पूर्वी नेपालको पहाडी जिल्लामा मनसुन सक्रिय भएसँगै सप्तकोसी नदीको बहाव क्रमशः बढ्न थालेपछि सम्भावित बाढी, कटान, डुवान तथा तटीय जोखिम न्यूनीकरणका लागि स्थानीय प्रशासन उच्च सतर्कतामा पुगेको छ । यस क्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको नेतृत्वको प्रशासनिक, प्राविधिक र सुरक्षा पदाधिकारीहरुको टोलीले कोसी ब्यारेजदेखि उत्तर चतरासम्मका तटबन्ध, स्पर तथा नदी नियन्त्रण संरचनाको नियमित अनुगमनलाई तीव्र पारेको छ । त्यस्तै प्रशासनले आवश्यक मर्मत–सम्भार समयमै सम्पन्न गर्न भारतीय पक्षसँग समन्वय पनि थप सुदृढ बनाइएको छ ।
पहाडी जिल्लाहरुमा परेको अविरल वर्षापछि सप्तकोशी नदीमा निरन्तर पानीको वहाव बढिरहेको र नदीमा बाढी आइ तटबन्ध र स्परहरुको कटान प्रारम्भ भएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको हो । कोशी व्यारेजको रेकर्डअनुसार सोमबार अपरान्हको समयमा सप्तकोशी नदीमा पानीको वहाव २ लाख ३७ हजार ९६५ क्युसेक रहेको छ । ५६ वटा ढोकामध्ये ३० वटा ढोका पूर्णरुपले खोलिएको छ ।
नेपाल–भारतबिचको कोसी सम्झौता–१९५४ (सन् १९६६ मा संशोधित) बमोजिम कोसी ब्यारेजदेखि उत्तर चतरासम्मका मुख्य तटबन्ध, स्पर तथा सम्बन्धित संरचनाको सञ्चालन, संरक्षण र मर्मत–सम्भार गर्ने जिम्मेवारी भारतीय पक्षको हो । यही व्यवस्थाअनुसार मनसुन अवधिभर भारतीय समकक्षी अधिकारीहरूसँग नियमित समन्वय भइरहेको र जोखिम देखिने स्थानमा तत्काल मर्मत गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ ।
प्रजिअ घिमिरेका अनुसार मनसुनका बेला नदीको बहाव छोटो समयमै उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले कोसी ब्यारेज तथा आसपासको तटीय बाँध, स्पर लगायतको क्षेत्रमा कटानको सम्भावना भएका क्षेत्रको २४ घण्टा निगरानी भइरहेको छ ।
कोसी व्यारेज नियन्त्रण कक्षका अनुसार नदीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि उच्च सतर्कता अपनाइँदै रातो बत्ती र रातो झण्डामार्फत चेतावनी जारी गर्ने व्यवस्था छ । जल तथा मौसम विज्ञान विभागले पनि केही दिन पूर्वी नेपालको पहाडी क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाउँदै सप्तकोशी नदीको बहाव थप बढ्न सक्ने भएकाले आवश्यकताअनुसार थप ढोका सञ्चालन गर्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ ।
सप्तकोसी नेपालको सबैभन्दा ठुलो नदी प्रणाली हो । अरुण, तमोर, सुनकोसी, दुधकोसी, तामाकोसी, भोटेकोसी र इन्द्रावती नदीको संगमबाट बनेको यो नदी मनसुनका बेला सातवटै जलाधार क्षेत्रमा एकैसाथ वर्षा हुँदा अत्यधिक वेगका साथ बग्ने गर्छ । नदीमा बाढी आएर कटान र डुवान हुँदा यसले सुनसरी, सप्तरी र उपयपुर जिल्लामा मात्र प्रभाव पार्ने नभइ भारतको बिहारको ठुलो क्षेत्रलाई समेत प्रभाव पार्दैआएको छ । यही कारण कोसीलाई दशकौँदेखि ’बिहारको दुःख’ का रूपमा चिनिँदै आएको छ ।
सुनसरी, सप्तरी र उदयपुरका तटीय क्षेत्रमा कटान, डुबान तथा बस्ती जोखिमको सम्भावना रहने भएकाले मनसुन सुरु हुनुअघि नै तटबन्ध र स्परहरूको अवस्था परीक्षण तथा मर्मतलाई उच्च प्राथमिकतामा राख्ने गरिएको छ ।
इतिहासले दिएको चेतावनी
सप्तकोसी नदीको इतिहास प्राकृतिक विपद्का दृष्टिले निकै संवेदनशील मानिन्छ । विशेषगरी २०६५ सालको भदौ २ गते सुनसरीको कुशाहा क्षेत्रमा तटबन्ध भत्किएपछि नदीले पुरानो धार समातेको थियो । त्यस घटनाले नेपाल र भारतका लाखौँ नागरिक प्रत्यक्ष प्रभावित भएका थिए ।
हजारौँ परिवार विस्थापित भएका थिए । उक्त घटनापछि कोसी व्यवस्थापन, तटबन्धको नियमित मर्मत तथा नेपाल–भारतबिचको प्राविधिक समन्वयलाई थप प्रभावकारी बनाउने अभ्यास सुरु गरिएको थियो ।
त्यस्तै, दुई वर्ष अगाडि पनि सप्तकोसी नदीको बहाव ३ लाख ६९ हजार क्युसेकभन्दा बढी पुगेको थियो । त्यसबेला पानीको सुरक्षित निकासका लागि कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोल्नुपरेको थियो, जसले नदीको जोखिम क्षमतालाई पुनः स्मरण गराएको थियो ।
उच्च तयारीमा सुरक्षा संयन्त्र
जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार कोसी तटीय क्षेत्रको निगरानीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह तथा जिल्ला विपद् व्यवस्थापन समितिलाई तयारी अवस्थामा राखिएको छ । सम्भावित जोखिमयुक्त क्षेत्रमा उद्धार सामग्री, जनशक्ति तथा आवश्यक उपकरण तयारी अवस्थामा राखिएको छ ।
यस क्रममा प्रशासनिक, प्राविधिक र सुसक्षा निकायको टोली अहिले फिल्डमा नै परिचालित रहेर कमजोर तटबन्ध तथा कटान सुरु भएका स्थानमा तत्काल मर्मतका लागि सम्बन्धित निकायलाई निर्देशनसमेत दिइएको छ ।
स्थानीय प्रशासनले कोसी तटीय क्षेत्रका स्थानीयवासीलाई नदीको बहाव, मौसम पूर्वानुमान तथा सरकारी सूचनामाथि निरन्तर ध्यान दिन आग्रह गरेको छ । अफवाहमा विश्वास नगर्न, जोखिम बढेमा ढिलाइ नगरी सुरक्षित स्थानतर्फ जान र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरिएको छ ।
साभारः गाेरखापत्र दैनिक ।
