राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते एक्लै हिँडेर देखाउन प्रधानमन्त्री ओलीलाई चुनौती दिएको छ। समितिका प्रवक्ता स्वागत नेपालले बिज्ञप्ती मार्फत यस्ताे चुनौती दिएका हुन्। यसअघि प्रधानमन्त्री ओलीले १५ गतेको राजावादी आन्दोलन निस्तेज पार्नका लागि नेता कार्यकर्तालाई निर्देशन दिएका थिए।
यसपछि विज्ञप्ति निकाल्दै समितिले यस्तो चुनौती दिएको हो। ‘राजधानी कब्जा गर्ने धम्कीका लागि प्रधानमन्त्री ख.प्र ओलीलाई सो दिन राजासरह एक्लै राजधानीका सडकमा सुरक्षाकर्मी र आफ्ना पालित-पोषित समूह बिना एक्लै हिँडेर देखाउ चुनौती,’ विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा आन्दोलन शान्तिपूर्ण हुने दोहोर्याइएको छ। ‘राजधानी कब्जा गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँ केवल सुरक्षाकर्मीको कब्जामा रहेर मात्र सुरक्षित हुनुहुन्छ, देश अहिले उहाँको कब्जामा छैन भन्ने प्रमाणित गरेको छ। त्यसैले शान्तिपूर्ण संवैधानिक राजसंस्था सहितको व्यवस्थाका लागि आत्मसमपर्ण गर्न पनि हामी सुझाव दिन चाहन्छौँ,’ भनिएको छ।
