हाइटेन्सन टावरमा चढेका युवकको सकुशल उद्धार

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

 सीमा जोडिएको सिराहाको कर्जन्हा नगरपालिका–१, स्थित बन्दिपुर–बाबाताल सडकखण्डमा रहेको हाइटेन्सन लाइनको टावरमा चढेका एक युवकको प्रहरीले उद्धार गरेको छ। सिराहा प्रहरीका अनुसार बुधबार बिहान करिब ७ बजे स्थानीयवासीले युवकलाई टावरमा चढेको देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए। सूचना प्राप्त लगतै घटनास्थल पुगेका प्रहरीले नेपाल विद्युत प्राधिकरण ढल्केबर ग्रिड शाखाका प्राविधिक कर्मचारीको सहयोगमा १० बजे युवकको सकुशल उद्धार गरेको हो।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक सन्तोष बुढाथोकीका अनुसार ती युवक हाइटेन्सन लाइनको टावरको माथिल्लो भागसम्म चढेका थिए। जसले गर्दा उद्धार कार्य जोखिमपूर्ण बनेको थियो। करिब तीन घण्टाको प्रयासपछि उनलाई सकुशल झार्न सफल भएको उनले बताए ।

उनले भने  “उद्धार गरिएका युवकको नामथर ठेगाना खुलेको छैन। मानसिक सन्तुलन समेत बिग्रिएको अनुमान गरिएको छ।” युवकलाई मिर्चैयास्थित सरकारी अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षण तथा उपचारका लागि भर्ना गरिएको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए ।

युवक बोल्न सक्ने अवस्थामा छैनन्। प्रहरीलाई ‘सुभाष यादव’ भनेर कागजमा लेखेर देखाएका छन्। उक्त नाम उनको हो कि अरु कसैको हो भन्ने विषयमा प्रष्ट भइसकेको छैन। युवकको मानसिक अवस्था र पहिचान खुलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *