खुम्बुका १५ सय ठाउँमा अग्नि नियन्त्रण प्रणाली जडान

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

सोलुखुम्बुमा सडक पहुँच नपुगेका कारण दमकलको प्रयोग गर्न नसकिने विकट हिमाली स्थानीय तह खुम्बु पासाङल्हामु गाउँपालिकाले अग्नि नियन्त्रणको फायर हाइड्रेन्ड प्रणाली जडान गरेको छ । पालिकाका ५ वटै वडाका हरेक टोलमा अग्नि नियन्त्रणका लागि प्रभावकारी प्रविधि जडान गरी स्थानीयलाई तालिमसमेत दिइएको हो ।

पालिकामा संचालित सबै खानेपानी योजनामा यो अग्नि नियन्त्रण प्रणाली जडान गरिएको हो । लुक्लादेखि खुम्जुङसम्म नै करिब १५ सयको संख्यामा यो प्रणाली जडान गरिएको छ । ‘स्थानीय सरकारले अग्नि नियन्त्रणका लागि प्रविधि व्यवस्थापन गरेसँगै टोल–टोलमा जनचेतना र तालिमसमेत दिइएको छ,’ पालिका अध्यक्ष मिङमा छिरी शेर्पाले भने, ‘आगलागी भइहालेमा अन्यत्र फैलन नदिन र भौतिक तथा मानवीय क्षति न्यूनीकरणका लागि यो उपाय पालिकाले निकालेको हो ।’

खुम्बु प्रवेश गर्नासाथ चौंरीखर्कदेखि खुम्जुङसम्मका हरेक टोल बस्तीमा यो प्रणाली जोडिएको छ । यही प्रविधिले गत साल लुक्लामा लागेको आगो पनि नियन्त्रणमा आएको पालिका अध्यक्ष शेर्पाको भनाइ छ ।

पालिकाले नेपालकै अति व्यस्तभित्र पर्ने तेन्जिङ हिलारी विमानस्थल लुक्लामा पनि यो प्रणाली जडान गरी त्यहाँ तालिमसमेत दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले बताए । खानेपानीका हरेक ट्यांकीबाट छुट्टै हाई प्रेसर पाइप व्यवस्थापन गरी बस्तीको बीच–बीचमा यो प्रणाली जोडिएको पालिकाका इन्जिनियर दीपकुमार बस्नेतले बताए । उनका अनुसार उच्च गतिमा आउने पानीको प्रेसरले दमकलले जत्तिकै काम गर्ने र एउटा विन्दुबाट ३० मिटरसम्म पानीको फोहोरा फाल्न सकिने भएकाले पनि अग्नि नियन्त्रणमा यो प्रविधि निकै प्रभावकारी बनेको हो ।

पानीको बहावबाटै चल्ने यो प्रविधि आफ्नो घरनजिकै भएकाले स्थानीय पनि ढुक्क भएका छन् । गाउँलेको एकता र यो प्रविधिको उपयोग गरेर भवितव्य रूपमा आगलागी भइहाले पनि नियन्त्रण गर्न सजिलो भएको छ । ‘हामी सबैले यो कसरी प्रयोग गर्ने भनेर सिकेका छौं,’ खुम्बु पासाङल्हामु–३ का कर्साङ शेर्पाले भने, ‘सरकाले यो जडान गरेर हामीलाई धेरै हदसम्म सुरक्षित महसुस गराएको छ ।’

तत्काल सडकको पहुँच पुग्न कठिन रहेको विश्वको सर्वोच्च शिखर अवस्थित यस पालिकामा जडान गरिएको यो प्रविधि अग्नि नियन्त्रणका लागि निकै प्रभावकारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *