एन्फा निलम्बनले फुटबल ठप्प, २१ क्लबले अघि सारे तीनबुँदे माग

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपाली फुटबल लिगको विभिन्न डिभिजनका गरी कुल २१ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि निलम्बनबारे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

शीर्ष डिभिजनका पाँच वटा क्लबसहित ‘बी’ र ‘सी’ लिग खेल्ने कुल २१ वटा क्लबले शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै एन्फामाथि निलम्बनबारे गम्भीर ध्यानाकर्षण भएको र तत्काल समाधान खोज्न सरकार समक्ष अनुरोध गरेको छ । क्लबहरू नेपाली फुटबलका महत्वपूर्ण पक्ष हुन् । यीनै महत्वूर्ण र सरोकार पक्षले निलम्बन फुकुवाका लागि पहल गर्न आह्वान गरेका छन् । तेस्रो पक्ष (नेपाल सरकार) बाट हस्तक्षेप भएको कारण देखाउँदै विश्व फुटबल महासंघ (फिफा) ले गत असार ११ गते नेपालमाथि निलम्बन गरेको थियो । झन्डै एक महिनायता नेपाली फुटबलको गतिविधि ठप्प छन् भने संघारमा रहेका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता पनि अन्योलपूर्ण अवस्थामा छ ।

सरकारले पनि नेपालमाथिको निलम्बन हटाउनभन्दा पनि तत्काल ‘तदर्थ’ कमिटी नै बनार अघि बढ्ने संकेत देखाएको छ । फिफाले भने गत चैत १३ गते रोकिएको पंकजविक्रम नेम्बाङ नेतृत्व कार्यसमितिको निर्वाचन प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई अन्तिम एकमात्र विकल्प दिएको छ । त्यसैले पनि नेपाली फुटबलमाथि लागेको निलम्बन तत्काल हट्ने सम्भावना देखिँदैन । यस्तो स्थितिमा सरोकार पक्ष क्लबहरूले निलम्बनका कारण फुटबलमा नै आश्रित हजारौं खेलाडी, प्रशिक्षक र रेफ्रीहरू प्रभावित भएको भन्दै निलम्बन फुकुवाका लागि पहल गर्न आह्वान गरेका छन् । साथै क्लबहरुले तत्काल समाधानका लागि तीनबुँदे माग अघि सारेका छन् । एन्फामाथि हस्तक्षेप अन्त्य गरी फिफाले लगाएको निलम्बन तत्काल फुकुवा गराउन क्लबहरुले सरकार समक्ष माग गरेका छन् ।

साथै एन्फाको तत्काल निर्वाचन गर्न तथा रोकिएका पुरुष राष्ट्रिय लिग, महिला लिग र यु–१८ सहित सम्पूर्ण फुटबल प्रतियोगिता तत्काल सञ्चालन गर्न माग गरेका हुन् । क्लबहरुले लामो समयसम्म निलम्बन हुँदा खेलाडी, प्रशिक्षक, निर्णायक र फुटबलमा लागेका हजारौं व्यक्तिको भविष्य प्रभावित भएको उल्लेख गरेका छन् । उक्त माग राख्ने शीर्ष डिभिजन क्लब संकटा, प्लानिङ ब्वाइज युनाइटेड, श्री भगवती, जावलाखेल युथ र चर्च ब्वाइज युनाइटेड छन् ।

साथै महावीर स्टडिज एन्ड एथलेटिक्स एसोसिएसन क्लब, पुल्चोक क्लब, सानेपा, खालीवारी युवा फुटबल क्लब, स्वयम्भू क्लब, झम्सिखेल युथ क्लब, च्यासल युवा क्लब, स्पोर्ट्स एकेडेमी साँगा, सिन्धुपाल्चोक फुटबल क्लब, खुमलटार युवा क्लब, समाज कल्याण खेलकुद केन्द्र क्लब, सामाजिक युथ क्लब, मनोहरा एकीकृत युवा क्लब, बाँसबारी क्लब, श्री कुमारी क्लब र बाग्मती युवा क्लब पनि उक्त सूचीमा छन् । ‘एन्फा निलम्बन भएको लामो समयसम्म पनि निलम्बन फुकुवा गर्नेतर्फ सम्बन्धित निकायहरूबाट ठोस प्रक्रियाहरु भएको देखिँदैन । यसले गर्दा नेपाली फुटबललाई व्यवस्थित गर्न हामी क्लबहरु निम्न मागहरु पूरा गर्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

साभारः नागरिक दैनिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *