कालो सिसा भएका गाडी देशैभर चलाउन नपाइने, हटाउन सरकारको निर्देशन

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

प्रहरी प्रधान कार्यालयले सार्वजनिक तथा निजी सवारीसाधनमा प्रयोग हुँदै आएका कालो सिसा हटाउन देशभरका सातै प्रदेशमा निर्देशन जारी गरेको छ। आज  प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्य विभागको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूलाई सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउने अभियान सञ्चालन गर्न सर्कुलर पठाएको हो।

यससँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पनि सोही विषयमा आवश्यक कार्यान्वयन गर्न निर्देशन दिइएको छ। प्रहरी स्रोतका अनुसार कालो सिसा हटाउने अभियानलाई देशव्यापी रूपमा प्रभावकारी बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको हो।

यसअघि असार १५ गते काठमाडौं उपत्यका ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले प्रयोग गर्दै आएका सवारीसाधनमा राखिएका कालो सिसाका स्टिकर हटाएको थियो।

सोही अभियानअन्तर्गत मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रयोग गर्ने सरकारी गाडीबाट पनि कालो सिसा हटाइएको छ। मन्त्रालयका कर्मचारीहरूले नै गाडीमा जडान गरिएको कालो स्टिकर हटाएको जनाइएको छ।

ट्राफिक प्रहरीले असार १४ गतेदेखि उपत्यकाभित्र सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएका कालो सिसा हटाउन सुरु गरेको थियो। प्रारम्भिक चरणमा स्टिकर हटाउने कार्य भइरहेको छ भने कम्पनीबाटै कालो सिसा जडान गरिएका सवारीका सिसा परिवर्तन गर्ने विषयमा गाडी बिक्रेता कम्पनीहरूसँग समेत छलफल भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *