राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनका लागि भाडामा मान्छे ल्याएको विषयमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै अनुभव सुनाएको बताएका छन्। बबरमहलमा प्रदर्शनस्थलमै पत्रकारहरूसँगको कुराकानीमा लिङ्देनले माओवादीका अध्यक्षले आफ्नै अनुभव सम्झेर राजसंस्था पक्षधरको आन्दोलनमा सहभागीहरूलाई भाडाको मान्छे भनेको बताएका हुन्।
‘उहाँले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न कुन प्रकारका मान्छेहरू टाढा टाढाबाट बोकेर ल्याउनुभएको थियो। पार्टी प्यालेसहरूमा कुन प्रकारको भोज भतेरहरू लगाउनुभएको थियो। उहाँहरूलाई थाहा छ; खुवाएर, पैसा वितरण गरेर मान्छे ल्याउने, जुलुस गर्ने भन्ने कुरा। आफ्नो अनुभव उहाँले बताउनुभएको हो,’ उनले भने।
अध्यक्ष लिङ्देनले गणतन्त्रको जग हल्लिएकाले प्रचण्ड पीरले बर्बराएको बताए। गणतन्त्रको संस्थापक भएका कारण प्रचण्डलाई सबैभन्दा बढी पीर पर्नु स्वाभाविक रहेको पनि लिङ्देनले बताए।
‘विचरा प्रचण्डको धेरै प्रतिवाद गरिराख्नुपर्न केही कुरा छैन। राम्रो भए पनि नराम्रो भए पनि उहाँ गणतन्त्रको संस्थापक हो। उहाँको नेतृत्वमा गणतन्त्रको मुद्दा नेपालमा उठेको हो। त्यसकारण गणतन्त्र हल्लिँदा सबैभन्दा ठूलो पीर उहाँलाई पर्नु स्वाभाविक हो,’ उनले भने,’पीर परेको बेला बर्बराउने, के-के भन्ने कुराहरूलाई अन्यथा मान्दिनँ।’
लिङ्देनले जनताको मद्दत पुगे सरकारलाई झुक्न बाध्य पार्ने पनि दाबी गरे। ‘आवश्यकताअनुसारको पुग्न सकेन भने फेरि अर्को चोटि प्रयास गर्छौं। निरन्तर रूपमा लागिराख्छौं। र उहाँहरुले लोकतन्त्र र गणतन्त्रको नाउँमा जुन लुटतन्त्र मच्चाइराख्नुभएको छ त्यसको अन्त्य गरेरै छाड्छौं,’ अध्यक्ष लिङ्देनले भने।
