गर्मी मौसम सुरु भएयता लुम्बिनी प्रदेशको ३ हजार बढी हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालय को तथ्याङ्क अनुसार ३ हजार १ सय ८१ दशमलव २० हेक्टर वन क्षेत्रमा डढेलो लागेको हो । अहिले सम्म प्रदेशका १२ जिल्लाका १ सय ९३ स्थानमा डढेलो लागेको छ । डढेलोमा परि एक जनाको मृत्यु समेत भएको छ भने २ जना घाइते समेत भएका छन् । यसै गरी सयौँ बोटबिरुवा जलेर नष्ट भएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।
जिल्लागत रुपमा हेर्दा सबै भन्दा बढी डढेलो रुकुम पूर्वमा लागेको छ । यहाँ १ हजार १ सय २० हेक्टर वन क्षेत्रमा डढेलो लागेको निर्देशनालयले जनाएको छ । ६ स्थानमा आगो लागेको र ३ हजार २ सय ७६ बोटबिरुवा जलेर नष्ट भएको निर्देशनालयका सूचना अधिकारी डिलाराम पौडेलले जानकारी दिए । उनका अनुसार आगो निभाउने क्रममा ढुङ्गाले लागेर एक जना घाइते समेत भएका छन् । वनमा आगो लगाउने दुई जनालाई कानुनी कारबाही गरिएको पनि सूचना अधिकारी पौडेलले जानकारी दिए ।
यसै गरी पाल्पामा ७ सय २६ हेक्टर वन क्षेत्रमा अहिले सम्म डढेलो लागेको छ । वन निर्देशनालयले सोमबार तयार पारेको तथ्याङ्क अनुसार पाल्पामा ६५ स्थानमा डढेलो लागेको र आगलागीमा परिन एक जनाको मृत्यु समेत भएको छ। आगलागीमा पनि पाल्पा गत २१ गते रिब्दीकोटका टेबहादुर सुर्तुंगे मगरको मृत्यु भएको निर्देशनालयका सूचना अधिकारी पौडेलले जानकारी दिए । यसै गरी आगो निभाउने क्रममा एक जना घाइते भएका छन् भने एउटा गोठ समेत जल्नुका साथै सयौँ बोटबिरुवा जलेर नष्ट भएका छन् । यसै गरी दाङ ( देउखुरी डिभिजन अन्तर्गतको क्षेत्र) मा ३ सय ९४ दशमलव ५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ ।
१५ स्थानमा भएको आगलागीबाट बाेटबिरुवामा सामान्य क्षत्री भएको निर्देशनालयले उल्लेख गरेको छ । यसै गरी नवलपरासीमा २ सय ५० हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । २० स्थानमा भएको आगलागीबाट साना बोटबिरुवा जलेर नष्ट भएका छन् । यसै गरी दाङ (दाङ डिभिजन अन्तर्गतको वन क्षेत्र) मा १ सय ५९ हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । ९ स्थानमा भएको आगलागीबाट ५ हजार विरुवा जलेर नष्ट भएको वन निर्देशनालयका सूचना अधिकारी पौडेलले जानकारी दिए । यसै गरी आगाबाट एउटा गोठ र ३ वटा परालका टौवा समेत जलेका छन् ।
यस्तै अर्घाखाँचीमा १ सय १२ दशमलव५५ हेक्टर वन क्षेत्र डढेलोबाट सखाप बनेको छ । १६ स्थानमा लागेको आगोबाट बाेटबिरुवा जलेर नष्ट भएका छन् । यसै गरी रुपन्देहीमा १ सय १० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । निर्देशनालयका अनुसार १८ स्थानमा भएको आगलागीबाट १ हजार ७ सय बोटबिरुवा जलेर नष्ट भएका छन् । यस्तै गुल्मीमा ११ स्थानमा भएको आगालागीबाट ५७ हेक्टर वन क्षेत्र नासिएको छ ।
आगलागी भएको स्थानमा बोटबिरुवा जलेर नष्ट भएका छन् भने ३ घरगोठ समेत जलेका छन् । यसै गरी कपिलवस्तु ( गौतमबुद्ध डिभिजन वन क्षेत्र) मा ७० हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । ९ स्थानमा भएको आगलागीबाट ३ घर र २ गोठ जलेका छन् भने बाेटबिरुवा समेत नष्ट भएको वन निर्देशनालयले जनाएको छ । यसै गरी कपिलवस्तु(कपिलवस्तु डिभिजनको क्षेत्र) मा ६२ दशमलव७५ हेक्टर वन क्षेत्रमा डढेलो लाग्दा बाेटबिरुवा जलेर नष्ट भएका छन् । यहाँ अहिले सम्म ५ स्थानमा आगलागी भएको निर्देशनालयले जनाएको छ ।
यसै गरी बर्दियामा ३९ दशमलव ५ हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । ५ स्थानमा भएको आगलागीबाट यो जिल्लामा पनि साना बिरुवा जलेर नष्ट भएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । बाँकेमा ६ स्थानमा लागेको आगोले २५ हेक्टर वन क्षेत्र सखाप भएको छ । यहाँ पनि आगालागिबाट बोटबिरुवा जलेका छन् । यसै गरी रोल्पामा ३९ दशमलव ८ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ भने डढेलोले सैयाैँ बोटबिरुवा जलेका छन् ।
यो जिल्लामा अहिले सम्म ६ स्थानमा आगलागी भएको छ । यस्तै प्यूठानमा १५ दशमलव ५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । २ स्थानमा भएको आगलागीबाट १ घर, एक गोठ जल्नुका साथै १ जना घाइते समेत भएका छन् । यहाँ पनि साना बोटबिरुवा जलेर नष्ट भएको प्रदेश वन निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार वनमा आगलागी हुनुको प्रमुख कारण मानवीय त्रुटि देखिन्छ । चोरी सिकारी गर्नेहरूबाट वन क्षेत्रमा बढी आगलागी हुने गरेको वन निर्देशनालयका सूचना अधिकारी पौडेलले जानकारी दिए । ‘मूलतः जङ्गलमा चोरी सिकारी गर्नेहरूले आगो बाल्ने र त्यहीँबाट वनमा फैलिने गरेको पाइन्छ,’ सूचना अधिकारी पौडेलले भने ‘आगलागीको प्रमुख कारण भनेकै मानवमा चेतको विकास नहुनु नै हो ।’
यसै गरी कतिपयले घाँस पलाउने भन्दै जानी जानी वनमा आगो लगाउने गरेको समेत पाइन्छ । ‘कतिपयले वनमा आगो लगायो भने हरियो घाँस पलाउँछ भनेर पनि जानी जानी आगो लगाएको पाइन्छ,’ सूचना अधिकारी पौडेलले भने ‘वनमा आगो लगाउनु हुँदैन भनेर जति सुकै सचेतना बढाउन खोजिए पनि परिणामतः परिवर्तन भएको देखिन्न ।’
यसै गरी वनमा डढेलो फैलिनुको कारण भनेको सुख्खा याम बढी हुनु हो । पानी परेको खण्डमा वनमा लागेको आगो निभ्ने भएकाले क्षति कम हुने भएपनि पानी नपर्दा आगो नियन्त्रण भन्दा बाहिर गएर ठूलो क्षेत्री निम्तने गरेको पौडेलले बताए । अहिले सम्मको पछिल्लो आगलागीको तथ्याङ्क गत वर्षको भन्दा बढी नभएको तर पानी नपरेको खण्डमा डढेलो फैलने पनि उनले बताए । ‘अहिले सम्मको तथ्याङ्कलाई हेर्ने हो भने यो त्यति भयावह हैन,’ उनले भने ‘तर पानी परेन भने, सुख्खा बढ्यो भने आगो वनमा फैलन्छ, यसले बढी क्षत्रि निम्त्याउँछ ।’
कोशी प्रदेशमा एकै दिन ३७ वटा आगलागीको घटना
सुख्खायाम सुरू भएसँगै कोशी प्रदेशका विभिन्न जिल्लामा आगलागीका घटना बढ्न थालेको छन् । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् व्यवस्थापन शाखाका अनुसार पछिल्लो १० दिनमा कोशी प्रदेशका विभिन्न जिल्लामा २ सय १८ वटा आगलागीका घटना भएका छन् ।
सामुदायिक तथा निजी बनहरूमा आगलागी हुने क्रम अत्याधिक बढेको देखिएको छ । यस्तै जङ्गलमा लागेको डढेलोका कारण कतिपय स्थानका बस्तीहरूसमेत जलेर नष्ट भएको पाइएको छ । यस्तै व्यक्तिका घर, गोठ, गुवाली लगायतमा समेत आगलागी हुने गरेको पाइएको छ ।
आगलागीबाट भएको क्षतिको पूर्ण विवरण उपलब्ध भई नसकेको भए पनि प्रारम्भिक विवरण अनुसार सुख्खा मौसम सुरु भएसँगै भएका भौतिक सम्पत्तिको ठूलो क्षति भइरहेको देखिन्छ । विगत १० दिनको तथ्याङ्क हेर्दा चैत २२ गते सबै भन्दा बढी ३७ वटा आगलागीको घटना कोशी प्रदेशमा भएका छन् । यस्तै चैत २३ गते ३५, २१ गते २९ वटा, २७ गते २७ वटा आगलागीका घटना भएका छन् ।
आगलागीका घटनामा परेर विगत एक वर्षको अवधिमा कोशी प्रदेशमा मात्रै १० जनाको मृत्यु भइसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । गत वर्षको चैत १५ गते देखि चालु आर्थिक वर्षको चैत १५ गते सम्मको जिल्लागत तथ्याङ्क हेर्दा कोशी प्रदेशको मोरङ जिल्लामा २ सय ६६ वटा आगलागीका घटना भएका छन्।
यस्तै सुनसरीमा १ सय ९३, झापामा १ सय ५९ वटा आगलागीका घटना भएका छन् । उदयपुरमा ७२, खोटाङमा ५८,भोजपुरमा ५२, इलाममा ५० सोलुखुम्बुमा ४३ र सङ्खुवासभामा ४३ वटा घटना भएका छन् । यस्तै धनकुटा ३८, ओखलढुङ्गा ३८ र पाँचथरमा ३८ वटा घटना भएका छन् । कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा सबै भन्दा कम २६ वटा र तेह्रथुममा २७ वटा आगलागीका घटना भएका छन् । प्रदेश सरकारको तथ्याङ्क अनुसार कोशी प्रदेशमा कुल विपद्का घटना मध्ये सबै भन्दा बढी आगलागीकै घटना देखिएका छन् । २०८० सालमा कोशी प्रदेशमा विपद्का घटना मध्ये ७२ प्रतिशत घटना आगलागीका छन् । यस्तै २०८१ को चैत १५ सम्ममा कुल विपद्का घटना मध्ये ५७ प्रतिशत घटना आगलागीका रहेका छन् ।
प्रदेशका विभिन्न स्थानबाट आगलागी भएका सूचनाहरू मन्त्रालयमा आइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कमलबहादुर थापाले जानकारी दिए । उनका अनुसार प्रदेश स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई आगलागीका घटना नियन्त्रणका लागि कार्य योजना बनाएर निर्देशनसमेत दिइसकेको थापाले बताए । उनले भने‘प्रदेशमा आगलागीका घटना धेरै देखिएकाले आगलागीका घटना न्यूनीकरणका लागि कार्य योजना बनाएर जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई निर्देशन दिएका छौँ ।’
सुख्खा मौसम र विद्युत् सर्ट आगलागी हुनुको मुख्य कारण देखिएको थापाले जानकारी दिए । वन डढेलो र आगलागीका कारण बायुप्रदुषण पनि बढेको थापाले बताए । वनमा डढेलो मानवीय हेलचक्र्याइँ कारण मात्रै नभई कतिपय ठाउँमा जानीजानी पनि डढेलो लगाउने गरेको पाइएको थापाले बताए । आगलागी नियन्त्रणका लागि प्रदेश सरकारले जनचेतनामूलक सामाग्रीहरू सञ्चारमाध्यमबाट प्रसारण गरिरहेको थापाले बताए । आगलागी नियन्त्रण र पीडितहरूलाई राहत वितरणको काम पनि प्रदेश सरकारले गरिरहेको थापाले जानकारी दिए ।
