कोशी ब्यारेज जीर्ण हुँदा जोखिम

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

कोशी ब्यारेजको पुल आफ्नो आयु पूरा भएसँगै जीर्ण बन्दै गएको छ । बढ्दो सवारी चाप र बाढीका कारण यस पुलमाथि निरन्तर जोखिम बढिरहेको छ । पानीको बहाव बढेसँगै केही दिनयता कोशी ब्यारेजको पुलमा एकतर्फी सवारीसाधन सञ्चालन गरिएको छ ।

निर्धारित आयुभन्दा डेढ दशकभन्दा बढी समय सञ्चालनमा आइसकेको यस पुलबाट दैनिक हजारौँ भारी सवारीसाधन गुड्छन्, जसले गर्दा यसको संरचनामा बढी दबाब पर्ने गरेको छ । वर्षायाममा पानीसँगै आउने बालुवा र ढुङ्गा/माटो (गेग्रान) ले समेत नदीको सतह बढाउँदै लगेको छ, जसले पुलको संरचनालाई थप खतरामा पारेको छ ।

सन् १९६२ मा निर्माण सम्पन्न गरिएको कोशी ब्यारेजको आयु ५० वर्ष तोकिएको थियो तर पुलको आयु ६४ वर्ष नाघिसकेको छ । कोलकाताको जोसेफ एन्ड कम्पनी लिमिटेडले कोशी ब्यारेज निर्माण गरेको  थियो ।

कोशी ब्यारेजको निर्धारित आयु समाप्त भइसकेकाले कुनै पनि समय नदीको बहावले ब्यारेजमा क्षति पुगी जनधनको ठुलो क्षति हुन सक्छ । यसको जोखिम अत्यन्तै संवेदनशील र गम्भीर हुन सक्छ । यसले नेपालका पूर्वी जिल्लाहरू र भारतको बिहार राज्यका ठुला भूभागलाई सिधै असर पार्न सक्छ । तैपनि यस ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सडक र पुल निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

सडक विभागका अनुसार कोशी ब्यारेजको विकल्पमा नयाँ पुल र सडक निर्माणका लागि अध्ययन र डिजाइनसमेत सम्पन्न भइसकेको छ । प्रस्तावित नयाँ पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भए पनि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले अनुमति नदिँदा निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको हो । एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा छ वर्षअघि कोशी ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सडक र पुल निर्माणको डिपिआर तयार गरिएको थियो ।

भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडिबी) का प्रमुख (आयोजना निर्देशक) चूडाराज ढकालले एडिबीको सहयोगमा सडक र पुल निर्माणका लागि तयार गरिएको रेखाङ्कन (एलाइनमेन्ट) नेपाल सरकारद्वारा स्वीकृत भएर पनि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले अनुमति नदिँदा निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको बताए  ।

निर्देशक ढकालका अनुसार प्रस्ताव गरिएको सडकको चौडाइ चार लेन र सडकको कुल लम्बाइ ४४.२ किलोमिटर हुने छ । त्यसै गरी नयाँ पुलको लम्बाइ दुई हजार ८६० मिटरको हुने छ । नयाँ ‘एलाइनमेन्ट’ अनुसार वैकल्पिक सडकमा सानाठुला गरी ३४ वटा पुल पर्छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलले कोशी ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सडक र पुलबारे अहिलेसम्म राजनीतिक तह र मन्त्रालयस्तरमा नै सहमति हुन नसकेको बताए

उनका अनुसार अहिलेको ब्यारेजसँगै वा ब्यारेजभन्दा माथि भएर नयाँ सडक र पुल निर्माण गर्ने विषय मुख्य सहमतिमा पुग्न नसकेको हो । यसअघि नै मन्त्रीपरिषद्को बैठकले अहिलेको ब्यारेजको माथिबाट नै सडक र पुल निर्माण गर्ने निर्णय गरिसकेको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य तथा सडक विभागका पूर्वमहानिर्देशक अर्जुनजङ्ग थापाले प्रस्तावित नयाँ सडक र पुल निर्माणले राजमार्गको मार्ग (एलाइनमेन्ट) समेत सिधा हुने र दुरीसमेत कम हुने बताए । अहिले कोशी नदीक्षेत्रमा पूर्व–पश्चिम राजमार्गको रेखाङ्कन (एलाइनमेन्ट) नेपाल–भारत सिमाना हुँदै गएको छ ।

प्रस्तावित नयाँ सडक सप्तरीको कञ्चनपुर हुँदै कालिन्चोक, रामपुर, बुद्धनगर, मानपुरजोरा, एकराही, तीनकुने, राजबास, कोशी, भागलपुर, गल्फेरिया, तपेश्वरी, त्रियुगा, मालेट, धरमपुर र सुनसरीको पकलीमा जोडिन्छ । तराई भूभागमा एक सय किलोमिटर प्रतिघण्टा र पहाडी क्षेत्रमा ६० किलोमिटर प्रतिघण्टा सवारी गुड्न सक्ने गरी डिजाइन गरिएको छ ।

एक दशकअघिदेखि सामान्य मर्मत गरेर चलिरहेको कोशी ब्यारेज पुलको ५५ र ५६ नम्बर ढोका खण्ड केही भासिएको छ । सप्तरीतर्फको सडक र पुलको भाग १५ मिटरसम्म साबिकको भन्दा भासिएकाले दुर्घटनाको जोखिम बढेपछि एकतर्फी रूपमा आलोपालो गरेर सवारीसाधन गुडिरहेका छन् भने दैनिक हजारौँ यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका स्थानीय बताउछन् ।

यसपालि सप्तरीबाट प्रवेश गर्ने बिन्दुमै ५५ र ५६ नम्बर ढोका खण्डमा पुल आंशिक भासिएको छ । प्रहरीले दुर्घटना जोखिमलाई ध्यानमा राखेर सवारीसाधन एकतर्फी गरेको छ । एउटा गाडी जाँदा मोटरसाइकल र पैदल यात्रुलाई समेत हिँड्न समस्या रहेकाले सरोकारवाला निकायले तत्काल मर्मत गर्नुपर्ने बताएका  छन् ।

ठुला ठुला सवारी साधनदेखि मोटरसाइकलसम्मका हजारौँ गाडी र यात्रु कोशी ब्यारेज पुल खण्डबाट दिनहुँ आवतजावत गर्दै आएकोमा मर्मत नहुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य भएको सवारीचालकहरू बताउछन् । कोशी सम्झौता अनुसार ब्यारेज तथा यस क्षेत्रको मर्मतसम्भारको जिम्मेवारी कोशी आयोजना (बिहार जल संसाधन विभाग भारत सरकार) अन्तर्गत पर्ने भए पनि मर्मत नभएको स्थानीयवासीको गुनासो छ ।

यात्रुको सुरक्षासँग जोडिएको सडकको अवस्था, पुल र सडक जीर्ण बन्दै गएको विषयमा भारतीय अधिकारीलाई जानकारी गराएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

प्रजिअ घिमिरेले सुनसरी खण्डमा कोशी ब्यारेज पुल तथा कमजोर तटबन्धको मर्मत गरिएको जानकारी दिँदै ठुलो बाढीका कारण कुनै स्थानमा कटान वा तटबन्धमा क्षति पुगेमा सम्बन्धित आयोजना, जिल्ला प्रशासन र सुरक्षा निकाय तत्काल परिचालन हुने गरी तयारी अवस्थामा रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेबे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका उपअनुसन्धान निर्देशक विमल घिमिरेलगायत सुरक्षा निकायका प्रतिनिधिहरूले हालै कोशी ब्यारेजको अनुगमन गरेका छन् ।

अध्ययन अनुसार कोशी पुल निर्माणका लागि २१ अर्ब ७४ करोड र सडक निर्माणका लागि २० अर्ब ६३ करोड रुपियाँ खर्च हुने सो वैकल्पिक पुल र सडक निर्माणका लागि एसियाली विकास बैङ्क (एडिबी) को सहयोग मा निर्माण गरिने छ । यसअघि एडिबीकै सहयोगमा प्रस्तावित सडक र पुलको डिपिआर गरिएको थियो ।

साभारः गाेरखापत्र दैनिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *