सिटिइभिटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ ।

मन्त्रालयले आइटी तथा डिजिटल नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे, कारखानाका सहसंस्थापक तथा स्टेम शिक्षा विज्ञ डा. दीपेश्वरमान श्रेष्ठ र नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला रानालाई काउन्सिल सदस्यमा नियुक्त गरेको हो ।

सिटिइभिटीको एकेडेमिक काउन्सिल परिषद्को शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकाय हो । यसले पाठ्यक्रम विकास, नयाँ कार्यक्रमको स्वीकृति, शैक्षिक गुणस्तर सुनिश्चितता, मूल्याङ्कन प्रणाली तथा प्राविधिक एवं व्यावसायिक शिक्षाको दीर्घकालीन नीतिगत दिशानिर्देशनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

मनोनित सदस्यहरूमध्ये डा. अमृता शर्मा सूचना प्रविधि, डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्र तथा सार्वजनिक नीतिका क्षेत्रमा सक्रिय अनुसन्धानकर्ता तथा नीतिगत विज्ञका रूपमा परिचित छन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रोजगारी योग्यता विषयमा विद्यावारिधि प्राप्त उनिले सूचना प्रविधि उद्योगको विकास, डिजिटल सीप, सेवा निर्यात तथा नीतिगत सुधारका विषयमा उल्लेखनीय अध्ययन तथा अनुसन्धान गरेकी छन  ।

उनको नेतृत्वमा एकीकृत विकास अध्ययन संस्थान (आई आई डीएस) ले सञ्चालन गरेको ‘अनलिसिङ आइटी: एड्भान्सिङ नेपाल्स डिजिटल इकोनोमी’ अध्ययनले नेपाललाई सूचना प्रविधि सेवा निर्यातको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना औँल्याउँदै त्यसका लागि आवश्यक नीतिगत सुधार, दक्ष जनशक्ति विकास र निजी क्षेत्रसँगको सहकार्यका विषयमा महत्त्वपूर्ण सुझाव प्रस्तुत गरेको थियो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे निर्माण, पूर्वाधार तथा औद्योगिक क्षेत्रका स्थापित उद्यमी हुन । इन्जिनियरिङ पृष्ठभूमिका उनले तीन दशकभन्दा बढी समयदेखि निर्माण व्यवसाय, पूर्वाधार विकास तथा निजी क्षेत्रको नेतृत्व गर्दै आएका छन् । उद्योग क्षेत्रको अनुभवले प्राविधिक शिक्षालाई उद्योगको आवश्यकता, उत्पादन प्रणाली र श्रम बजारसँग अझ प्रभावकारी रूपमा जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी, कारखानाका सहसंस्थापक डा. दीपेश्वरमान श्रेष्ठले अमेरिकाको टफ्ट्स विश्वविद्यालयबाट स्टेम शिक्षामा विद्यावारिधि प्राप्त गरेका छन् । नेपालमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितमा आधारित व्यावहारिक सिकाइ, शिक्षकको व्यावसायिक क्षमता विकास, ‘मेकिङ’ संस्कृतिको प्रवर्धन तथा नवप्रवर्तनमुखी शिक्षाको विस्तारमा उनले उल्लेखनीय योगदान दिँदै आएका छन् । उनको अनुभवले सिटिइभिटीको प्राविधिक शिक्षालाई सिर्जनशीलता, अनुसन्धान र उद्यमशीलतासँग जोड्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला रानाले भारतबाट नर्सिङमा स्नातकोत्तर उपाधि हासिल गर्नुका साथै नेदरल्यान्ड्सको वागेनिङ्गेन विश्वविद्यालयबाट स्वास्थ्य तथा समाज विषयमा फेलोसिप पूरा गरेकी छन् । हाल नेपाल रेडक्रस सोसाइटीमा क्लिनिकल कोअर्डिनेटरका रूपमा कार्यरत उनले यसअघि सेभ द चिल्ड्रेन, नर्भिक इन्टरनेसनल अस्पताल लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा जनस्वास्थ्य, नर्सिङ सेवा, आपत्कालीन प्रतिकार्य तथा वाश कार्यक्रमको नेतृत्वदायी जिम्मेवारी सम्हालेकी  थिइन्। स्वास्थ्य तथा प्राविधिक शिक्षामा उनको अनुभवले स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन र व्यावहारिक शिक्षाको गुणस्तर अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा स्वास्थ्य क्षेत्रका अनुभवी व्यक्तित्वहरूको सहभागिताले सिटिइभिटिको एकेडेमिक काउन्सिललाई बहुआयामिक विशेषज्ञता प्रदान गर्ने विश्वास गरिएको छ । प्राविधिक तथा व्यावसायिक शिक्षालाई आधुनिक प्रविधि, उद्योगको आवश्यकता, नवप्रवर्तन र श्रम बजारसँग थप प्रभावकारी रूपमा जोड्दै गुणस्तरीय तथा रोजगारमुखी शिक्षा प्रणाली विकासमा यस मनोनयनले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *