तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ४ दशमलव ८ प्रतिशत

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

चालू आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिकमा नेपालको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) ४ दशमलव ८ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विद्युत् उत्पादन, निर्माण, वित्तीय सेवा, खानी तथा खनिज उत्खननजस्ता क्षेत्रमा देखिएको उल्लेखनीय सुधारले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको हो ।

यस त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि, निर्माण क्षेत्रमा भएको वृद्धि, वित्तीय तथा बिमा क्षेत्रमा भएको वृद्धिलाई प्रमुख कारक मानिएको छ । खानी तथा खनिज पदार्थ उत्खननमा भएको वृद्धिलाई पनि प्रमुख कारक मानिएको छ । चालू आवको माघ, फागुन र चैतको तेस्रो त्रैमासमा प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक क्षेत्र सबैमा धनात्मक वृद्धिदर रहेको अनुमान छ ।

खासगरी यस अवधिमा शिक्षा क्षेत्र, पानी तथा फोहोर व्यवस्थापन, आवास तथा भोजन क्षेत्रमा उल्लेख्य वृद्धि हुन नसकेकाले अर्थतन्त्रको वृद्धिदर सामान्य रहन गएको अनुमान रहेको छ । त्रैमासिक कुल ग्रार्हस्थ उत्पादन आधारभूत मूल्यमा चालू आव २०८१–८२ को दोस्रो त्रैमासिकको तुलनामा चालू आव २०८१–८२ को तेस्रो त्रैमासिकमा शून्य दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ ।

चालू आवको दोस्रो त्रैमासिकको तुलनामा चालू आवको तेस्रो त्रैमासिकमा प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक क्षेत्रमध्ये तीनवटा क्षेत्र (यातायात तथा भण्डारण, वित्तीय तथा बिमा र आवास तथा भोजन क्षेत्र)मा भएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिका कारणले समग्र कुल ग्रार्हस्थ्य उत्पादन झिनो अंकले मात्र वृद्धि हुने अनुमान गरिएको हो ।

यद्यपि, विद्युत् उत्पादन तथा वितरण क्षेत्रमा भने अन्य क्षेत्रको तुलनामा धेरै वृद्धि हुने अनुमान गरिएको छ । मौसमी प्रभाव समायोजित त्रैमासिक वृद्धिलाई हेर्दा चालू आव २०८१–८२ को दोस्रो त्रैमासिक (कात्तिक, मंसिर र पुस)को तुलनामा चालू आव २०८१–८२ को तेस्रो त्रैमासिक (माघ, फागुन र चैत)को प्रारम्भिक अनुमानअनुसार प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक क्षेत्रमध्ये १५ वटाको उत्पादन बढेको देखिन्छ भने तीनवटा औद्योगिक क्षेत्रको उत्पादन घटेको देखिन्छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार विद्युत् उत्पादन तथा ग्यास क्षेत्रमा सबैभन्दा बढी ५ दशमलव ५ प्रतिशत वृद्धि हुने र यस क्षेत्रलाई पछ्याउँदै अन्य सेवा क्षेत्रको वृद्धिदर २ दशमलव ५ प्रतिशत रहने अनुमान गरिएको छ । यस अवधिमा अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर शून्य दशमलव ७ प्रतिशत रहन गएको छ भने समग्र अर्थतन्त्रको वृद्धिदर शून्य दशमलव ६ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ ।

ऋणात्मक वृद्धि हुने तीनवटा औद्योगिक क्षेत्रहरूमध्ये सबैभन्दा धेरै यातायात तथा भण्डारण क्षेत्रको ऋणात्मक वृद्धिदर (३ दशमलव ३ प्रतिशत), त्यसपछि वित्त तथा बिमा क्षेत्रको ऋणात्मक वृद्धिदर (१ दशमलव ६ प्रतिशत) र आवास तथा भोजन क्षेत्रको ऋणात्मक वृद्धिदर (शून्य दशमलव ८ प्रतिशत) रहेको छ ।

चालू आव २०८१–८२ को तेस्रो त्रैमासिक र अघिल्लो आव २०८०–८१ को तेस्रो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा अर्थतन्त्रका सबै १८ वटा औद्योगिक क्षेत्रको कुल मूल्य अभिवृद्धि दर धनात्मक रहेको छ । जसमध्ये विद्युत् उत्पादन तथा वितरणसँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर (१२ दशमलव ५ प्रतिशत) रहेको छ भने निर्माण क्षेत्रमा ६ दशमलव ९ प्रतिशत, खानी तथा खनिज पदार्थ उत्खनन र वित्तीय तथा बिमा क्षेत्रमा ६ दशमलव ७ प्रतिशत वृद्धि रहने प्रारम्भिक अनुमान गरिएको छ ।

त्यसैगरी, सूचना तथा सञ्चार क्षेत्रमा ६ दशमलव ६ प्रतिशत, यातायात तथा भण्डारण क्षेत्रमा ६ दशमलव ३ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा ६ दशमलव २ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पु¥याउने कृषि क्षेत्रको वृद्धिदर ३ दशमलव ६ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । हिउँदेबाली, तरकारीबाली तथा केही नगदेबालीको उत्पादनमा भएको सामान्य वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

अर्कोतर्फ, अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्रको चालू आव २०८१–८२ को तेस्रो त्रैमासिकमा कृषि तथा व्यापारजन्य वस्तुहरूको स्वदेशी उत्पादनमा भएको वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको वृद्धिका कारणले गर्दा व्यापार क्षेत्रको वृद्धि ५ दशमलव ६ प्रतिशत हुने अनुमान गरिएको छ । त्यसैगरी, गत आवको तेस्रो त्रैमासिकको तुलनामा चालू आवको तेस्रो त्रैमासिकमा औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएका कारण उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धि ६ दशमलव २ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।

यस त्रैमासिकमा शिक्षा क्षेत्रको वृद्धि २ दशमलव ३ प्रतिशत, पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन क्षेत्रको वृद्धि २ दशमलव ४ प्रतिशत, आवास तथा भोजन क्षेत्रको वृद्धि २ दशमलव ५ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । नेपालको आर्थिक वृद्धिदर विगतमा कहिले बढ्ने, कहिले घट्ने गरेको भए तापनि आव २०७९–८० देखि सुधारात्मक रूपमा निश्चित दिशा तय गर्न खोजेको देखिएको छ ।

कृषि क्षेत्रको योगदान उल्लेखनीय
सबैभन्दा धेरै योगदान दिने कृषि, वन तथा मत्स्य क्षेत्रमा पनि ३ दशमलव ६ प्रतिशत वृद्धिदर देखिएको छ । हिउँदेबाली, तरकारी र नगदेबाली उत्पादनमा देखिएको सुधार यसको मुख्य कारण मानिएको छ । व्यापार क्षेत्र पनि ५ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ, जसको श्रेय स्वदेशी उत्पादन वृद्धि र प्रमुख वस्तुहरूको आयात वृद्धिलाई दिइएको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि सन्तोषजनक वृद्धि
शिक्षा क्षेत्रमा २ दशमलव ३ प्रतिशत र स्वास्थ्य क्षेत्रमा ४ दशमलव ७ प्रतिशतको वृद्धि अनुमान गरिएको छ । यद्यपि, शिक्षा क्षेत्रमा विगतको तुलनामा वृद्धि दर केही कम रहेको देखिन्छ । राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार आर्थिक वृद्धिका यी प्रारम्भिक तथ्यांकहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको हो ।

उनले भने, ‘त्रैमासिक जीडीपीको मूल्यांकनले नीति निर्माण, योजना निर्माण र आर्थिक पूर्वानुमानका लागि मार्गदर्शन प्रदान गर्छ ।’ हालको वृद्धिदर विगतको तुलनामा सुधारको संकेत भए पनि वृद्धिको दर अझ स्थिर र दिगो बनाउन उद्योग, व्यापार, वित्त र पूर्वाधार क्षेत्रमा लगानीको खाँचो देखिएको छ । साथै, ऋणात्मक वृद्धि देखिएका क्षेत्रमा पुनरावलोकन आवश्यक देखिएको छ ।

विगत ३ वर्षको तुलनामा नेपालको आर्थिक वृद्धिमा केही स्थायित्व देखिए पनि वृद्धिदर अझै सन्तोषजनक तहमा पुगेको छैन । विशेषतः सेवा र बैकिङ क्षेत्रको ऋणात्मक प्रवृत्ति र शिक्षा–स्वास्थ्य क्षेत्रमा कम वृद्धि चुनौतीका रूपमा देखिन्छ । उता, विद्युत्, निर्माण र कृषिमा देखिएको प्रगति भने भविष्यप्रति आशावादी संकेतका रूपमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *