नेटो सहयोगीहरूले तत्काल रक्षा बजेट बढाउनुपर्ने ट्रम्प प्रशासनको चेतावनी

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अमेरिकाले उत्तर एटलान्टिक सन्धी (नेटो) सदस्य राष्ट्रहरूलाई आफ्नो रक्षा खर्च तत्काल बढाउन कडा चेतावनी दिएको छ ।टर्किएको अंकारामा हुने यस वर्षको नेटो सम्मेलनको पूर्व सन्ध्यामा  अमेरिकी अधिकारीहरुले यस्तो चेतावनी दिएका हुन् । यस नीतिले गर्दा मंगलबारबाट सुरु हुने शिखर सम्मेलनमा नेटो गठबन्धनभित्र तनावको वातावरण सिर्जना हुने जोखिम छ ।

सदस्य राष्ट्रहरूले रक्षा बजेट नबढाए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने उनीहरुको चेतावनी छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबद्धताअनुसार रक्षा खर्च नबढाएको भन्दै लामो समयदेखि नेटो सदस्य राष्ट्रहरुको आलोचना गर्दै आएका छन् ।

यसअघि ट्रम्पको जोडबलमा गत वर्ष नेदरल्यान्डसको हेगमा भएको सम्मेलनका दौरान नेटोका सदस्य देशहरुले सन् २०३५ सम्म आफ्नो कुल ग्राहस्थ उत्पादन (जीडिपी) को ५ प्रतिशत रकम सुरक्षा क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाएका थिए । तर, धेरै देशहरु उक्त प्रतिबद्धता पूरा गर्ने बाटोमा निकै पछि परेको अमेरिकी अधिकारीहरुको निष्कर्ष छ । 

यसै साता बेलायती प्रधानमन्त्री सर किअर स्टार्मरले रक्षा बजेट १५ अर्ब पाउण्डले वृद्धि गर्ने घोषणा गरेका थिए । यो वृद्धिका बाबजुद सन् २०२९ सम्ममा बेलायतको रक्षा खर्च कुल जीडीपीको २.७ प्रतिशत मात्र पुग्ने देखिन्छ ।

नेटोका लागि अमेरिकी राजदूत म्याट ह्वाइटेकरले आइतबार राति भने, ‘केही सहयोगी राष्ट्रहरूले अरूभन्दा बढी काम गरिरहेका छन् । पोल्याण्ड, नोर्डिक देशहरू र बाल्टिक देशहरू यसमा अग्रपङ्क्तिमा छन् ।’

उनले थपे, ’तर, धेरै देशहरू पछि परेका छन् । सबै सहयोगी राष्ट्रहरूले तत्काल प्रभावकारी कदम चाल्ने राष्ट्रपति ट्रम्पको अपेक्षा छ । उनीहरूलाई सकेसम्म चाँडो ५ प्रतिशतको लक्ष्य पूरा गर्ने बाटोमा लैजानुपर्ने आवश्यकता छ ।’

बेलायती सञ्चारमाध्यम द टेलिग्राफमा प्रकाशित समाचारअनुसार ट्रम्पले नेटो सदस्य राष्ट्रहरूले गर्ने रक्षा खर्चको आधारमा उनीहरूलाई पुरस्कार दिने वा दण्ड दिने योजना बनाइरहेका छन् ।

विशेषज्ञहरूका अनुसार ट्रम्प प्रशासनको यो कडा अडानले नेटोभित्रको शक्ति सन्तुलन र सुरक्षा रणनीतिमा ठूलो परिवर्तन ल्याउन सक्ने सम्भावना छ । मंगलबार सुरु हुने सम्मेलन बुधबारसम्म चल्नेछ ।

सम्मेलनका दौरान ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदमेर जेलेन्स्कीसँग विशेष भेटघाट गर्नेछन् । बुधबार हुने उक्त भेटमा रुस–युक्रेन युद्धका विषयमा गहिरो छलफल हुने अपेक्षा गरिएको छ ।जेलेन्स्कीले रुसविरुद्धको लडाँइमा हतियार तथा मिसाइल सहयोग गर्नका लागि अमेरिका तथा युरोपेली देशहरुलाई आग्रह गर्दै आएका छन् ।ट्रम्पले शिखर सम्मेलनकै दौरान सिरियाली राष्ट्रपति अहमद अल–सारासँग पनि भेट गर्ने योजना बनाएका छन् ।

ट्रम्पले लेबनानमा हिजबुल्लाहसँग लड्न सिरियाले अझ ठूलो भूमिका खेल्ने बताउँदै आएका छन् । यद्यपी, साराले आफुलाई यस विषयमा कुनै चासो नभएको बताउँदै आएका छन् । अमेरिकी राष्ट्रपतिले सम्मेलनका आयोजक टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग पनि विशेष भेट गर्ने योजना बनाएका छन् । ट्रम्पसँग उनको पनि राम्रो सम्बन्ध छ ।

तर, उनले अन्य नेताहरूसँग दुईपक्षीय बैठकको योजना बनाएका छैनन् । पछिल्लो समय युरोपेली नेताहरुसँग ट्रम्प सम्बन्ध खासै राम्रो छैन ।यसअघि गत जुनको मध्यमा फ्रान्समा भएको शिखर सम्मेलनबाट फर्किएलगत्तै ट्रम्पले युरोपेली नेताहरुको आलोचना गरेका थिए । किअर स्टार्मरले बेलायतको प्रधानमन्त्रीबाट औपचारिक रुपमा राजीनामा गर्नुअघि नै ट्रम्पले उनको राजीनामा आउने खुलासा गरेका थिए ।

त्यस्तै, जी ७ सम्मेलनका दौरान इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले आफूसँग तस्बिरका खिच्नका लागि निकै कर गरेको दाबी पनि ट्रम्पले गरे । मेलोनीले यसको कडा खण्डन गरिन् र इटालीका विदेश मन्त्रीको अमेरिका भ्रमण नै रद्द भयो ।ग्रिनल्यान्डबारे दिएको अभिव्यक्तिका कारण डेनमार्क ट्रम्पसँग चिढिएको छ । गत महिना ट्रम्पलाई भर्साइल्सको दरबारमा भव्य डिनर दिएका फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोसँग पनि विगतमा ट्रम्पको सम्बन्ध चिसिएको थियो ।

ट्रम्पले इरान युद्धमा नेटो सहयोगीहरुले पर्याप्त सहयोग नगरेको आरोप लगाउँदै आएका छन् । सन् १९४९ मा स्थापना भएको नेटोमा अहिले ३२ राष्ट्र सदस्य छन् ।

किभमा रुसको आक्रमण 

टर्किएमा नेटोको सम्मेलन सुरु हुने पूर्वसन्ध्यामा रुसले सोमबार बिहानै युक्रेनको राजधानी किभमा घातक आक्रमण गरेको छ ।रुसले लगातार ब्यालेस्टिक मिसाइल ड्रोन प्रहार गर्दा कम्तिमा किभमा कम्तिमा १२ जना र नजिकैका क्षेत्रमा कम्तिमा ६ जनाको मृत्यु भएको छ । त्यस्तै दर्जनौं घाइते रहेको स्थानीय अधिकारीले बताएका छन् । 

किभका मेयर भिटाली क्लिट्स्च्कोका अनुसार चारवटा जिल्लामा ठूलो क्षति निम्तिएको छ । नेटो सम्मेलनमा रुस–युक्रन युद्धबारे गहिरो छलफल हुने अपेक्षा गरिएको छ ।यस दौरान जेलेन्स्कीले ट्रम्पसँग विशेष भेट गर्नेछन् । रुसी विदेश मन्त्रालयका अनुसार ट्रम्पले आइतबार पुटिनसँग ९० मिनेट लामो टेलिफोन कुराकानी गर्दै युद्ध अन्त्यका लागि सहयोग गर्ने इच्छा प्रकट गरेका थिए । त्यसअघि उनले शनिबार जेलेन्स्कीसँग टेलिफोन कुराकानी गरेका थिए ।

नेटो सदस्य राष्ट्र नभएपनि नेटोका अधिकांश सदस्यसँग युक्रेनले सुरक्षा सहकार्य गरिरहेको छ । नेटो सदस्यहरुले युक्रेनलाई आर्थिक तथा हतियार सहयोग गरिरहेका छन् ।नेटोकोप्रतिको बढ्दो झुकावलाई नै कारण देखाएर रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेको थियो ।

ट्रम्पले राष्ट्रपतीय चुनावका दौरान आफु राष्ट्रपति बनेको २४ घण्टाभित्रै यो युद्ध समाप्त गरिदिने दाबी गरेका थिए । तर, ट्रम्पको कार्यालयको ५ सय दिन कटिसक्दा पनि युद्ध अन्त्य भएको छैन । जेलेन्स्कीले नेटोका सम्मेलनअघि युरोपेली सहयोगीहरुसँग युक्रेनलाई नयाँ मिसाइल र हतियार सहयोग गर्न आग्रह गरेका छन् ।

पछिल्ला दिनहरुमा रुस र युक्रेन दुबैले एकअर्कामाथिको आक्रमण बढाएकाछन् । युक्रेनले केही दिनअघि मात्रै रुसी भूभागमा मिसाइल र ड्रोन प्रहार गरेको थियो ।त्यसक्रममा तेल प्रशोधन गृह, बन्दरगाह र सैनिक संरचनामा क्षति पुगेको थियो । सोमबार युक्रेनबाट प्रहार भएका ५ सय १३ वटा ड्रोनहरुलाई खसालिएको रुसी सरकारी समाचार एजेन्सी तासले जनाएको छ ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *