शिक्षा प्रणाली सुधारको मागले दिल्लीको सडकदेखि संसद्सम्म हंगामा

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नयाँदिल्लीस्थित प्रदर्शन र धर्नाका लागि परिचित स्थल जन्तरमन्तरमा सोमबार बिहानैदेखि ठूलो संख्यामा मानिसहरू जम्मा भएका थिए । केही महिनाअघि मात्र घोषित कक्रोच जनता पार्टी (सीजेपी) ले आह्वान गरेको ‘चलो संसद्’ मार्चका लागि विद्यार्थी, अभिभावक र नागरिक समाजका प्रतिनिधि बिहानै आइसकेका थिए ।

त्यस्तै अर्कोतर्फ दिल्ली प्रहरी, र्‍यापिड एक्सन फोर्स (आरएएफ) र केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का सुरक्षाकर्मी पनि ठूलो संख्यामा सडकमा तैनाथ गरिएको थियो । मिडिया रिपोर्टहरूका अनुसार मार्च नियन्त्रण गर्न भन्दै करिब ५ हजार सुरक्षाकर्मी दिल्लीका सडकमा तैनाथ गरिएको थियो । साथै दिल्लीका केही मेट्रो स्टेसनहरू पनि बन्द गरिएका थिए । दिल्ली प्रहरीले प्रदर्शनमा करिब ८ हजार सहभागी भएको बताएको छ । तर भारतीय सञ्चार संस्था हिन्दुस्तान टाइम्सले भने आफ्ना संवाददाताहरूले दिएको तथ्यांकअनुसार आइतबारको प्रदर्शनमा झन्डै ५० हजार सहभागी भएको दाबी गरेको छ ।

अनिश्चितकालीन भोक हडतालमा बसेका शिक्षाविद् तथा वातावरण अभियन्ता सोनम वाङ्चुकलाई शनिबार दिल्ली प्रहरीले जबर्जस्ती उठाएर अस्पताल लगेपछि सीजेपीले संसद् भवनसम्म मार्च आह्वान गरेको थियो । वाङ्चुकले पनि सफदरजंग अस्पतालबाटै ‘चलो संसद्’ मार्चमा सहभागी हुन आह्वान गरेका थिए । त्यसपछि सीजेपीको नेतृत्वमा मार्च सुरु भएको हो । तर मार्चमा सहभागीलाई तितरबितर पार्न सुरक्षाकर्मीले धरपकड तथा लाठीचार्ज गर्‍यो । सीजेपीले सामाजिक सञ्जालमा पोस्ट गरेका भिडियो तथा तस्बिरमा थुप्रै प्रदर्शनकारी घाइते भएको देखिएको छ । यद्यपि प्रहरीले भने बल प्रयोग नभएको दाबी गरेको छ ।

Demands for education system reform cause uproar from Delhi's streets to Parliament

विपक्षी कांग्रेस नेता राहुल गान्धीले नरेन्द्र मोदी भारतको इतिहासकै युवाप्रति सबैभन्दा असंवेदनशील प्रधानमन्त्री भएको आरोप लगाएका छन् । ‘उनी यति धेरै युवाविरोधी छन् कि असफल शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा समेत माग्न सक्दैनन् । १५२ वटा प्रश्नपत्र लिक भए । ७ करोड ५० लाख विद्यार्थी प्रभावित भए । तर एक जना पनि दोषीलाई सजाय दिइएको छैन । सजाय कसले पायो ? मिहिनेत गरेर पढेका युवाले ?,’ गान्धीले एक्समा लेखेका छन् । विद्यार्थीले शिक्षा प्रणाली सुधारका लागि जायज प्रश्न उठाउँदा लाठी र पक्राउ गरेर सरकारले जवाफ दिएको उनको भनाइ छ । ‘प्रश्नपत्र लिक गराउने अपराधीहरू स्वतन्त्र रूपमा घुमिरहेका छन् तर वैध माग राख्ने विद्यार्थीलाई तानेर कुटपिट गरिन्छ । यो सरकार युवाप्रति केवल असफल मात्र भएको छैन, उनीहरूमाथि जाइलागेको छ,’ गान्धीले भनेका छन् ।

सोमबारको प्रदर्शनमा दमन भएको भन्दै अस्पतालबाटै अनशन जारी राख्ने शिक्षाविद् तथा वातावरण अभियन्ता सोनम वाङ्चुकको घोषणावाङ्चुक अनिश्चितकालीन भोक हडतालमा बसेको २१ औं दिन शनिबार दिल्ली प्रहरीले वाङ्चुकलाई जबर्जस्ती उठाएर अस्पताल पुर्‍याएको थियो । शैक्षिक व्यवस्था सुधार एवं केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग राखेर वाङ्चुकसहित तीन विद्यार्थी नेहा, आमिन र मनीष आमरण अनशनमा बसेका थिए । एमबीबीएस, बीडीएस तथा अन्य स्नातक तहका चिकित्सा तथा स्वास्थ्यसम्बन्धी पाठ्यक्रममा भर्नाका लागि लिइने राष्ट्रिय प्रवेश परीक्षा (निट) को प्रश्नपत्र बाहिरिएको लगायत परीक्षामा भइरहेका गडबडीमा शिक्षामन्त्री प्रधानले राजीनामा दिनुपर्ने उनीहरूको प्रमुख माग छ । विपक्षी नेता तथा अधिकारकर्मीहरूको विशेष आग्रहपछि उनीहरूले भने अनशन तोडेका छन् । शनिबार वाङ्चुकलाई लगिएपछि सीजेपीका संस्थापक अभिजित दिपके पनि आमरण अनशनमा बसेका थिए । दिपकेले पनि एक निट परीक्षार्थीका अभिभावकको आग्रहमा सोमबार नै अनशन तोडेका छन् ।

यसैबीच युवा विद्यार्थीको शान्तिपूर्ण प्रदर्शनमा व्यापक दमन भएको भन्दै सरकारको सर्वत्र चर्को आलोचना भएको छ । सीजेपीले सोमबार भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन भएको बताएको छ । सीजेपीले भनेको छ, ‘हामीले तिरंगा उठायौं, उनीहरूले लाठी उठाए । हामीले किताब उठायौं, उनीहरूले अश्रुग्यास चलाए । हामीले संविधान देखायौं, उनीहरूले तानाशाही चलाए ।’ प्रदर्शनकारीमाथि बल प्रयोग नगरिएको प्रशासनले दाबी गरे पनि प्रहरी आफैंले प्रदर्शनकारीमाथि ढुंगा हानेका भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएका छन् ।

Demands for education system reform cause uproar from Delhi's streets to Parliament

वाङ्चुकले पनि प्रदर्शनमा दमन भएको भन्दै अस्पतालबाटै अनशन जारी राख्ने बताएका छन् । अस्पतालबाट उनले सन्देश जारी गर्दै भनेका छन्, ‘युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा व्यापक दमन भएको देखेपछि मैले आफ्नो भोक हडताल जारी राख्ने निर्णय गरेको छु । जबसम्म युवा नेताहरूलाई संसद् भवनमा सांसदहरूसँग भेट गर्न दिइँदैन वा मलाई अस्पतालमै भेट्न दिइँदैन, त्यतिन्जेलसम्म मेरो अनशन जारी रहन्छ ।’

सीजेपीका संस्थापक अभिजित दिपकले सरकारले जनताको मनोबल तोड्न खोजिरहेको बताएका छन् । उनले भनेका छन्, ‘अहिलेको अवस्था हेर्दा त्यो उद्देश्य धेरै हदसम्म पूरा भएको जस्तो देखिन्छ । म पछि हट्नका लागि अमेरिकाबाट फर्किएको होइन । केही मानिसहरू एकै दिनमा परिवर्तन ल्याउन सकिन्छ भन्ने ठान्छन् तर त्यसरी हुँदैन ।’ उनले नेपाल र बंगलादेशको जस्तो प्रदर्शन नभएको पनि बताएका छन् । जन्तरमन्तरमा प्रहरीले स्टेज भत्काइदिएको दाबी गर्दै उनले प्रदर्शन जारी रहने बताएका छन् ।

Demands for education system reform cause uproar from Delhi's streets to Parliament

सोमबारको ‘चलो संसद्’ मार्चमा सहभागी हुन दिल्लीबाहिरका विभिन्न राज्यबाट समेत युवाहरू आएका थिए । केहीको हातमा भारतको संविधान थियो, केहीको हातमा महात्मा गान्धी त केहीको हातमा भीमराव अम्बेडकरको तस्बिर थियो । सोमबार प्रदर्शनमा आउनेहरूले भनिरहेका थिए, ‘हाम्रो लडाइँ केवल शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा होइन, निर्वाचित सरकारको जवादेहिताका लागि पनि हो ।’

मार्चलाई असफल पार्न दिल्ली प्रहरीले जन्तरमन्तर जाने सबै सडकमा ब्यारिकेड राखेको थियो । कतिपय ठाउँमा त ब्यारिकेडहरूलाई वेल्डिङ गरेर जोडिएको थियो । भीड रोक्नका लागि ठाउँ–ठाउँमा भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ लागू गरिएको सूचनाका ब्यानर टाँगिएको थियो । त्यति मात्र होइन, जन्तरमन्तरआसपासका क्षेत्रमा इन्टरनेट सेवा रोक्नका लागि सयौं जामर तैनाथ गरिएको थियो । भारतीय सञ्चार संस्थाहरूका अनुसार दिल्ली प्रहरीले जन्तरमन्तरका लागि सोमबार बिहान घरबाट निस्कने स्थानीय नेता तथा कार्यकर्तालाई तत्कालै रोक्न १५ जिल्ला प्रहरी कार्यालयलाई आइतबार बिहानै निर्देशन जारी गरेको थियो । तर, त्यस्तो निर्देशनका बाबजुद पनि सोमबारको मार्चमा ठूलो संख्यामा उपस्थिति रह्यो ।

सीजेपी भारतीय शिक्षा प्रणाली सुधारको मागसहित प्रदर्शनमा उत्रिएको हो । बोस्टन विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेर फर्किएका ३० वर्षे अभिजित दिपकेले सीजेपी गठन गरेका हुन् । गत ३ मेमा भएको निट परीक्षामा करिब २२ लाख ८० हजार परीक्षार्थी सहभागी भएका थिए । उनीहरूमध्ये धेरैले महिनौं, कतिपयले त वर्षौंसम्म तयारी गरेका थिए । तर केही दिनपछि प्रश्नपत्र लिक भएको आरोप लागेपछि परीक्षा रद्द गरियो । मेडिकल पढ्ने सपना देखिरहेका लाखौं विद्यार्थीको करिअरमा धक्का पुगेको भन्दै भारतभर सरकारप्रति असन्तोष बढ्दै गएको छ । परीक्षा रद्द भएपछि उत्पन्न मानसिक तनावका कारण करिब २० जना विद्यार्थीको ज्यान गइसकेको छ ।

प्रदर्शनमा आएका दिल्लीका एक छात्रले वायर हिन्दीसँगको कुराकानीमा प्रश्नपत्र लिकको समस्याले आफूजस्ता लाखौं विद्यार्थी पीडित भएको बताएका छन् । रोहिणीका ती छात्र निहाल सिंहले विद्यार्थीमा यसले ठूलो मानसिक समस्या निम्त्याएको बताए । उनले भनेका छन्, ‘मैले तीन पटक निट परीक्षा दिएको छु । पहिलो पटक गत वर्ष (२०२५) परीक्षा दिएको थिएँ । केही अंक नपुग्दा आफूले चाहेको मेडिकल कलेजमा भर्ना हुन सकिनँ । त्यसपछि यस वर्ष ३ मे र २१ मेमा भएका दुवै परीक्षा दिएँ । ३ मेमा भएको परीक्षा निकै राम्रो भएको थियो । अब एक वर्षको मिहिनेत सफल हुन्छ भन्ने ठूलो आशा थियो । तर त्यसैबीच प्रश्नपत्र बाहिरिएको खबर आयो । पुनः परीक्षा दिनुपर्दा अवस्था निकै कठिन बन्यो । यति छोटो अन्तरालमा एउटै परीक्षा दुई पटक दिनु आफैंमा मानसिक आघात (ट्रमा) हो ।’ 

भारतीय कंग्रेसका अध्यक्ष एवं राज्यसभामा प्रतिपक्षी नेता मल्लिकार्जुन खड्गेले प्रधानमन्त्री नरेन्द्र मोदीले विद्यार्थीको जीवन बर्बाद बनाइरहेको आरोप लगाए । ‘नरेन्द्र मोदी केवल अरूको दोष देखाइरहन्छन् । तर उनी आफैंले भने देशका लागि केही गरेका छैनन्,’ पत्रकारहरूसँगको कुराकानीमा उनले भने, ‘एकातर्फ मोदीले नै बनाएको ट्रस्टमा उनले छानेकै व्यक्तिले भेटी चोरी गरिरहेका छन् । अर्कोतर्फ लाखौं विद्यार्थी आजित छन्, उनको जिन्दगी बर्बाद भइरहेको छ । यो सबै मोदी र उनकै सरकारका कारण भएको हो ।’

त्यस्तै आम आदमी पार्टीकी नेता एवं दिल्लीकी पूर्वमुख्यमन्त्री आतिशीले युवाहरूको जायज माग सुन्नुको साटो सरकारले दमन गरेको बताएकी छन् । सोमबार पत्रकार सम्मेलनमा उनले भनिन्, ‘देशका युवाले यति त भनेका हुन्– प्रश्नपत्र लिक रोक र जिम्मेवार व्यक्तिलाई बर्खास्त गर । तर मोदी सरकारले उनीहरूको आवाज सुन्नु त कहाँ हो कहाँ, शान्तिपूर्ण प्रदर्शन गरिरहेका युवाहरूमाथि लाठी र अश्रुग्यासका गोला बर्सायो । सरकारले चाहेको भए विद्यार्थीसँग वार्ता गर्न सक्थ्यो । तर उसले दमनको बाटो रोज्यो, यो अहंकार छिट्टै नै अन्त्य हुनेछ ।’

Demands for education system reform cause uproar from Delhi's streets to Parliament

आजाद समाजवादी पार्टी (काशीराम) का अध्यक्ष चन्द्रशेखर आजाद पनि सरकारले युवाहरूको समस्या सुन्नुपर्ने बताउँछन् । ‘सरकारले युवाहरूको समस्या सुन्नुपर्छ र जतिसक्दो चाँडो उनीहरूको माग सम्बोधन गरियो त्यति नै राम्रो हुन्छ । यो केवल एउटा मन्त्रीको विषय मात्र होइन । यदि युवाहरूको असन्तोष पोखियो भने तपाईंहरूले संसद्मा एक सिट पनि जित्न सक्नु हुनेछैन । यो बुझ्नुहोस् कि देशको ५१ प्रतिशत जनसंख्या युवा नै छन्’ उनको भनाइ उद्धृत गर्दै स्थानीय सञ्चार संस्थाहरूले लेखेका छन् । समाजवादी पार्टीले पनि विद्यार्थीमाथि लाठी बर्साउनु निकै निन्दनीय र अलोकतान्त्रिक भएको जनाएको छ ।

सोमबारको मार्चमा विभिन्न विपक्षी दलका नेताहरूसमेत पुगेका थिए । आजाद समाजवादी पार्टी (काशीराम) का प्रमुख चन्द्रशेखर आजाद, तृणामूल कांग्रेस सांसद महुवा मोइत्रालगायतका नेताहरू पनि मार्चमा सहभागी भए । त्यस्तै दिल्लीकी पूर्वमुख्यमन्त्रीसमेत रहेकी आतिशी र आम आदमी पार्टीका नेताहरू मनीष सिसोदिया, सञ्जय सिंहलगायतका नेताहरू पनि मार्चमा सहभागी थिए । विद्यार्थीको आन्दोलनलाई प्रकाश राज, सबाना आजमी, विशाल ददलानी, सोनाक्षी सिन्हा, स्वरा भाष्करलगायतका कलाकारले पनि समर्थन जनाएका छन् ।

सरकारसँग औपचारिक रूपमा संवादको सुरुवात

एक महिनादेखि भारतीय राजधानी दिल्लीमा धर्नारत युवाहरूको मागबारे केन्द्र सरकारले सोमबार पहिलोपल्ट औपचारिक रूपमा प्रतिक्रिया दिएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नड्डाले सीजेपी प्रतिनिधिसँग सौहार्दपूर्ण वार्ता भएको जानकारी दिएका हुन् ।

Demands for education system reform cause uproar from Delhi's streets to Parliament

सीजेपीका प्रवक्ताद्वय सौरभ दास र आशुतोष रांकासँगको भेटवार्ताको तस्बिर सार्वजनिक गर्दै मन्त्री नड्डाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज बिहान पहिलोपल्ट प्रदर्शनकारीका तर्फबाट सरकारसँग वार्ताको प्रस्ताव आयो । बिहान ११ः५० देखि हाम्रो कुराकानी जारी छ । सौहार्दपूर्ण वातावरणमा भेट भयो । डेलिगेसनसँग पहिले विस्तारपूर्वक मौखिक छलफल भयो, त्यसपछि उहाँहरूले मलाई ४ बजे लिखित मागपत्र दिनुभयो ।’ मन्त्री नड्डाले प्रदर्शन अन्त्य गर्न र सामान्य अवस्था बनाउन प्रशासनलाई सहयोग गर्न अनुरोध गरेको पनि बताएका छन् ।

सीजेपी प्रवक्ता दासले भने आफू र रांका १२ बजेदेखि नड्डा निवासमा रहेको जानकारी दिँदै भनेका छन्, ‘धर्मेन्द्र प्रधानको तत्काल राजीनामा वा बर्खास्तीको मागसहित आन्दोलनकारीहरूको माग उहाँसमक्ष राखिएको छ । मन्त्रीले यी मागहरू उपयुक्त तहमा छलफल गर्ने आश्वासन दिनुभएको छ । तर अहिलेसम्म कुनै ठोस प्रतिबद्धता आएको छैन । माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलनकारीहरू पछि हट्ने छैनन् ।’

यसअघि उनले मन्त्री नड्डासमक्ष राखेको मागबारे पनि जानकारी दिएका थिए । उनीहरूले वाङ्चुकको तत्काल रिहाइ, शिक्षामन्त्री प्रधानको राजीनामा र आत्महत्या गरेका सबै निट परीक्षार्थीका परिवारलाई १ करोड रुपैयाँ क्षतिपूर्तिलगायतका माग राखेका छन् ।

भारतीय संसद्‍मा पनि हलचल 

प्रदर्शनका कारण जन्तरमन्तर आसपासका क्षेत्र सोमबार दिनभर तनावग्रस्त हुँदा नजिकैको संसद् भवनभित्रको अवस्था पनि उस्तै रह्यो । सोमबारदेखि नै सुरु भएको मनसुन सत्रको पहिलो दिन नै संसद्का दुवै सदन लोकसभा र राज्यसभाका बैठक पटक–पटक स्थगित भए । विपक्षी सांसदले निट प्रश्नपत्र बाहिरिएको, राम मन्दिरको भेटी चोरी र जन्तरमन्तरको प्रदर्शनको विषयलाई लिएर विरोध जारी राखे । लोकसभामा त विपक्षी सांसदले नाराबाजीसमेत गरे । निटको अनियमितता र राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको दान चोरीको विषय छलफलमा हुनुपर्ने उनीहरूले माग गरे ।

त्यस्तै राज्यसभामा प्रतिपक्षी नेता मल्लिकार्जुन खड्गेले जन्तरमन्तरमा विद्यार्थीको प्रदर्शनमा सरकारले बल प्रयोग गरेको आरोप लगाए । संसद् बैठक सुरु हुनासाथ खडगेले भने, ‘यो लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको विषय हो । आज हजारौं विद्यार्थी जन्तरमन्तरमा भेला भएका छन् तर उनीहरूमाथि लाठीचार्ज गरिएको छ । सरकारले विद्यार्थीमाथि दमन गरिरहेको छ । सरकारले उनीहरूको आवाज दबाउने प्रयास गरिरहेको छ ।’ जबकि मनसुन अधिवेशन सुरु हुनुअघि राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी दलहरूलाई संसद्को बैठकमा सक्रियतापूर्वक सहभागी हुन आग्रह गरेका थिए । ‘मलाई विश्वास छ, जहाँ तथ्य हुन्छन्, त्यहाँ हंगामा आवश्यक पर्दैन । यदि तपाईंका तर्क र तथ्य बलिया छन् भने आवाज चर्काउनुपर्ने आवश्यकता हुँदैन । संसद्मा तथ्य र तर्कका आधारमा छलफल हुनेछ भन्ने अपेक्षा गरेको छु । हरेक आवाज सुनिने अवसर पाउनुपर्छ । यही संसद्को भूमिका हो ।’

साभारः कान्तिपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *