पापको नाश गरेर नरकबाट बच्न नरकप्रीतिका लागि दीप प्रज्वलित गरेर नदीमा बगाउने मन्त्र :

दत्तो दीपश् चतुर्दश्यां नरकप्रीतये मया ।

चतुर्वर्तिसमायुक्तः सर्वपापापनुत्तये ।। (वैदिकमन्त्रसङ्ग्रह, पृ.११७)

नेपालमा यसै दिनलाई कुकुरतिहार भन्ने र कुकुरलाई विशेष रूपमा भात र अन्य खानेकुरा खान दिने प्रचलन छ । यसै दिन श्वपूजा (कुकुरपूजा) गर्नु पर्छ भन्ने विशेष विधान चाहिँ कुनै पनि प्रामाणिक शास्त्रीय ग्रन्थमा देखिएको छैन । श्वबलि पनि प्रत्येक दिन नै गर्नुपर्ने पौराणिक कर्म हो । अरू दिन कुकुरलाई बलि (खाना) नदिनेले पनि यस दिन बलि दिने गर्छन् । कुकुरलाई बलि दिँदा भन्ने पौराणिक मन्त्र :

शुनकौ श्यामशबलौ वैवस्वतकुलोद्भवौ ।

ताभ्यामन्नं प्रयच्छामि स्यातां मे तावहिंसकौ ।। 

(वैदिकमन्त्रसङ्ग्रह, पृ.११७)

अर्थात् वैवश्वतका कुलमा जन्मेका कालो र छिर्केमिर्के दुई कुकुरलाई म अन्न दिन्छु, उनीहरू मेरा निम्ति अहिंस्रक बनून् ।

बलिराज्यत्रिरात्र (तिहार)

शरद् ऋतुको अन्त्यमा पर्ने चतुर्दशी, औँसी र शुक्लप्रतिपदाका तीन वटा तिथिलाई बलिराज्यत्रिरात्र भन्दछन् । नेपाली भाषाको तियार वा तिहार शब्द संस्कृतको त्रिरात्र शब्दबाट अपभ्रंश भएर बनेको हो । यी तीन तिथिमा राजाले सबैलाई इच्छा अनुसार खेल्न र उत्सव गर्न अनुरोध गर्नु पर्छ, चतुर्दशीदेखि नै तीन दिनसम्म सबैले साँझमा घरमा र देवताका मन्दिरमा पनि दीपावली गर्नु पर्छ तथा औँसीमा निशामुखमा (साँझमा) लक्ष्मीपूजा गर्नु पर्छ भन्ने नियम पुराणमा छ । त्यसैले मुख्य रूपमा चतुर्दशीको दीपमालिका, औँसीको लक्ष्मीपूजा र प्रतिपदाको गोवर्धनपूजाका तीन दिनलाई तिहार वा दीपावली भन्नुपर्ने हो । निर्णयसिन्धुमा यस्तो लेखिएको छ– ‘मात्स्ये– दीपैर् नीराजनादत्र सैषा दीपावली स्मृता’ अर्थात् मत्स्यपुराणमा ‘दीपहरूद्वारा महालक्ष्मीको आरती गरिने भएकाले यस औँसीलाई दीपावली भन्ने गरिएको हो’ (निर्णयसागर प्रेसको संस्करण, पृष्ठ १४९, नेपाली अनुवादसहितको संस्करण, पृष्ठ ४०२) । कागतिहार र भ्रातृद्वितीया वा भाइटीका चाहिँ उक्त तीन दिनभन्दा अतिरिक्त हुन् ।

लक्ष्मीपूजा

नेपालीले धनधान्यको समृद्धिका लागि तिहारमा निकै महत्व दिएर लक्ष्मीपूजा गर्छन् । लक्ष्मीपूजा गर्दा अन्य पूजामा झैँ सर्वप्रथम दियो बालेर दीपपूजा गरिन्छ । त्यसपछि कलश स्थापना गरेर कलशमा वरुणको पूजा गरिन्छ । त्यसपछि गणेशको आवाहन गरेर गणेशको पूजा गरिन्छ । अनि कलशमा पाञ्चायन देवता, पञ्चलोकपाल, नवग्रह इत्यादिको पूजा गरिन्छ । त्यसपछि मुख्य पूजाका रूपमा महालक्ष्मीको र अङ्गपूजाका रूपमा इन्द्रको पूजा गरिन्छ । साथै इन्द्रका समीपमा रहेका कुबेरको पनि यस अवसरमा पूजा गरिन्छ । महालक्ष्मीको पूजा गर्दा कलशको मुखमा तामाको थाली राखेर त्यहाँ महालक्ष्मीको प्रतिमा र सुनका गरगहनाको पोको राखेर पूजा गरिन्छ । यस अवसरमा महालक्ष्मीलाई आसन, अर्घ (पूजा सत्कारका निम्ति दिइने जल), पाद्य (पाउ धुन दिइने जल), पञ्चामृत, आचमनीय, वस्त्र, शृङ्गारका सामग्री, चन्दन, अक्षता, फूल, धूप, दीप, नैवेद्य इत्यादि चढाइन्छ । महालक्ष्मीलाई फूल विशेष गरेर नीलकमल चढाउनुपर्ने विधान छ । महालक्ष्मीलाई दीपदान गर्दा भन्नुपर्ने मन्त्र यो हो :

मार्तण्डमण्डलाखण्डचन्द्रबिम्बाग्नितेजसः ।

गृहाण देवी दीपान् मे निर्मितान् श्वेतवर्तिभिः ।। 

(वैदिकमन्त्रसङ्ग्रह, पृ.११७)

मन्त्रको अर्थ यस प्रकार छ, “हे लक्ष्मी देवी, सूर्य, चन्द्र र अग्निको तेज लिएर सेता बातीले बनाइएका मेरा यी दीप ग्रहण गर्नुहोस् ।”

गोवर्धनपूजा

प्रतिपदामा गोवर्धनको प्रतिमा बनाएर बिहान पूजा गर्ने कुरा पुराणहरूमा बताइएको छ । गोवर्धनको पूजा गर्दा प्रयोग गरिने मन्त्र यस प्रकारको छ :

गोवर्धन धराधार गोकुलत्राणकारक ।

विष्णुबाहुकृतोच्छ«ाय गवांकोटिप्रदो भव ।। (द्रष्टव्य– वैदिकमन्त्रसङ्ग्रह, पृ.११८)

अर्थात्– “हे गोकुलका रक्षक, विष्णुका बाहुद्वारा उचालिएका, गोवर्धन पर्वत, तपाईं करोडौँ गाईका दाता हुनुहोस् ।”

नेपालका नेवार समुदायले यसै शुक्लपक्षका प्रतिपदामा बेलुका म्ह–पूजा (आत्मपूजा) गर्छन् । यो महत्वपूर्ण पौराणिक कर्म हो । यो केवल लोकसंस्कृति मात्र नभएर शास्त्रीय संस्कृति पनि हो (द्रष्टव्य– वैदिक धर्म मूल रूपमा, शिवराज आचार्य कौण्डिन्न्यायन, स्वाध्यायशाला, तृतीय संस्करण २०८०, पृ.१०८९) । तथापि यस्तो प्रचलन नेपालका अन्य समुदायमा भने पाइएको छैन ।

यसै दिन बाटामा मार्गपाली (तोरण) टाँग्नु पर्छ र त्यसमुनिबाट हात्ती, घोडा, गाई, गोरु, भैँसी र राँगाहरू हिँडाउनु पर्छ भन्ने पनि छ । यसै दिन भर्खरै गएको एकादशीमा भुटिएका मकैको सातु बनाएर त्यसमा नुन र ढुटो मिलाई पिँडो बनाएर गाई, गोरु, भैँसीहरूलाई खुवाउने, तिनलाई पिठिउँमा रातासेता पिठोका लेताका चव्रmहरू बनाएर सिँगार्ने, सिङ, कानहरूमा तेल हालिदिने, माला लगाइदिने र गाई, गोरु, भैँसी सबै वस्तुभाउलाई नुन हालेको मकैको कुँडो अघाउन्जेल खान दिने पनि कृषिप्रधान जीविका भएका नेपालीको प्रथा रहेको देखिन्छ । यो पुराणमा उल्लिखित गोक्रीडाको नै देशधर्मको अनुरूप प्रयोग हो भन्ने बुझिन्छ ।

सनत्कुमारीय कार्तिक माहात्म्य अनुसार यसै दिन दिउँसो नै बलिराजाको पूजा गरेर गोक्रीडोत्सव पनि गर्नुपर्ने मानिएको छ । अन्य थुप्रै ग्रन्थका मतमा चाहिँ दिउँसो गोक्रीडोत्सव गरेर रातमा घरमा विन्ध्याबलिसहित बलि राजाको पूजा गर्नुपर्ने देखिन्छ । यी तीन दिन पासा खेलेर वा नाचगान बजान गरेर रमाइलो गर्नु पर्छ, मिठो खानु पर्छ र राम्रो लगाउनु पर्छ भन्ने पनि मान्यता छ । यस अवसरमा रमाइलो गर्नेहरूको वर्ष रमाइलोमै बित्ने र रमाइलो नगर्नेहरूको वर्ष नरमाइलोमै बित्ने कुरा पनि पुराणहरूमा गरिएको पाइन्छ ।

यस बलिराज्य–त्रिरात्रोत्सवलाई वा यसको मुख्य दिन अमावस्याको उत्सवलाई कौमुदी–महोत्सव वा कौमोदिनी–महोत्सव र सुखरात्रि पनि भन्छन् । यसैलाई दीपमालिका, दीपावली र दीपोत्सव पनि भन्ने चलन छ । नेपालमा औँसीलाई नै गाईतिहार भनी गाईलाई लक्ष्मी मानेर गाईको पूजा पनि गर्छन् र जनैपूर्णिमाका दिन नाडीमा बाँधेको रक्षाबन्धनको डोरो फुकाएर गाईका पुच्छरमा बाँधिदिने पनि गर्छन् । नेपालमा तिहारमा लक्ष्मीपूजाका दिन युवतीहरूले भैलो खेल्ने र त्यसको भोलिपल्ट युवकहरूले देउसी खेल्ने चलन छ ।

भ्रातृद्वितीया वा भाइतिहार

गोवर्धनपूजाको भोलिपल्टको शुक्लपक्षको द्वितीयालाई भ्रातृद्वितीया वा यमद्वितीया वा भाइतिहार पनि भन्दछन् । यस दिन यमुना नदीमा नुहाउनाले र यमको पूजा गर्नाले यमलोक देख्न पर्दैन भन्ने कुरा पद्मपुराणमा बताइएको छ । यमुनाले यसै दिन आफ्ना दाजु यमको स्वागत सत्कार गरी यमलाई आफ्ना घरमा भोजन गराएको र यमले यमुनालाई पनि लुगा र गरगहना दिएर सत्कार गरेको भन्ने कथा पनि पुराणहरूमा आएको छ । स्मृतिपुराणहरूमा कमलदेखिबाहेक अरू राता फूलको माला लगाउनु अकल्याण सूचक मानिएको छ । तसर्थ तिहारमा पहेँला सयपत्रीका माला लगाउने गर्नु उचित हुन्छ ।

यस दिन दाजुभाइले दिदीबहिनीको निम्ता पाएर वा नपाईकन पनि स्वेच्छाले नै दिदीबहिनीका घर गएर तिनका हातबाट भोजन गर्नू, दिदीबहिनीले दाजुभाइलाई तेल घसी बुकुवा लगाएर नुहाइदिएर सिँगारेर माला लगाइदिएर गच्छे अनुसार मिठो पक्वान्न भोजन गराउनू र सत्कार गर्नू, दाजुभाइले पनि दिदीबहिनीलाई लुगा र गरगहना दिएर सत्कार गर्नू भन्ने विधान स्कन्दपुराणमा र अरू पुराणहरूमा पनि पाइन्छ । यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायुष्यका निम्ति यमुनासहित यमराजको पूजा गर्ने गर्छन् । यस अवसरमा दिदीबहिनीले दाजुभाइलाई खानेकुरा दिँदा भन्ने मन्त्र यस्तो छ :

भ्रातस् तवानु(ग्र)जाताऽहं भुङ्क्ष्व भोज्यमिदं शुभम् ।

प्रीतये यमराजस्य यमुनाया विशेषतः ।। 

(द्रष्टव्य– वैदिकमन्त्रसङ्ग्रह, पृ.११८)

यस मन्त्रको अर्थ यस्तो छ, “हे दाजु (भाइ) तपाईं (तिमी) भन्दा पछि (पहिला) जन्मिएकी अर्थात् तपाईंकी बहिनी (तिम्री दिदी) म हुँ, यमराजको र विशेष रूपले यमुनाको प्रीतिका लागि यो शुभ भोज्य पदार्थ खानुहोस् (खाऊ) । दिदीले भाइलाई खानेकुरा दिँदा ‘भ्रातस् तवाग्रजाताऽहम’ र बहिनीले दाजुलाई खानेकुरा दिँदा ‘भ्रातस् तवानुजाताऽहम’ भन्नु पर्छ । वैदिक तथा पौराणिक कर्म देववाणीको अर्थात् संस्कृत भाषा नै प्रयोग गरेर गर्नुपर्ने नियम वा विधान छ ।

उपसंहार

हाम्रा चाडपर्वले धर्म संस्कृतिको संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने हुनाले यिनको हामीले सकेसम्म शास्त्र अनुसार नै अनुसरण गर्ने प्रयास गर्नु पर्छ । साथै नयाँ पुस्ताका युवामा पनि आफ्ना धर्म, संस्कृति, परम्परा, रीतिथिति, चाडपर्व, खानपान इत्यादिमा रुचि जगाएर तिनको संरक्षण गर्ने काममा उनीहरूलाई संलग्न गराउनु पर्छ ।

आमोदवर्धन कौण्डिन्न्यायन  ,  साभार गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *