निर्माण थालेको ८० महिनापछि नागढुंगा–सिस्ने खोला सुरुङमार्ग साउन ११ गतेबाट सञ्चालनमा आउने भएको छ ।
सोमबारदेखि सञ्चालन हुने सुरुङ चौबीसै घण्टा खुला हुनेछ । पहिलो लटमा आपत्कालीन सवारीसाधनलाई सुरुङ खुला गरिनेछ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार पहिलो दिन सोमबार एम्बुलेन्स, फायर फाइटिङ र सुरक्षाकर्मीको गाडीका लागिमात्रै अनुमति दिइनेछ ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई शुल्क पनि तोकिसकिएको छ । पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र नन–मोटोराइज्ड सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई सुरुङमार्गमा निषेध गरिएको छ ।
सुरुङमार्गमा शुल्क तिर्न मिल्ने गरी आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) प्रविधिमा आधारित स्टिकरका रूपमा एन–ट्यागको व्यवस्था गरिएको छ । अहिलेलाई एक, दुई र पाँच हजार नगदको एन–ट्याग लिने व्यवस्था गरिएको छ ।
