नीट प्रश्नपत्र लिक प्रकरणलाई लिएर दिल्लीको जन्तरमन्तरमा जारी क्रकरोच जनता पार्टीको आन्दोलन शनिबार औपचारिक रूपमा अन्त्य भएको छ। सरकारसँग भएका वार्तामा आफ्ना तीनै वटा मुख्य मागहरू पूरा भएपछि आन्दोलन फिर्ता लिइएको घोषणा गरिएको हो।
केन्द्रीय मन्त्री जे.पी. नड्डा र जितेन्द्र सिंह तथा ककरोच जनता पार्टीका प्रवक्ता सौरभ दास र आशुतोष राङ्काले संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलन अन्त्यको संयुक्त घोषणा गरेका हुन्।
पत्रकार सम्मेलनमा प्रवक्ता दासले जन्तरमन्तरमा रहेका सम्पूर्ण प्रदर्शनकारीहरूलाई अब आ-आफ्नो घर फर्कन आग्रह गरे।
पार्टीका अर्का प्रवक्ता आशुतोष राङ्काले पछिल्ला केही दिनमा सरकारसँग तीन चरणमा वार्ता भएको र आफ्ना तीनै वटा मागहरू सरकारले स्वीकार गरेको जानकारी दिए।
उनका अनुसार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, आन्दोलनकारीहरूमाथि लगाइएका सबै मुद्दा फिर्ता र नीट पीडित परिवारलाई १/१ करोड रुपैयाँ क्षतिपूर्ति दिने मागमा सरकार सहमत भएको छ।
मागहरू पूरा भई शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको खबर सार्वजनिक भएसँगै जन्तरमन्तरमा उत्सवको माहोल बनेको थियो।
विद्यार्थीहरूले छात्र एकता जिन्दाबादको नारा लगाउनुका साथै राष्ट्रगान गाएका थिए। सो क्रममा नीट प्रश्नपत्र लिकका कारण ज्यान गुमाएका सम्पूर्ण विद्यार्थीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुई मिनेट मौनधारणसमेत गरिएको थियो।
