राति यात्रा नगर्न प्रशासनको आग्रह

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अविरल वर्षाका कारण मकवानपुरका विभिन्न स्थानमा बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मङ्गलबार साँझदेखि बुधबार बिहानसम्म केही मुख्य सडकमार्गमा सवारी सञ्चालन पूर्ण रूपमा बन्द गरेको छ ।

प्रशासनले हेटौँडा–भैँसे–काठमाडौँ सडक खण्ड र हेटौँडा हुँदै काठमाडौँ जाने कान्ति राजपथमा असार ३० गते साँझ ६ः३० बजेदेखि असार ३१ गते बिहान ५ः०० बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरेको हो ।

प्रशासनका अनुसार मौसम पूर्वानुमानअनुसार थप वर्षा हुने सम्भावना रहेको, मकवानपुरको बागझारा क्षेत्रमा जुनसुकै बेला पानीको ठुलो भेल आउन सक्ने जोखिम रहेको तथा भीमफेदीस्थित बेलिब्रिज मर्मतका क्रममा रहेकाले वैकल्पिक डाइभर्सन बाढीले बगाएको अवस्थालाई मध्यनजर गर्दै रातिको यात्रा रोकिएको हो ।

हेटौँडा–भीमफेदी–सिस्नेरी सडक खण्डमा वर्षा हुनासाथ ढुङ्गा खस्ने र पहिरो जाने उच्च जोखिम रहेकाले यात्रुको सुरक्षाका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक अवस्थाबाहेक रात्रिकालीन समयमा कुनै पनि सडक मार्गमा यात्रा नगर्न सवारी चालक तथा यात्रुलाई आग्रह गरेको छ ।

कान्ति राजपथमा सवारी आवागमनसम्बन्धी यसअघि लागू गरिएको व्यवस्था यथावत् रहने पनि प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले यात्रुको सुरक्षा तथा सम्भावित सडक दुर्घटना न्यूनीकरणका लागि रात्रिकालीन सवारी सञ्चालन बन्द गरिएको जानकारी दिए ।

उनले कुनै विपद्जन्य घटना वा आपतकालीन अवस्था सिर्जना भएमा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको निःशुल्क सम्पर्क नम्बर १२३४, सम्बन्धित स्थानीय तह, स्थानीय जनप्रतिनिधि, नजिकको सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउन अनुरोध गरे  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *