बुधबार राति र बिहीबार बिहान भएका खेलहरुमा अमेरिका, बेल्जियम र इग्ल्यान्ड विजयी भएका छन् । बिहीबार बिहान भएको खेलमा अमेरिकाले बोसेनियालाई २–०, बेल्जियमले सेनेगललाई ३–२ र इग्ल्यान्डले डिआर कंगोलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बिहीबार बिहान भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै अमेरिकाले अन्तिम १६ मा स्थान पक्का गरेको हो । अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले एकएक गोल गरे ।
४५औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई पहिलो अग्रता दिलाएका थिए । पहिलो अग्रता दिलाएका बालोगुन ६४ मिनेटमा रातो कार्ड खाँदै बाहिरिएपछि अमेरिका १० खेलाडीमा सीमित रह्यो ।
१० खेलाडीमा सीमित रहेपनि अमेरिकाले ८२औं मिनेटमा अर्को गोल थप्यो । टिलम्यानले डिबक्सभन्दा केही बाहिरबाट फ्रिकिकमार्फत प्रहार गरेको बल सिधै बोस्नियाको गोलपोष्ट छि-यो । त्यसपछि गोल हुन सकेन र अमेरिका २–० ले विजयी भयो ।
अब क्वार्टरफाइनल प्रवेशका लागि अमेरिकाले बेल्जियमसँग खेल्नेछ ।

इग्ल्यान्डको जीतमा ह्यारी केन नायक
एटलान्टा स्टेडियममा बुधबार राति भएको खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो । डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केन नायक बने । उनले इंग्ल्यान्डका लागि दुवै गोल गरे । खेलमा पहिलो अग्रता भने कंगोले लियो ।
खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ७५औं मिनेटमा डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डका कप्तान केनले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । खेलको ८६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन ।

बेल्जियम-सेनेगलको खेल रोमाञ्चक
बिहीबार बिहान सिएटलमा भएको रोमाञ्चक खेलमा बेल्जियमले दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै सेनेगललाई अतिरिक्त समयमा ३–२ ले पराजित गरेको हो ।
खेलको नायक बनेका युरी टिलेमान्सले बेल्जियमका लागि बराबरी गोल र विजयी पेनाल्टी दुवै गरे। उनले ८९औं मिनेटमा हेडमार्फत गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याएका थिए भने १२०.५औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए।
यो जितसँगै बेल्जियम संघर्षपूर्ण शैलीमा अन्तिम १६ मा पुगेको छ भने दुई गोलको अग्रता जोगाउन नसकेको सेनेगल प्रतियोगिताबाट बाहिरिएको छ।
