सरकारद्वारा आयोजित प्रथम संस्करणको ‘सगरमाथा संवाद २०२५’ काठमाडाैंमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटित राजधनीमा शुक्रबारदेखि सुरु संवाद आइतबार भोलिसम्म सञ्चालन हुनेछ । तीन दिने संवादमा १ सय ७५ विदेशी पाहुना सहभागी छन् । पहिलो संस्करणको संवाद ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित रह्याे ।
समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समिति संयोजक डा. आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गरेकी थिइन। साे अवसरमा उनले जलवायु परिवर्तन कुनै एक देशको मात्र नभई विश्वव्यापी समस्या रहेकाले त्यसअनुसारको प्रतिबद्धता, सहकार्य र समन्वय आवश्यक हुने मन्त्री देउवाले उल्लेख गरिन् ।
‘यो साझा समस्यासँग जुध्नका लागि हाम्रा मात्र प्रयास पर्याप्त छैनन् । त्यसैले सामूहिक सहकार्य र समन्वयका लागि साझा प्लेटफर्म निर्माण गर्न सगरमाथा संवाद आयोजना गरेका हौं,’ परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समिति संयोजक देउवाले भनिन्, ‘नेपालले जलवायु परिवर्तनको अकल्पनीय क्षति बेहोर्दै आएको वर्तमान अवस्थाको सामूहिक वकालत गर्न तथा विश्व मञ्चमा उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द पार्न संवाद महत्वपूर्ण हुनेछ ।’
संवादमा सहभागी विदेशी प्रतिनिधिमण्डललाई आज बिहान माउन्टेन फ्लाइटमा लैजानेसमेत व्यवस्था मिलाइएको छ । सगरमाथा संवादलाई ‘समाधानको मञ्च, आशाको मुहान र भविष्यका लागि शक्ति बनाउन’ प्रधानमन्त्री ओलीले आह्वान गरेका छन् ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुका कारण हिमाली परिदृश्य रूपान्तरण हुन लागेको उल्लेख गर्दै हिमनदी पग्लिँदै गएको, परिस्थितिकीय प्रणाली बदलिँदै गएको र परम्परागत जीवनशैली उल्टिँदै गएकाले समस्या समाधानका लागि सामूहिक प्रतिबद्धतामा जोड दिनु पर्ने बताए ।
नेपालका लागि इजिप्टका राजदूत नोहा हम्दी अहमद इल्गेबालीले जलवायु अनुकूलनका लागि स्थानीय जलवायु वित्त, जल पुनर्भरण र जैविक विविधता संरक्षण, जलवायु कृषि अनुकूलनजस्ता जलवायु अनुकूलन राष्ट्रिय रणनीतिमा समावेश गर्न आवश्यक रहेको औंल्याए ।
सगरमाथा संवाद उद्घाटनपछि पहिलो दिन विभिन्न सेसनमा छलफल भएको थियाे । पहिलो दिन ‘थिम १ः पवर्तभन्दा परः पवर्तलाई समुद्रसँग जोड्दै (बियोन्ड माउन्टेन्सः लिंकिङ माउन्टेन्स टु ओसन)’ भन्ने थिममा चार प्यानल सेसन सञ्चालन भएका थिए ।
प्यानल सेसन १ः हिमनदी संरक्षणका लागि १.५ डिग्री लक्ष्यको आवश्यकता (अर्जेन्सी अफ १.५ डिग्री एम्बिसन फर प्रिजर्भेसन अफ ग्लेसियर्स), प्यानल सेसन २ः पवर्तलाई टापुहरूसँग जोड्दै (कनेक्टिङ हाइल्यान्ड्स टु आईल्यान्ड्स) ,प्यानल सेसन ३ः खाद्य सुरक्षा र जलवायुप्रतिरोधी कृषि (फुड सेक्युरिटी एन्ड क्लाइमेट चेन्ज रेसिलेन्ट एग्रिकल्चर) र प्यानल सेसन ४ः पर्वतीय क्षेत्रमा समुदाय नेतृत्वमा आधारित जलवायु पहलहरू (कम्युनिटी–लिड क्लाइमेट इनिसिएटिभ्स इन द माउन्टेन्स) मा छलफल भएको थियाे । सम्वाद भाेलिसम्म चल्नेछ ।
