पटक-पटक म्याद थप्दा पनि काम नभएपछि मध्यपहाडी राजमार्गको ठेक्का तोडियो

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अन्त्य गरेको छ।

असार ११ गते  सार्वजनिक सूचना प्रकाशन गरी मध्यपहाडी राजमार्ग आयोजनाले ठेक्का रद्द गरेको हो। निर्माणको काम अलपत्र पारेर छोडेका ठेकेदारसँगको सम्झौता रद्द भएपछि याङवरक क्षेत्रका नागरिकले राहतको अनुभूति गरेका छन्। वर्षौंदेखि सडक निर्माणको नाममा दुःख पाएका नागरिकले ढिलै भए पनि सरकारको निर्णय सही दिशामा भएको प्रतिक्रिया दिएका छन्।

चिवाभन्ज्याङ–गणेशचोक सडक खण्डको १६ किलोमिटरदेखि ३३ किलोमिटरसम्म (प्याकेज २)को सडक स्तरोन्नति कार्यका लागि गरिएको ठेक्का सम्झौता अन्त्य गरिएको सूचनामा उल्लेख छ। कार्यालयका अनुसार निर्माण व्यवसायीले सम्झौता अनुसार काम सम्पन्न गर्न नसकेको, पटक–पटक म्याद थप्दा पनि अपेक्षित प्रगति नदेखिएको तथा सार्वजनिक खरिद ऐन र नियमावलीले तोकेको दायित्व पूरा नगरेपछि ठेक्का तोड्ने निर्णय गरिएको हो।

यो सडक खण्ड निर्माणको जिम्मा पाएको सन्तोषी शिवशक्ति जेभी नामक निर्माण कम्पनीले काम सुरु गरे पनि त्यसलाई निरन्तरता दिन सकेको थिएन। कतिपय स्थानमा सडक खनेर छाडियो, कतै नाली निर्माण अधुरै छ भने कतिपय ठाउँमा ग्राभेलिङ र स्तरोन्नतिको काम बिचमै रोकिएको छ। जसले गर्दा वर्षायाममा सडक हिलाम्मे भई सवारी साधन सञ्चालन गर्नै कठिन हुने अवस्था सिर्जना भएको छ। एम्बुलेन्स, विद्यालयका सवारी र दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने गाडीसमेत सहज रूपमा सञ्चालन हुन नसक्दा स्थानीयवासीले सास्ती भोग्दै आएका थिए। सुख्खा मौसममा भने सडक धुलाम्मे बन्थ्यो।

याङवरक गाउँपालिका १ र २ नम्बर वडाका बासिन्दाले वर्षौंदेखि निर्माण सम्पन्न हुने प्रतीक्षा गरे पनि सडकको अवस्था झन् बिग्रँदै गएको बताएका छन्। “आर्थिक वर्ष २०७४/०७५ भित्रै सक्नुपर्ने काम २०८२ सालभरि पनि नसकी अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द भएपछि अब नयाँ प्रक्रियाबाट सडकले पूर्णता पाउनेमा आशावादी छौँ,” याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङले भने । कम्पनीले काम नगरी ठेक्का ओगटेर बस्दा राज्यको लगानी मात्र होइन, स्थानीयको समय र अवसरसमेत खेर गएको उनको भनाइ छ।

उनका अनुसार सडक स्तरोन्नति भएपछि उत्तरी पाँचथरको आवागमन सहज हुने, कृषि उत्पादनको बजार पहुँच बढ्ने र पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने अपेक्षा थियो। तर, निर्माण कार्य प्रभावकारी रूपमा अघि नबढ्दा ती सबै सम्भावना वर्षौंदेखि रोकिएका थिए। सडकका कारण बिरामी बोकेर अस्पताल पुग्न कठिन हुने, सवारी बिग्रने र यातायात खर्च बढ्ने समस्या बढेका छन्।

राजमार्ग योजना कार्यालयले जारी गरेको सूचनामा निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गरिएको, म्याद थप गरिएको र काम सम्पन्न गर्ने अवसर प्रदान गरिएको उल्लेख छ। तर, त्यसपछि पनि निर्माण कार्यले गति लिन नसकेपछि अन्ततः सम्झौता अन्त्य गरिएको हो। कार्यालयले अब बाँकी काम नयाँ प्रक्रियामार्फत अघि बढाइने सङ्केत गरेको छ।

स्थानीयवासीले ठेक्का रद्द गर्ने निर्णयलाई स्वागत गर्दै अब नयाँ निर्माण कम्पनी छनोटमा विशेष सावधानी अपनाउनुपर्ने बताएका छन्। विगतमा जस्तै काम नगर्ने कम्पनीलाई जिम्मा दिएमा समस्या दोहोरिने भएकाले प्राविधिक क्षमता, आर्थिक अवस्था र कार्यसम्पादन इतिहासलाई आधार बनाएर मात्र ठेक्का दिनुपर्ने उनीहरूको माग छ।

याङवरक गाउँपालिका अध्यक्ष सुवास योङया ठेक्का रद्द हुनु आफैँमा अन्तिम समाधान नभए पनि समस्या समाधानको सुरुआत भएको बताउ छन्। निर्माण व्यवसायीले वर्षौंदेखि अधुरो छाडेको यो सडक अब नयाँ प्रक्रियाबाट अघि बढ्ने र मध्यपहाडी राजमार्गको यो महत्त्वपूर्ण खण्डले पूर्णता पाउने विश्वास स्थानीयमा पलाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *