वीर अस्पतालले शल्यक्रियाबाट नमिलेको टाउको मिलायो

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अस्पतालले डिजिटल प्रविधिबाट शल्यक्रिया गरी नमिलेको टाउको मिलाएको छ ।  अस्पतालले प्युठानकी एक वर्षीया बालिकाको डिजिटल प्रविधिबाट शल्यक्रिया गरेर नमिलेको टाउको मिलाएको हो ।

अस्पतालका मुख तथा अनुहार शल्य चिकित्सक डा.किशोर भण्डारीले अस्पतालको न्युरो सर्जरी विभाग र क्रोनिया–मेग्जिलोफेसियल सर्जरी विभागको सहकार्यमा उक्त शल्यक्रिया गरिएको जानकारी दिए  । अस्पतालले तीन वर्ष अघि पनि डिजिटल प्रविधिबाट यस्तै प्रकृतिका शल्यक्रिया गरेको डा भण्डारीको भनाइ छ । उनले भने ,“अस्पतालमा तीन वर्षअघि एक बालिकाको अमिल्दो हड्डीको शल्यक्रिया गरिएको थियो।”

डा. भण्डारीका अनुसार अस्पतालले छ घण्टा लगाएर बालिकाको अनुहार र निधारको भागको खप्पर निकालेर शल्यक्रिया गरी पुनः मिलाएर राखेको हो । उनका अनुसार बालिका उपचारपछि निको भएर घर फर्किसकेकी छन् ।  एक वर्षीय बालिकाको टाउको र देब्रेपटिको आँखाका भाग असामान्य देखिएपछि उपचारको लागि अस्पताल पुर्‍याइएको थियो । डा भण्डारीका अनुसार यस्ताे समस्यालाई मेडिकल भाषामा “क्रेनियोसिनोटोस्टोसि” भनिन्छ ।

“क्रेनियोसिनोटोस्टोसि”  कस्तो समस्या हो ?

चिकित्सकका अनुसार क्रेनियोसिनोस्टोसि जन्मजात अवस्था हो ।  क्रेनियोसिनोटोस्टोसि रोग २५ सय बच्चा जन्मिएकोमा एक जनामा देखिने वीर अस्पतालका न्युरो सर्जन डा.राजीव झा बताउछन् ।

डा.झा का अनुसार बालबालिका जन्मिदा टाउको खोपडीको भागमा खुल्ला हुने गर्छ । खुल्ला भएको भागमा टाउको तथा मस्तिष्कको विकास हुँदै जान्छ । यस्तो समस्या भएको शिशुको समयभन्दा पहिले नै टाउकोमा भएको खुल्ला भाग बन्द भई टाउकोको बनावट असामान्य आकृति हुनुका साथै मस्तिष्कको विकासमा समेत असर पुग्ने डा.झा बताउछन् ।

यदि यो समस्याको समयमै उपचार नगरेमा टाउकाको बनावट असामान्य हुने, अमिल्दो अनुहार देखिने, मस्तिष्कमा चाप बढेर सास फेर्न अप्ठेरो हुने, आँखामा हेर्न समस्या हुने जस्ता जटिल समस्या देखिने डा.झाको भनाइ छ । उनका अनुसार, “यदि यो रोग लागेर टाउकाको वृद्धिमा अवरोध भएर टाउको लामो र साँघुरो हुने, असमान रूपमा टाउको ठुलो देखिने, टाउको त्रिकोणात्मक आकार हुने, टाउको छोटो र फराकिलो हुने जस्ता लक्षण देखिन सक्छन् ।”

यस्तो रोग देखिएका रोग देखिएको तीनदेखि आठ महिनाभित्र शल्यक्रिया गरिसक्नुपर्छ ।यो समस्याको शल्यक्रिया समयमै नभएमा बालबालिकाको मस्तिष्क साँघुरो भएर मानसिक अवस्थामा नकारात्मक प्रभाव पर्ने डा.झा बताउछन् ।

यस्तो समस्याको समयमा नै उपचार गरेमा शिशुको हड्डी नरम हुने भएकाले हड्डीलाई पुन आकार दिन सहज हुने ,शिशुमा यस्तो समस्या किन आउँछ भन्ने यकिन कारण नभएको ,  कारण थाहा नपाए पनि वंशाणुगत समस्या, गर्भावस्थामा बच्चाको स्थितिमा समस्या र केही औषधीको प्रयोगका कारण यस्ता समस्या आउन सक्ने उनको अनुमान छ।

यो रोग समस्या सिटी स्क्यान, एआरआई वा अल्ट्रासाउन्ड गरेर पत्ता लगाउन सकिन्छ । यो रोग समयमानै उपचार गरेमा बच्चाको शारीरिक र मानसिक विकास सामान्य रहने , यदि शिशुको टाउको असमान देखिएको छ वा विकास रोकिएको छ भने जति सक्दो चाँडो बाल रोग विशेषज्ञसँग परामर्श गर्न चिकित्सकको सुझाव लिनु जरुरी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *