अघिल्लो आर्थिक वर्षमा देशभरका अदालतले ५५ प्रतिशत मुद्दा फर्स्योट गरेका छन् । सर्वोच्च अदालत, उच्च अदालत तथा मातहतका इजलास, जिल्ला अदालत र विशिष्टीकृत अदालतले कुल लगतको ५५.०३३ प्रतिशत मुद्दा फर्स्योट गरेका हुन् । सर्वोच्चले कुल लगतको २९.४६ प्रतिशत मुद्दा फर्स्योट गरेको छ ।
सर्वोच्च अदालतले उपलब्ध गराएको आर्थिक वर्ष २०८२/८३ को विवरण अनुसार सर्वोच्च अदालत, उच्च अदालत तथा इजलास, जिल्ला अदालत एवं विशिष्टीकृत अदालत र न्यायाधीकरणमा जिम्मेवारी सरेकासमेत तीन लाख ५७ हजार २३ थान मुद्दा लगत कायम भएका छन् । कुल लगतमा रिटको विवरण पनि सामेल गरिएको छ । जसमध्ये एक लाख ९६ हजार ४७४ थान मुद्दा फर्स्योट भएका छन् । फर्स्योट दर कुल लगतको ५५.०३३ प्रतिशत हो ।
असार मसान्तसम्मको अवधिमा सर्वोच्च अदालतमा मुद्दा तथा रिटको जम्मा लगत ३८ हजार ९३६ रहेकोमा ११ हजार ४६९ थान अर्थात् २९.४६ प्रतिशत मुद्दा फर्स्योट भएका छन् । उच्च अदालत तथा इजलासमा जम्मा लगत ६० हजार ५६४ कायम रहेको ४२ हजार ६१४ थान मुद्दा फर्स्योट भएका छन् । फर्स्योट सङ्ख्या ७०.३६ प्रतिशत हो ।
देशभरका जिल्ला अदालतमा कुल मुद्दाको लगत दुई लाख ५१ हजार ७३४ कायम रहेकोमा एक लाख ३९ हजार ९७९ थान मुद्दा फर्स्योट भएका छन् । फस्र्योट प्रतिशत ५५.६१ रहेको छ । विशिष्टीकृत अदालत तथा न्यायाधीकरणमा जम्मा लगत पाँच हजार ७८९ कायम भएकोमा दुई हजार ४१२ थान मुद्दा फर्स्योट गरिएको छ । कुल लगतको ४१.६७ प्रतिशत मुद्दा फर्स्योट भएका हुन् । विवरण अनुसार सर्वोच्चमा अब एक वर्षदेखि डेढ वर्ष अवधिका मुद्दा दुई हजार ७९० थान रहेका छन् ।
यस्तै १८ महिनादेखि दुई वर्षभित्रका मुद्दा तीन हजार २७ थान छन् । चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेका अर्थात् बाँकी मुद्दा २७ हजार ४६७ थान रहेका छन् । अघिल्लो आर्थिक वर्षमा सर्वोच्चको वार्षिक लक्ष्य १९ हजार ६७९ रहेकोमा ११ हजार ४६९ थान अर्थात् ५८.२८ प्रतिशत मुद्दा फर्स्योट भएका हुन् । सर्वोच्चमा पाँच वर्ष नाघेका मुद्दाको सङ्ख्या एक हजार २७६ थान रहेको छ ।
उच्च अदालतमा एकदेखि डेढ वर्ष अवधिका मुद्दा एक हजार ६२७ बाँकी छन् । डेढ वर्षदेखि दुई वर्ष अवधिका १२४ थान बाँकी रहेका छन् । उच्च अदालत र मातहतका इजलासमा दुई वर्ष नाघेका मुद्दाको लगत असार मसान्तसम्म शून्यमा झरेको छ । उच्च अदालतले वार्षिक लक्ष्यको ९४.०८ प्रतिशत मुद्दा फर्स्योट गरेका छन् । वार्षिक लक्ष्य ४५ हजार २०४ रहेकोमा ४२ हजार ५३० थान मुद्दा एक वर्षको अवधिमा फर्स्योट गरिएको छ ।
जिल्ला अदालतमा भने वार्षिक लक्ष्यको करिब ८० प्रतिशत मुद्दा फर्स्योट भएको छ । जिल्लामा वार्षिक लक्ष्यको ७९.७७ प्रतिशत मुद्दा फर्स्योट हुँदा एक लाख ११ हजार ७५५ थान मुद्दा चालु वर्षका लागि जिम्मेवारी सरेका छन् । वार्षिक लक्ष्य कायम गरिएको एक लाख ७५ हजार ४७१ थानमध्ये एक लाख ३९ हजार ९७९ थान मुद्दा फर्स्योट भएको विवरणमा उल्लेख छ ।
विशिष्टीकृत अदालतमा वार्षिक लक्ष्यको वार्षिक लक्ष्य तीन हजार दुई थान कायम रहेकोमा दुई हजार ४१२ थान फर्स्योट भएका छन् । वार्षिक लक्ष्य अनुसारको फर्स्योट दर ८०.३५ प्रतिशत हो । विशिष्टीकृत अदालतमा तीन हजार ३७७ थान मुद्दा बाँकी छन् ।
कुँवर सबैभन्दा अघि
उच्च अदालतमा कार्यरत न्यायाधीशमध्ये टेकनारायण कुँवरले सबैभन्दा बढी मुद्दा फर्स्योट गरेकाे देखिएको छ । विशेष अदालत र उच्च अदालत जनकपुरमा गरी एक वर्षको अवधिमा कुँवरले एक हजार ४२१ थान मुद्दा फर्स्योट गरेका हुन । फरक मुद्दा व्यवस्थापन पद्धतिमा उपलब्ध विवरण अनुसार न्यायाधीश टीकाराम आचार्यले एक हजार २२९ थान मुद्दा फर्स्योट गरेका छन् भने अर्का न्यायाधीश जगतबहादुर थापाले एक हजार १६९ थान मुद्दा फर्स्योट गरेर तेस्रो स्थानमा छन्।
यस्तै न्यायाधीश सोमकान्त मैनालीले एक हजार ५९, नरिश्वर भण्डारीले एक हजार २०, जगदीश घिमिरेले एक हजार दुई थान मुद्दा फर्स्योट गरेका छन् । मुद्दा फर्स्योटको सातौँ स्थानमा गोकर्ण डाँगी छन् उनले ९८२, कृष्णप्रसाद सुवेदीले ९५३, राजुराम सिलवालले ९४० र कैलाशप्रसाद सुवेदीले ९३३ थान मुद्दा फर्स्योट गरेका छन् । बढी मुद्दा फैसला गर्ने १० न्यायाधीशको विवरण सर्वोच्च अदालतले सार्वजनिक गरेको हाे ।
जिल्लामा भण्डारी अगाडि
सर्वोच्चको विवरण अनुसार जिल्ला अदालतमध्ये सबैभन्दा बढी मुद्दा फैसला कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीले गरेका छन् । उनले एक हजार ११ थान मुद्दा फर्स्योट गरेका छन् । यस्तै माधवप्रसाद घिमिरेले ९८४, हरिप्रसाद शर्मा उपाध्यायले ९७९, कपिलमणि गौतमले ८७९ र विष्णुप्रसाद गौतमले ८७९ थान मुद्दा फैसला गरेका छन् । गौतम गोरखा जिल्ला अदालतमा कार्यरत छन्। मुद्दा फर्स्योटको छैटौँ स्थानमा इलाम जिल्ला अदालतका न्यायाधीश रोशन गजुरेल छन उनले ८२९ थान मुद्दा फर्स्योट गरेका छन् । न्यायाधीश मनोज केसीले ८२७, दुर्गाबहादुर भुसालले ८२१, मनोजकुमार श्रीवास्तवले ८१८ र भुवनसिंह थापाले ८१५ थान मुद्दा फर्स्योट गरेका छन् ।
