काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार नसुध्रने हो भने बालुवाटार घेरेर भातपानी बन्द गर्ने चेतावनी दिएका छन् । मंगलबार काठमाडौंको बल्खुमा आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले आफ्ना नेताहरुलाई हतकडी लगाएको विषय राप्रपाले इखको रुपमा लिएको बताउदै यस्तो भातपानी बन्द गर्ने चेतावनी दिएका हुन् ।
‘नसुध्रने हो भने हामी पनि गाली चलाउछौ त भन्दिनँ तर बालुवाटार घेरेर भातपानी बन्द गर्न सक्छौ’, लिङ्देनले भने, ‘आज राप्रपा बल्खु गयो भनेर कमजोरी नठान्नु । शान्ति अहिंशालाई कमजोरी नठान्नु केपी ओलीजी, गृहमन्त्रीजी ।’
उनले गणतन्त्र कति कमजोर रहेछ भनेर देखाउन आएको भन्दै राज्यआतंक सधै नचल्ने चेतावनी दिए । राप्रपालाई विद्रोहमा जाओस् भन्ने चाहेको हो भने सल्लाह नै गरेर जाने बताएका लिङ्देनले देशलाई शान्तिपुर्ण बाटोबाटै परिवर्तनका लागि हिँडेको बताए ।
‘सत्ता सधैभरी तपाईको हातमा हुदैन, जनता गोठको गाइबस्तु होइनन’, प्रधानमन्त्री र गृहमन्त्रीलाई चेतावनी दिदै भने, ‘जतिदिन हाम्रा साथिहरुलाई थुन्नुहुन्छ यो जनमत दिनदुई गुणा रात चौगुणा बढेर जान्छ । देशमा राजा चाहिन्छ भन्नु राज्यविरुद्धको अपराध हो ?’
रावणहरुको शासन मास्नु पर्छ : डा. प्रकाशचन्द्र लोहनी
राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालमा अहिले रावणहरुको शासन बढेको भन्दै त्यसले देशलाई कमजोर बनाइरहेको बताएका छन् । राप्रपाले काठमााडौंको बल्खुमा गरेको विरोध सभालाई सम्बोधन गर्दै पुर्वमन्त्री समेत रहेका लोहनीले रावण प्रवृत्तिको विरोध गर्नुपरेको बताए ।
‘नेपालमा अहिले रावणहरुको शासन छ । रावण भनेको के हो ? रावण भनेको अहंकार र अरुको चिज मेरो भन्ने घमण्ड र सर्वसाधारणलाई उपेक्षा गर्ने प्रवृत्ति हो’, उनले भने, ‘रावण प्रवृत्तिका जोजो राजनीतिज्ञहरु छन् उनीहरु यो राज्यको सम्पत्ति र ढुकुटीमा हामीले जे गरेपनि हुन्छ भन्छन् । जसले देशलाई कमजोर बनाइरहेको छ । त्यसैले यो रावण प्रवृत्तिलाई मास्नुपर्छ ।’
