पूर्व-पश्चिम राजमार्गमा बस ठोक्किँदा २४ जना घाइते

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

 वाणगङ्गा नगरपालिका–७, घेरुवा बनगाईस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा दुई वटा यात्रीवाहक बस एकापसमा ठोक्किँदा २४ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ९०७७ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ ख ९८७६ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट वरिष्ठ प्रहरी नायब निरीक्षक यज्ञबहादुर पुनको नेतृत्वमा नौ सदस्यीय टोली घटनास्थलमा पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो । घाइते सबैलाई तत्कालै सामुदायिक अस्पताल पिपरामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार दुर्घटनामा घाइते भएका २४ जनामध्ये छ जनाको अवस्था मध्यम र १८ जनाको अवस्था सामान्य रहेको छ । घाइते सबैको सामुदायिक अस्पताल पिपरामा उपचार भइरहेको र सबै जना खतरामुक्त रहेको उनले जानकारी दिए  ।

प्रहरीका अनुसार बुटवलबाट दाङतर्फ जाँदै गरेको लु १ ख ९०७७ नम्बरको बसमा करिब १२ जना यात्री सवार थिए । उक्त बसका चालक रूपन्देहीको सैनामैना नगरपालिका–१, बरुवाका मनोजकुमार पुन प्रहरी नियन्त्रणमा रहेका छन् । चालकसँग सवारी कागजपत्र नरहेको र मादक पदार्थ सेवन नगरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै, कृष्णनगरबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसका चालक कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१, प्रगतिनगर निवासी कृष्ण वि.क. पनि घाइते भएका छन् । उनको टाउको र छातीमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक सिंहका अनुसार दुर्घटनापछि राजमार्ग अवरुद्ध नभएको र दुवैतर्फको सवारी आवागमन नियमित रूपमा सञ्चालन भइरहेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *