पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्गमा अनैतिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका ४७ जना विदेशी महिलालाई नेपालबाट निष्कासन (डिपोर्ट) गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा परिसरका एसपी पवनकुमार भट्टराईले विशेष अपरेसनका क्रममा पक्राउ परेका ५७ विदेशी महिलामध्ये ४७ जनालाई अध्यागमन विभागमार्फत देश निकाला गरिएको जानकारी दिए।
प्रहरीका अनुसार ती महिलाहरूलाई युगान्डा, भियतनाम, थाइल्यान्ड, बैंकक, बंगलादेश, केन्या र इन्डोनेसिया लगायतका देशमा पठाइएको छ। बाँकी १० जनामाथि भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
एसपी भट्टराईले ठमेल, दरबारमार्गजस्ता पर्यटकीय क्षेत्रमा विदेशी नागरिकहरू अनैतिक गतिविधिका लागि आउने गरेको गुनासोका आधारमा प्रहरीले विशेष अभियान सञ्चालन गरेको बताए।
उनका अनुसार केही विदेशी नागरिकले नेपालमा सस्तो जीवनयापन र रात्रिकालीन गतिविधिको अवसर रहेको भन्दै यस्ता गतिविधिमा संलग्न हुने गरेको पाइएको छ।
पत्रकार सम्मेलनमा प्रहरीले अनलाइन बेटिङसम्बन्धी गतिविधिमा समेत संगठित गिरोह सक्रिय रहेको जानकारी दिएको छ। बेटिङमार्फत संकलित रकम हुण्डी र क्रिप्टो माध्यमबाट विदेश पठाउने कार्यमा संलग्न नेटवर्कमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले बेटिङ वेबसाइटको निगरानी, आर्थिक कारोबारको अनुसन्धान र संलग्न व्यक्ति तथा समूहको पहिचान गर्ने कामलाई तीव्र बनाइएको जनाएको छ।
यसैगरी सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याउने बिचौलियाविरुद्ध सञ्चालन गरिएको अभियानअन्तर्गत काठमाडौं प्रहरीले ३०९ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामध्ये ६१ जनामाथि कानुनी कारबाही अघि बढाइएको एसपी भट्टराईले जानकारी दिए।
