भन्सार गोदामबाटै लाखौंको विदेशी मदिरा ‘गायब’, कर्मचारीमाथि नै चोरीको आरोप !

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

वीरगन्जस्थित श्रीर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको गोदामबाट लिलाम सकार गरिएको लाखौं मूल्य बराबरको विदेशी मदिरा ‘गायब’ भएको छ।

लिलाम सकारकर्ताले सम्झौता बमोजिमको परिमाणभन्दा करिब १३ सय लिटर मदिरा कम पाएपछि भन्सार कर्मचारीकै मिलोमतोमा चोरी भएको हुन सक्ने आरोप लगाएका छन्। भन्सार कार्यालयले घटनाको पुष्टि गर्दै आन्तरिक छानबिन थालेको जनाएको छ।

पिके ट्रेडर्स नामक फर्मले भन्सार कार्यालयबाट अस्ट्रेलियामा उत्पादित ‘रोयल मस्क’ ब्रान्डको १० हजार सात सय पाँच लिटर विदेशी मदिरा एक करोड ४२ लाख रुपैयाँमा लिलाम सकार गरेको थियो।

प्रति ७५० एमएल बोतलको उक्त मदिराको लिलाम मूल्य प्रति लिटर करिब १३ सय रुपैयाँ कायम भएको थियो। तर, सम्झौताअनुसार मदिरा बुझ्न जाँदा गोदाममा जम्मा ९ हजार चार सय लिटर मात्र मदिरा भेटिएको पिके ट्रेडर्सका प्रतिनिधि वासुदेव साहले जानकारी दिए।

यस हिसाबले १३ सय पाँच लिटर मदिरा ‘गायब’ भएको देखिन्छ। ‘गायब’ मदिराको बजार मूल्य करिब १७ लाख रुपैयाँभन्दा बढी हुन आउँछ।

‘हामीले लिलाम सकार गरेको परिमाण अनुसार मदिरा बुझ्न जाँदा तोकिएभन्दा धेरै कम पायौं,’ साहले भने, ‘यो स्पष्ट रूपमा भन्सार गोदामभित्रबाटै भएको चोरी हो र यसमा कर्मचारीको संलग्नता बिना सम्भव छैन। हामीले यसबारे जानकारी माग्दा भन्सारका कर्मचारीले गैरजिम्मेवारपूर्ण जवाफ दिएका छन्।’

यस विषयमा सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले लिलाम गरिएको मदिराको परिमाणमा कमी आएको स्वीकार गर्दै घटनाको आन्तरिक छानबिन प्रक्रिया अघि बढाइएको बताए।

‘लिलाम गरिएको मदिरा राखिएको कोठा जिल्ला प्रशासन कार्यालय, वीरगन्ज उद्योग वाणिज्य संघलगायतका निकायका प्रतिनिधिको रोहबरमा सिलबन्दी गरेर ताला लगाउने प्रचलन छ,’ भन्सार प्रमुख बरुवालले भने, ‘सिलबन्दी गरिएको कोठाबाटै मदिराको बोतलहरू कम भेटिनु आफैँमा गम्भीर र अनुसन्धानको विषय हो। मदिराको परिमाण लिलाम अघि नै कम थियो वा पछि चोरी भएको हो, यो छानबिनबाट खुल्नेछ।’

उनले गोदाममा पहिलेदेखि नै कम परिमाणमा मदिरा रहेको र लिलामी प्रक्रियामा प्राविधिक त्रुटिले बढी परिमाण उल्लेख हुन गएको हो कि भन्ने प्रारम्भिक आशंका रहेको पनि बताए।

भन्सार प्रमुख बरुवालले लिलाम सकार गर्ने पिके ट्रेडर्सले जति परिमाणमा मदिरा बुझ्छ, सोही अनुसारको मात्र रकम असुल गरिने पनि स्पष्ट पारेका छन्। यद्यपि, सरकारी गोदामबाटै ठूलो परिमाणमा सामान हराउनुले भन्सारको व्यवस्थापन र सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *