आर्थिक वर्षको अधिकांश समय विकास निर्माणका योजना तथा विभिन्न कार्यक्रम सञ्चालनमा खासै चासो नदिने सरकारी कार्यालय र स्थानीय तह असार लागेसँगै अत्यधिक व्यस्त बन्ने गरेका छन् । आर्थिक वर्ष समाप्त हुन केही दिन मात्र बाँकी रहँदा बजेट खर्च गर्नुपर्ने दबाबका कारण विकास निर्माणदेखि तालिम, गोष्ठी, अन्तरक्रिया, क्षमता विकास र सचेतनामूलक कार्यक्रमसमेत एकैपटक सञ्चालन गर्ने प्रवृत्ति सल्यानमा दोहोरिएको हो ।
कपुरकोट गाउँपालिकाले असार १९ देखि मात्र पालिका कप सञ्चालन गरेर आइतबार सम्पन्न गर्दै छ । गत मङ्गलबारसम्म क्षमता विकास कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले धनवाङदेखि लामीडाँडा जोड्ने मोटरबाटो शुक्रबारदेखि मात्र असारे झरीका बीच निर्माण सुरु गरेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।
यस्तै, सिद्धकुमाख गाउँपालिकाले मङ्गलबार मात्रै पोसिलो झोला वितरण गर्यो । असार १५ बितिसक्दा छत्रेश्वरी गाउँपालिकाले अतिथि कक्षा कार्यक्रम सञ्चालन गरिरहेको देखिन्थ्यो भने बागचौर नगरपालिकाले पञ्चेबाजा तालिम हालै सम्पन्न गरेको छ । यी त केही उदाहरण मात्र हुन् । जिल्लाका विभिन्न स्थानीय तह तथा सरकारी कार्यालयले सञ्चालन गर्ने अधिकांश योजना र कार्यक्रम वर्षभरि सुस्त गतिमा अघि बढ्ने गरेका छन् । तर असारमा भने पूर्वाधार निर्माणका कामसँगै तालिम, अभिमुखीकरण, क्षमता विकास र जनचेतनामूलक कार्यक्रम समेत धमाधम आयोजना हुने गरेका छन् ।
उपभोक्ता व्यस्त हुँदा ढिलाइ: कपुरकोट गाउँपालिका
कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले आर्थिक वर्षको सुरुमै कार्ययोजना बनाएर कार्यक्रम कार्यान्वयन सुरु गरे पनि केही ढिलाइ भएको बताउछन । खेलकुदबाहेक अधिकांश शाखागत कार्यक्रम सम्पन्न भइसकेका छन् । वडा नं. ५ र ६ को वडा कप जेठ मसान्तमा मात्र सम्पन्न भएकाले पालिका कपसहित केही कार्यक्रम ढिलो भएको उनको भनाइ छ ।

योजना अनुगमनका क्रममा कपुरकोट गाउँपालिकाको टोली । तस्बिर: गाउँपालिका कार्यालय
उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनामध्ये करिब ७० प्रतिशत भुक्तानी भइसकेको र केही वडाका योजनाको फाइल प्रक्रियामा रहे पनि अधिकांश काम सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ । ठेक्कामार्फत सञ्चालन भएका योजना निर्धारित कार्यतालिका अनुसार अघि बढिरहेको अधिकृत पौडेलले बताए ।
असारमा चाप बढ्नुको कारणबारे स्पष्ट पार्दै उहाँले कपुरकोट क्षेत्र कृषिको पकेट क्षेत्र भएकाले उपभोक्ता समितिका सदस्य आफैँ व्यस्त हुँदा काममा ढिलाइ भएको बताउछन् । जेठभित्रै काम सक्ने लक्ष्य रहे पनि केही योजना समयमै सम्पन्न हुन नसकेको उनको स्वीकारोक्ति छ ।
तालिम, अभिमुखीकरण र क्षमता विकासका कार्यक्रम भने एकैपटक असारमा नगरि गत भदौदेखि नै कार्ययोजना अनुसार क्रमिक रूपमा सञ्चालन गरिएको उनकाे दाबी छ । आगामी वर्ष असारे चाप घटाउन साउन, भदौ र असोजमै डिजाइन, सर्भे, प्रस्ताव तयारी, उपभोक्ता समिति गठन र अभिमुखीकरण सम्पन्न गर्ने तथा साना योजनालाई प्याकेज बनाएर ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
विशेष गरी तालिम कार्यक्रम समयमै सहज रूपमा सञ्चालन गर्न सकिने भए पनि वर्षभरि पर्खिएर अन्तिम महिनामा मात्र आयोजना गर्ने प्रवृत्ति देखिने गरेको छ । कतिपय अवस्थामा एउटै सहभागीले एकै हप्ताभित्र दुई–तीन वटा तालिम वा अभिमुखीकरणमा सहभागी हुनुपर्ने अवस्था समेत सिर्जना हुने गरेको छ ।
छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले कार्ययोजना अनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै यस वर्ष इन्धन तथा निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिले पनि योजनाका काममा केही ढिलाइ भएको उल्लेख गरे । कतिपय कार्यक्रमको निकासा नै ढिला हुने गरेको , आगामी आर्थिक वर्षका लागि समयमै योजना कार्यान्वयन गर्न फागुन मसान्तपछि ३० लाख रुपियाँभन्दा बढी लागतका योजनाहरू सम्झौता नगर्ने नीति लिइएको जानकारी दिए ।
सिद्धकुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनजङ्ग शाहले केही चाप स्वाभाविक भए पनि अत्यधिक चाप हुनु राम्रो अभ्यास नभएको बताए । उाले गाउँपालिकाले सञ्चालन गरेको पोसिलो झोला वितरण कार्यक्रम दोस्रो चरण अन्तर्गत असारमा परेको भए पनि यस्ता कार्यक्रम अझै केही अघि नै गर्न सकिने उल्लेख गरे । आफू करिब दुई महिनाअघि मात्रै गाउँपालिकामा आएकाले अबदेखि आर्थिक वर्षको अन्त्यमा हुने अत्यधिक कार्यचापलाई निरुत्साहित गर्ने उनले दृढता व्यक्त गरे ।
आर्थिक वर्षको अन्तिमतिर पुँजीगत खर्च र कार्यक्रम कार्यान्वयन बढी हुने प्रवृत्ति लामाे समयदेखि दोहोरिँदै आएको छ । सरकारले असारे खर्च नियन्त्रण गर्ने, योजना तथा खरिद प्रक्रिया समयमै सुरु गर्ने र बजेट वर्षभरि सन्तुलित रूपमा कार्यान्वयन गर्ने नीति अघि सारे पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
साभारः गाेरखापत्र दैनिक ।
