एकीकृत संयन्त्र तयारी अवस्थामा

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि स्वास्थ्य

मनसुनजन्य विपत् बाढीपहिरो र डुबानका कारण उत्पन्न हुन सक्ने जोखिममा परेका नागरिकको खोज, उद्धार र राहतका लागि देशभर एकीकृत संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा मनसुनजन्य विपत्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ कार्यान्वयन अन्तर्गत एकीकृत विपत् व्यवस्थापन संयन्त्रलाई उच्च तयारी अवस्थामा राखिएको हो ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले मनसुन अवधिमा बाढीपहिरो, डुबान, नदी कटान तथा चट्याङलगायत विपत्को प्रभावकारी पूर्वतयारी, प्रतिकार्य तथा राहत व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई खोज तथा उद्धारका लागि तयारी अवस्थामा राखिएको बताए  । उनले यस वर्ष देशका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिए पनि भौगोलिक संवेदनशीलता तथा स्थानीय मौसमी अवस्थाका कारण बाढी र पहिरोको जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्वतयारी गरिएको जानकारी दिए  ।

विशेष गरी पहाडी तथा हिमाली जिल्लामा पहिरो तथा तराई क्षेत्रमा डुबान र नदी कटानको जोखिम उच्च रहने अनुमान गरिएको छ । जस अनुसार सङ्घ, प्रदेश र स्थानीय तहबिच स्पष्ट जिम्मेवारी बाँडफाँट गरिएको छ । सङ्घीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, आपत्कालीन कार्यसञ्चालन केन्द्र तथा निजी क्षेत्रलाई आआफ्नो भूमिका अनुसार तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

केन्द्रदेखि स्थानीय तहसम्म मनसुन प्रतिकार्य कमान्ड पोस्ट स्थापना गरिएको छ भने सङ्घीय, प्रदेश र स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रहरू चौबिसै घण्टा सञ्चालनमा रहने व्यवस्था गरिएको छ । ती केन्द्रहरूले मौसम पूर्वानुमान, पूर्वसूचना प्रवाह, विपत् निगरानी, सूचना व्यवस्थापन तथा स्रोतसाधन परिचालनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने छन् ।

सुरक्षा निकायलाई खोज तथा उद्धार सामग्री तयारी अवस्थामा राख्न, जोखिम क्षेत्रमा उद्धार टोली परिचालन गर्न तथा राहत वितरणमा समन्वय गर्न जिम्मेवारी दिइएको छ । स्वास्थ्य क्षेत्रतर्फ आपत्कालीन उपचार सेवा, औषधी तथा स्वास्थ्य सामग्रीको मौज्दात व्यवस्थापन तथा अस्पतालहरूको तयारी अवस्था सुनिश्चित गर्न निर्देशन दिइएको छ ।

त्यसै गरी नेपाल रेडक्रस सोसाइटीलगायत सम्बन्धित निकायलाई पर्याप्त रगत मौज्दात राख्ने, आपत्कालीन रक्तसङ्लन तथा वितरणका लागि पूर्वतयारी गर्ने तथा सम्बन्धित निकायसँग समन्वय गरी सेवा प्रवाह सुनिश्चित गर्ने जिम्मेवारी तोकिएको छ ।

प्राधिकरणका अनुसार पूर्वसूचना प्रणालीको प्रभावकारी प्रयोग, जोखिम क्षेत्रको निरन्तर निगरानी, जनचेतना अभिवृद्धि तथा सबै तहका निकायबिच समन्वय र सहकार्यलाई प्राथमिकता दिँदै मनसुनजन्य विपत्बाट हुने क्षति न्यूनीकरणका लागि कार्ययोजना कार्यान्वयनमा ल्याइएको हो ।

दुई लाखभन्दा बढी प्रभावित हुन सक्ने 

यस वर्षको मनसुन अवधिमा देशभर ५१ हजार ८६८ घरधुरीका दुई लाख २६ हजार ६६१ जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ । प्रभावितमध्ये ५१.१० प्रतिशत महिला र ४८ प्रतिशत पुरुष रहने आकलन गरिएको छ । प्राधिकरणका अनुसार करिब चार हजार पाँच सय प्रजनन उमेर समूहका महिला, चार हजार नौ सय  अपाङ्गता भएका व्यक्ति, १८ हजार बालबालिका तथा ४७ हजार ज्येष्ठ नागरिक मनसुन जन्य विपत्बाट प्रभावित हुन सक्ने छन् ।

यस वर्ष कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा औसतभन्दा कम वर्षा हुने अनुमान गरिएको छ । त्यस्तै सुदूरपश्चिम, मधेश र कोशी प्रदेशका केही क्षेत्रमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको छ भने अन्य भूभागमा सामान्यदेखि मध्यम वर्षा हुने प्रक्षेपण गरिएको छ ।

मन्त्रालय र निकायको स्पष्ट जिम्मेवारी

मनसुनजन्य विपत् प्रतिकार्यका लागि सम्पूर्ण तयारी र पूर्वसतर्कता अपनाइएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । मनसुन प्रतिकार्य कार्ययोजना अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत निकायलाई तयारी अवस्थामा राखिएको जानकारी दिँदै उनले भने , “मनसुनजन्य विपत्का बेला प्रभावकारी खोज, उद्धार र राहतका लागि सबै पूर्वतयारी अपनाइएको छ । विगतका अनुभवलाई समेत मध्यनजर गरी यस पटक शून्य त्रुटि हुने गरी प्रभावकारी काम गर्दै छौँ ।”

गृह मन्त्रालयले खोज तथा उद्धार, आवश्यक साधन स्रोतको पूर्वतैनाथी, राहत व्यवस्थापन तथा प्रतिकार्यको समग्र नेतृत्व गर्ने छ । खाद्य तथा गैरखाद्य राहत सामग्रीको व्यवस्थापन, ढुवानी तथा हवाई उद्धारको समन्वयसमेत गृह मन्त्रालयको जिम्मेवारीमा रहने छ । रक्षा मन्त्रालय मातहतको नेपाली सेनालाई खोज, उद्धार तथा राहत व्यवस्थापनमा परिचालन गरिने छ । मनसुन अवधिभर सेना दक्ष जनशक्ति, आवश्यक उपकरण तथा हवाई साधनसहित तयारी अवस्थामा रहने छ । सेनाले केन्द्र, प्रदेश र जिल्लास्तरमा मनसुन प्रतिकार्य कमान्ड पोस्ट स्थापना गरी जनशक्ति परिचालन गरिसकेको जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्ने छ भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक औषधी, स्वास्थ्य सामग्री, जनशक्ति तथा सम्भावित महामारी व्यवस्थापनका लागि आवश्यक तयारी गरेको छ ।त्यसै गरी पोषण, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य सेवामा विशेष ध्यान दिइने छ ।

खानेपानी, सरसफाइ तथा स्वास्थ्य प्रवर्धनका लागि आवश्यक जनशक्ति तयारी अवस्थामा राखिएको छ । बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक, पुल तथा पूर्वाधारको तत्काल मर्मत तथा सञ्चालनका लागि सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको छ । विपत्का बेला मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, महिला तथा बालमैत्री सेवा, परिवारबाट छुट्टिएका व्यक्तिको संरक्षण तथा शैक्षिक गतिविधिको निरन्तरताका लागि समेत सम्बन्धित निकाय परिचालन गरिने छ ।

सीमावर्ती क्षेत्रमा तटबन्ध व्यवस्थापन, अन्तर्देशीय समन्वय तथा बाँध सञ्चालनसम्बन्धी संयन्त्रलाई समेत तयारी अवस्थामा राखिएको छ । हवाई उद्धारका लागि वायु सेवाप्रदायक संस्थाहरूलाई तयारी अवस्थामा राखिएको छ भने पदमार्ग तथा पर्यटकीय क्षेत्रमा अलपत्र परेका पर्यटकको उद्धारका लागि आवश्यक व्यवस्था मिलाइएको छ ।

२६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

नेपाली सेनाले मौसमजन्य सम्भावित विपत् प्रतिकार्यका लागि तीन चरणका तयारी पूरा गरेको जनाएको छ । सैनिक प्रवक्ता राजाराम बस्नेतले पहिलो चरणमा पूर्वअभ्यास, सम्भावित जोखिम क्षेत्रको पहिचान तथा तल्लो तहसम्मका युनिटलाई तयारी अवस्थामा राखिएको बताए । दोस्रो चरणमा पृतना तहसम्मका निकायलाई आवश्यक खोज, उद्धार र पुनस्थापनाका लागि आवश्यक जनशक्ति तयारी अवस्थामा राखिएको बताउँदै उनले भने , “सम्भावित अवस्थालाई मध्यनजर गरी धादिङको गजुरी, चितवनको भरतपुर र बारामा बेलिब्रिज तथा काठमाडौँ, इटहरी र सुर्खेतमा तत्काल उद्धार र राहतका लागि पाँच वटा हवाई साधन तयारी अवस्थामा राखेका छौँ ।”

बस्नेतले तेस्रो चरणको प्रतिकार्य र पृष्ठपोषणका लागि स्थानीय तथा जिल्ला तहका सुरक्षा समितिमार्फत सबै सैनिक युनिटहरूलाई चौबिसै घण्टा परिचालन हुने गरी तयारी अवस्थामा राखिएको जानकारी दिए ।

खोज तथा उद्धारका लागि नेपाली सेनाका सात हजार ५२४, नेपाल प्रहरीका १० हजार ५८५ तथा सशस्त्र प्रहरी बल नेपालका आठ हजार ११० गरी कुल २६ हजार २१९ प्रशिक्षित सुरक्षाकर्मीलाई चौबिसै घण्टा परिचालन हुने गरी तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार प्रभावकारी पूर्वतयारी, समयमै पूर्वसूचना प्रवाह तथा सबै निकायबिचको समन्वय र सहकार्यबाट मनसुन जन्य विपत्बाट हुने जनधनको क्षति उल्लेख्य रूपमा न्यूनीकरण गर्न सकिने विश्वास लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *