स्वदेश फर्किँदै देउवा, सरकारले प्रतिशोध साध्ने आशंका

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्कने भएका छन्। मंगलबार प्रेस विज्ञप्तिमार्फत स्वदेश फर्कन लागेको जानकारी दिँदै देउवाले सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने आशंका व्यक्त गरेका छन्।

नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई निरन्तर नियालिरहेको उल्लेख गर्दै देउवाले भनेका छन्, ‘आज फरक विचारप्रतिको असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग, राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन साथै भौतिक र मनोवैज्ञानिक त्रास सिर्जना गरेर प्रतिपक्षलाई दबाउने प्रवृत्ति कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन सक्दैन।’

हिंसा, त्रास र असहज राजनीतिक वातावरणको पृष्ठभूमिमा गत फागुनमा निर्वाचन भए पनि जनताले युवा पुस्ताको हातमा नयाँ जनादेश सुम्पिएको यथार्थलाई कांग्रेसले सम्मान गरेको विज्ञप्तिमा उल्लेख छ।

‘तर, दुर्भाग्यवश सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाउँदै स्वतन्त्र न्यायपालिका, संवैधानिक संस्थाहरू तथा लोकतान्त्रिक प्रणालीमाथि नै दबाब सिर्जना गर्ने संकेत देखिन थालेका छन्। न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई आतंकित गर्ने औजार बनाउन खोजिँदै छ,’ देउवाले सन्देशमा भनेका छन्।

देशलाई एकता, विश्वास र सहकार्य चाहिएकाले आफू स्वदेश फर्कन लागेको बताउँदै देउवाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेपाली जनतासँग आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *